जिउँदा राजालाई श्रद्धाञ्जलि

'राजा वीरेन्द्रको जन्मोत्सवको कार्यक्रम थियो । मैले जिउँदा राजालाई 'श्रद्धाञ्जलि अर्पण गर्दछु' भनेँ । त्यसपछि सबैका आँखा मतिर तेर्सिए । कार्यक्रम स्थलमा निस्तब्धता छायो । एकछिन् छक्क परेँ । एकछिन् पछि खासखुस सुरू भयो । म भित्रभित्रै 
चिसो भएँ । त्यसपछि ...!'
*****

पञ्चायतकालको समयमा लेखनमा चाह भएका कर्मचारीलाई आफ्नो लेखनले निक्कै अफ्ठ्यारो पार्थ्यो । शिव पौडेल राष्ट्रिय खेलकुद परिषदमा अधिकृतको जागिरे थिए । सानैदेखि लेखनमा रूचि भएका उनी लेखनलाई पनि निरन्तरता दिने र त्यसले जागिरलाई पनि असर नगर्ने उपायको खाजीमा लागे । त्यही उपायले उनलाई शिव पौडेलबाट शिव प्रकाशको परिचय दिलायो ।

२०२१ सालमा आसाममा जन्मिएलगत्तै शिव परिवारको साथमा पुर्ख्यौली थाकथलो पाँचथर पुगे । पाँचथरबाट २०२४ सालमा उनको परिवार बसाइँ सरेर मोरङको हरैँचा पुग्यो । शिवको बाल्यकाल हरैँचामा नै बितेको हो ।

हरैँचामा तराई मुलका खवास, थारू तथा पहाडी मुलका राई, तामाङ, ब्राह्मण तथा क्षेत्रीलगायत मिश्रित समुदायको बसोबास छ । सोही समुदायमा शिव हुर्किए । उनी हुर्केको समुदाय बहुजातीय भएर पनि सो समुदायमा कुनै किसिमको विभेद थिएन ।

उनका बुबाले पनि कहिल्यै मानिस, मानिसबीच विद्यमान विभेदका पक्षमा उभिन सिकाएनन् । उनी आफैँ विभेदकारी सोचको विरोधि थिए । जसको छाप शिवलाई समेत पर्‍यो । बुबाको पढ्ने तथा केही न केही लेखिरहने बानीकै कारण शिवमा पढ्ने तथा लेख्ने बानीको सानै उमेरमा विकास भयो ।

उनी विद्यालयमा आयोजना हुने हाजिरीजवाफ, कविता वाचन जस्ता अतिरिक्त क्रिकलापमा अक्सर सहभागी हुन्थे । त्यस्तै स्कुलको कार्यक्रममा एकपटक कतिसम्म भयो भने, तत्कालीन राजा विरेन्द्रको जन्मोत्सवमा शिवले कविता लेख्नुपर्ने थियो । शिक्षकले श्रद्धाञ्जली भनेको श्रद्धा अर्पण गर्नु हो भनेर सिकाएका थिए । विरेन्द्रको जन्मोत्सवको अवसरमा शिवले कविता लेखे । लेखेको कविता वाचन गर्ने क्रममा अन्तिम वाक्यमा जब उनले जब श्रद्धाञ्जली अर्पण गर्दछु भने । कार्यक्रमस्थलमा सन्नाटा छायो ।

उनको आफ्नै मन चिसो भयो । अतिरिक्त क्रियाकलाप हेर्ने शिक्षकले उनलाई छेउमा बोलाएर भने, ‘तिमीले गल्ती गर्‍यौ । चुप लागेर गएर बस ।' उनी चुपचाप लागेर बसे । तिनै शिक्षकले शिवले पुष्पाञ्जली भन्न खोजेको हो, गल्तीले श्रद्धाञ्जली भएछ भनेर उनको शब्दलाई सच्याइदिए ।

एसएलसीपछि शिवले पढ्न अल्छी मानेर औपचारिक अध्ययन नगर्ने सोचले पढाइ छाडे । परिवारलाई खेतीपातीमा सहयोग गरेर ५ वर्ष बिताए । एक दिन अचानक खुकुरीमा उनको आखाँ पुग्यो । त्यो खुकुरी हेर्दै सोच्न थाले– यो हतियारले हामीलाई जसरी सहयोग गर्छ, त्योभन्दा कैयौँ गुणा सहयोग त मान्छेलाई शिक्षाले गर्न सक्छ भन्ने उनलाई महसुस भयो । तब छाडेको पढाइलाई पुनः निरन्तरता दिने निर्णय गरे ।

त्यसपछि शिव उच्च शिक्षाका लागि भारतको इलाहवादमा पुगे । इलाहवादस्थित निजी शैक्षिक संस्थाबाