दुर्भिक्षभोकको भाष्य: समभोक उपन्यास !

'लेखक शिवप्रकाशका विषयमा मलाई त्यति धेरै जानकारी थिएन । हाम्रो ज्ञानको सीमाले हामी बाध्य छौं कतिपय पढ्नैपर्ने व्यक्ति र कृतिहरू हामीबाट छुटिरहन्छन् । शिवप्रकाशजी मेरो लागि त्यस्तै अपरिचित लेखक रहेछन् ।' 
*****
भोक शब्दको पुख्र्यौली थलो संस्कृत भाषा हो । संस्कृत भाषामा भोकलाई बुभुक्षा भनिन्छ । भोक्तुं इच्छा बुभुक्षा हुन्छ । खाने इच्छा, क्षुधा, भोग्ने अभिलाषा, आहाराको आवश्यकता, कामेच्छा इत्यादि अर्थमा भोक शब्दको प्रयोग पाइन्छ । त्यसै गरी भोग आफैँमा संस्कृत शब्द हो र भोग गर्न पाउने अवस्था, भोगको कामना, समागम, मैथुन, सुख दुःख आदिको अनुभव, राज्यसत्ताको भोग, पापपुण्यको फल इत्यदि धेरै अर्थमा भोग शब्दको प्रयोग हुन्छ । भोक पनि आफैँमा भोगको कामना हो भने भोग पनि भोकको इच्छा हो ।

भोकमा सम पूर्वपद जोड्दा समभोक अनि भोगमा सम पूर्वपद जोड्दा समभोग शब्द बन्ने भए पनि समभोक वा समभोग भन्ने पदको प्रयोग त्यति पाइँदैन । सम्भोक शब्दको प्रयोग पाइन्न, सम्भोग शब्दको प्रगोग पाइन्छ तर त्यसले समभोक भन्ने शब्दको अर्थ दिँदैन । समभोकलाई धेरैले नबुझेर सम्भोगभन्ने गरेको पाइन्छ । समभोक शब्दको तात्पयार्थ सम्भोग पनि हुन त सक्छ तर समभोक र समभोग उही अर्थद्योतक शब्द भने होइनन् । यस अर्थमा समभोक भन्ने शब्द स्वाभाविक जस्तो लागे पनि त्यति प्रचलित शब्द होइन ।

लेखनमा धेरै प्रकारका प्रयोगहरू पनि हुँदै आएका छन् । कतै शब्दमा कतै भावमा कतै शैलीमा प्रयोग पाइने गरेको छ । विषय सनातन छन् यस्तै शैलीले नयाँपन दिएका छन् । लेखकहरूका पनि प्रकृति फरकफरक हुन्छन् । 

एकथरि लेखकले आफूले सचेत बुद्धि र मनले लेख्छन् अनि पाठकले पनि त्यही भाव नै आउने गरी पढिदियून् भन्ने चाहन्छन् । एकथरि लेखकले कल्पना वा भावनाको अधीनमा परेर लेख्छन् तिनका मनले ठम्याएको कुराभन्दा फरक किसिमले पाठकले पढिदिन्छ र पनि उनीहरूलाई खासै फरक पर्दैन ।

अर्काथरि लेखक छन् जसले प्रयोगकै निम्ति लेखेका हुन्छन् जेजस्तो अर्थ वा तात्पर्य आए पनि नवीन नै भयो भन्ने ठान्छन् । भनिन्छ कतिपय लेखकले आफूले के लेखेँ भन्ने कुरापछि समीक्षकहरूले समीक्षा गरेपछि मात्र थाहा पाउँछन् अरे । मैले एक पटक मोहन कोइरालालाई उनको प्रसिद्ध कविता फर्सीको जराका विषयमा प्रश्न सोद्धा झण्डैझण्डै यस्तै प्रकारको उत्तर पाएको थिएँ । टिप्पणी जेजस्ता गरिए पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने लेखक समाजप्रति जिम्मेवार हुनैपर्छ ।

लेखक शिवप्रकाशका विषयमा मलाई त्यति धेरै जानकारी थिएन । हाम्रो ज्ञानको सीमाले हामी बाध्य छौं कतिपय पढ्नैपर्ने व्यक्ति र कृतिहरू हामीबाट छुटिरहन्छन् । शिवप्रकाशजी मेरो लागि त्यस्तै अपरिचित लेखक रहेछन् । केही महिना पहिले एकदिन मित्र श्रीबाबु कार्कीले उनका बारेमा छोटो कुरा गरे । सायद त्यो समभोक प्रकाशनको वरपरको कुरा हो । त्यसपछि पनि धेरै समय कुरा अगि बढेन । पछि कुनै दिन मेरो हिमालय टाइम्सको एउटा लेखमा उनको छोटो तर गहकिलो प्रतिक्रिया पढेँ । केही समयपछि उनको नित्सेसम्बन्धी लेख अनलाइनमा पढ्ने मौका मिल्यो । त्यो लेख पढेपछि शिवप्रकाशप्रति केही अभिरुचि जाग्यो ।

त्यसपछि पनि साक्षात्कार वा संवादको खास अवसर जुरेको होइन । एउटा कार्यक्रममा हाम्रो भेट भयो उनले मलाई चिने मैले उनलाई चिनेँ । जम्माजम्मी दुई पटकको भेट आधाघण्टाजतिको भयो होला । त्यही भेटमै मैले अनुभव गरेँ उनका मेरा केही कुरा मिल्दाजुल्दा लागे । दर्शनप्रतिको अभिरुचि, आफूले राम्रो लेख्न नसके पनि जस्तोतस्तो लेखन मन नपर्ने बानी अनि लेख्नको निम्ति संगठन चाहिँदैन भन्ने धारणा । हाम्रो छोटो भेट नै प्रिय र आत्मीय थियो । त्यही भेटमा उनका हातबाट समभोकका दुईप्रति सप्रेम उपहार लिएँ । लेखक शिवप्रकाशले प्रयोगकै निम्ति यो शब्द छाने वा सोद्देश्य छाने भन्ने विषय पनि प्रयोगकै विषयजस्तो लाग्छ ।

समभोक शब्दको अर्थ भोकहरू समान छन् भन्ने हुन्छ । संस्कृत भाषामा भाष्य शब्दको प्रयोग निकै प्रसिद्ध छ । कुनै विषयलाई अलि बढी व्याख्या गरेर बुझाउनुप¥यो भने टीका वा थप विवरण प्रस्तुत गरेर स्पष्ट पारिन्छ र त्यसलाई भाष्य भनिन्छ । साहित्यकार शिवप्रकाशको पछिल्लो कृति समभोक भोकको भाष्य गरिएको यस्तै कृतिजस्तो लाग्यो । सृष्टिसँगै प्रादुर्भाव भएको भोकलाई शब्दले, अर्थले, भावले, तात्पर्यले, घटनाले अनुभवले र भोगाइले सिद्ध गर्न खोजिएको पाइन्छ । यति भएर पनि भोक यस्तो विषय हो हरेक युगमा परिभाषेय भएर आइरहन्छ । हामीले जानेका भोक शब्दका शरीरको भोक र मनको भोक गरी दुई प्रकारका अर्थको चर्चा पाइन्छ ।

सायद भोक यिनै दुई अवस्थाबाट सृजित विषय पनि हो तर भोकका अवस्थाहरू परिवेश र परिस्थितिहरू यति धेरै छन् कि जति प्रकारले व्याख्या गरेपनि नयाँ ढङ्गले प्रकट हुँदै गर्छन् । समभोक यस्तै प्रकृतिको कृति हो जसमा लेखक शिवप्रकाशको दृष्टि, अनुभव, भोगाइ र शैली प्रकट भएको छ । शिवप्रकाशले छोटो भेटमा किताब दिने बेलैमा भनेका थिए हुन त कृति यौनकै विषयमा केन्द्रित छ तर अलि फरक किसिमले हेरिएको छ । आजसम्मका लेखनले समेट्न नसकेको विषयमा छ । उनका कुरा सुन्दा केही आशा जागे पनि मनमनै लाग्यो हरेक लेखकले यसै भन्छन् त्यसमाथि यौनमाथि लेख्ने धेरै लेखक छन् । साँच्चै ! पुस्तक पढ्दा लाग्यो यौनलाई यसरी पनि लेख्न सकिँदो रहेछ !

यस उपन्यासमा भोकका धेरै प्रकार र अवस्थाको चर्चा छ । भोकको प्रकृति र प्रवृत्ति फरक छ । किताब पढ्दै गएँ भोक शब्दको पुनरुक्तिले बेलाबेलामा निराश बनाउला बनाउला भयो । घरिघरि रिस उठ्यो यति धेरै भोक त कहाँ छन् र ? यी धेरै प्रकारका भोकलाई एउटै शब्दले सम्बोधन गरेको भए पनि हुने भन्ने लागिरहृयो । हुन पनि भोकको सनातन परम्परामा एउटै दृष्टान्तले धेरैलाई बाँधेको भए पनि हुनेथियो । विषयको गम्भीरता अझै बलियो गरी प्रकट होओस् भन्ने उदेश्यले पुनरावृत्ति गरिएको हो भन्ने पनि ठाउँठाउँ बोध हुँदै गयो । फूलकुमार, सुन्दास, अँणबादुरहरू एकै प्रकृतिका स्वाँठहरू हुन्, त्यसमा सुवी पनि केही हदसम्म मिसाउन मिल्ने खालकी छ ।

मुग्धा, सिन्धुका अलि फरक प्रकृतिका नारी हुन् । मलाई असाध्यै रिस उठेको ईशूप्रति नै हो । त्यति सारो लाछी भएर सुवीको शोषणमा परिरहने उसको यौनिक लाचारी साँच्चै दयालाग्दो छ अनि सुवीको धुत्र्याइँ त्यस्तै घीनलाग्दो लाग्यो । म पटकपटक ईशूसँग रिसाएँ अनि सुवीलाई घृणा गरेँ र त्यत्तिकै बलियो गरी मुग्धालाई समर्थन गरेँ । भोकले कतै घुक्र्याएको छ, कतै थर्काएको छ । कतै लोभ्याएको छ, कतै गलाएको छ, कतै जमाएको छ । भोकको घुर्की, भोकको लोभ, भोकको पसारो ज्यादै बिरक्तलाग्दो भएर आएको छ तर ती सबै प्रकारका घटना र परिघटनामा मानिसका अनुहारहरू टाँसिएका छन् ।

चरित्रहरू उभिएका छन् । प्रवृत्तिहरू व्यक्तिएका छन् । परिवेशहरू ठडिएका छन् । रागहरू सल्बलाएका छन् । काँचा रागहरूले मानिसभित्रको सैतानलाई जगाएका छन् । छरपष्ट भएर भोक र भोगका प्याला पोखिएका छन् त्यो पनि सोहोर्न नमिल्ने गरी । अमेरिकी आप्रवासी नेपाली त्यसमा पनि एउटा राज्य बोष्टनलाई आधारभूमि बनाएर लेखिएको यस कृतिमा विभिन्न बाटा अपनाएर अमेरिका छिरेका नेपाली पुरुष र नारीहरूका विशेष गरी यौनिक मनको अवस्थालाई देखाइएको छ । सजिलो गरी मानिसलाई कब्जामा ल्याउने कामभावना र त्यही कामभावनाले शिष्टअशिष्ट रूप लिँदा देखापर्ने अवस्थाको धारिलो चित्रण उपन्यासमा भएको छ ।

यो त कठोर यथार्थको कुरूप चित्र पनि हो । दुर्भिक्ष्य भोक बोकेर नेपालीहरू अमेरिकाका सपिङ कम्प्लेक्सहरूमा, मलहरूमा, इण्डियन स्टोरहरूमा, ग्याँसस्टेसनहरूमा, रेस्टुरेन्टहरूमा, कम्पनीहरूमा डलर कमाउन र परिवारलाई सुन्दर भविष्य दिन उभिएका छन् । झट्ट सुन्दा नेपालीहरूको आर्थिक बाध्यतालाई यसको केन्द्रीय समस्या मानेर पैसा पुगेपछि अरू केही खाँचाहरू त त्यसै पनि पूरा हुँदै जान्थे भनेर समाधान खोज्न सकिएला र ती भोका आकृतिहरूलाई आश्वस्त पार्न सकिएला तर त्यतिमात्रैले पनि पुग्दैन आँतमै रहेको भोक जति नै बाहिरी उपचार गरे पनि निको नभएर बल्झिइरहन्छ । मानिस छ अझ भनौँ प्राणी छ भोक छ ।

भोक र भोगको सनातन प्रवृत्तिको आमूल निर्मूलन यसको समयानुकूल उपभोग हो । यसलाई अन्यथा अर्थ गर्नेभन्दा पनि यसको शिष्ट उपयोग सायद केही हदसम्मको समाधान हो । फेरि पनि समभोकको काँचो रागले मानिसलाई कहिल्यै छोड्दैन । यस उपन्यासमा केही चारित्रिक रूपले राम्रा र धेरैजसो नाराम्रा पात्रले विदेशको भूमिमा बसेर भोकको अभ्यास गरेका छन् । ती भोक त्यति प्रिय लाग्दैनन् । अलि कुरूप खालका बढी छन् । केही पात्रले भोकको शिष्ट समन गर्ने प्रयत्न गरेका छन् धेरैले यसको उपहास हुनेगरी छिल्लिएका छन् । सबै अतृप्त रागहरूलाई उनका बाध्यताहरूले बेलाकुबेला जिस्क्याउन पुग्दा उनीहरू अलि बढी नै अशोभनीय भएर प्रकट हुन चाहेका छन् । तत्तत् विषयमा उपन्यासकारको मसिनो दृष्टि परेको छ ।

उनी सचेत छन् र यो असचेत रागलाई व्यवस्थापन गर्न नसक्दा के हुन्छ र व्यवस्थापन किन आवश्यक छ ? भन्ने विषयमा उपन्यासले नयाँ निकास खोजेको छ । यस उपन्यासका केही पात्रहरूप्रति लेखक सम्वेदनशील र सहानुभूतिशील छन् । उपन्यासमा अपेक्षित रूपमा आफूलाई जोगाइराख्न प्रयत्न गरेको तर फस्दै आएको ईशू, मुक्ता, सिन्धुका र साहुनीप्रति लेखक सचेत छन् त्यहीँ अँणबहादुर, फूलकुमार, सुन्दासजस्ता चरित्रप्रति लेखकको अलि तीखो दृष्टि परेको छ । ती तीखा किन छन् ? भन्ने कुरा वा जसप्रति लेखक कोमल बनेका छन् ती सबैले भोकका नयाँ भाष्य तयार गरेकाप्रति लेखकको आफ्नो दर्शन राम्ररी प्रकट भएको छ । भाषा मिठो र परिमार्जित छ । शिष्टभावलाई शिष्ट र अशिष्ट भावलाई अशिष्ट भाषामै प्रत्युत्तर गरिएको छ । अभिव्यक्ति उत्तरोत्तर गुणात्मक छ ।

उपन्यासको अन्त्यतिर पुगेपछि अघिल्ला गुनासाहरूको क्षतिपूर्ति हुन्छ । जति बिरक्तलाग्दो गरी भोकको चित्रण आएको छ त्यति सुन्दर भएर भोकको दर्शन प्रकट भएको छ । हामीले तिरस्कार होइन यसको गहिराइमा पुगेर निदान खोज्न आवश्यक छ । समय कति छिल्लिएर आउन खोज्दैछ ? अनि हामी कति त्यसको दुरुपयोग गर्दैछौँ ? भन्ने देखाएर त्यसको पनि समाधानको प्रयत्न हाम्रै दायित्वको कुरा हो भन्ने सारसन्देश उपन्यासले दिनुपर्छ अन्यथा अविराम भोकको कथा भनिरहने हाम्रो साहित्य र त्यस भित्र तत्त्वको खोजी गरिरहने हाम्रो दर्शनको पनि औचित्य समाप्त हुन सक्छ ।

हामी लेखक बनौँ, कलाकार बनौँ, दार्शनिक बनौँ, उद्यमीव्यवशायी बनौँ, भौतिक रूपले सुसम्पन्न बनौँ वा आत्मिक रूपले परिपूर्ण भएको ठानौँ, धर्म गुरु बनौँ, संस्कार र आचरणको परिभाषा नै बनेर उभियौँ वा योभन्दा पनि अरू केही बनौँ अथवा बनेको मानौँ के मानिसको मनबाट भोकको चेतना मेटिएको छ र ? निश्चय पनि छैन । मानिस नै यस्तो प्राणी हो जसले आदर्शका ठेली लेख्यो, सिद्धान्तका पोथी खडा ग¥यो । नियमका पुस्तक बनायो अनि तिनलाई मानिसमा लागू गराउने ओहदाको सर्वश्रेष्ठ स्थानको अधिकारी बन्यो तर व्याख्यामात्रै फरक भए, मान्यता मात्रै नयाँ ढङ्गले प्रस्तुत भए मानिसबाट भोक र भोगको प्रवृत्ति फेरिएन ।

भिन्न र नयाँ शैलीमा यसले आफ्नो अनुहार देखाउँदै रहृयो । किनकि यो फेरिने, मेटिने, मेटाउने विषय नभएर यो त उपभोग्य विषय भयो । बरू यसलाई जतिसक्दो शिष्ट र मर्यादित किसिमले स्वीकार ग¥यो भने बरू यसले आफ्नो कुरूप अनुहार नदेखाउने भयो । हामीले जे भनौँ, जहाँ भनौँ, जसरी भनौँ दरबारदेखि घरबारसम्म, मन्दिरदेखि चर्च वा मदर्सासम्म, राजादेखि रैतीसम्म, गुरुदेखि शिष्यसम्म हरेक तह र तप्कामा भोकका अनुहारहरू देखा परेका छन् । निश्चय पनि भोक, भोग, सम्भोग, समभोक सबैका निम्ति उही श्रेणीको विषय नहोला, सार्वजनिक सरोकार छलफलको विषय नै पनि नहोला तर भोक अशिष्ट भएर आउनु निश्चय पनि नराम्रो कुरा हो ।

त्यस अर्थमा पनि भोकको समुचित र समयोचित व्यवस्थापन भएन भने झन् ठूलो दुर्घटना हुनसक्ने यथार्थ अझै ज्वलन्त विषय हो भन्ने लेखकीय निष्कर्ष होला भन्ने मेरो पाठकीय अनुभव हो । हाम्रो समय हाम्रा हातबाट कसरी छुट्दैछ ? कसरी अशिष्ट बन्दैछ ? कतिसम्म अशिष्ट बन्न खोज्दैछ । बाध्यताका नामले वा रहरले विदेशिने हाम्रा घरका मनोजैविक अवस्थाहरू के कसरी बिग्रिँदै छन् ? र तिनको निदान कसरी सम्भव होला ? भन्ने विषयको निम्ति समभोक उपन्यासको प्रायोगिक अनि दार्शनिक पक्षमा प्रकट भएका विचार दुवै पठनीय लागे । प्रिय लेखक शिवप्रकाशजी ! उपन्यासमा भोक र भोगको गहिरो दर्शन प्रकट भएको छ त्यो साँच्चै लोभलाग्दो किसिमले आएको छ ।

डा. नारायण चालिसे 
हिमालय टाइम्स १० चैत्र २०८०, शनिबार ।  

Comments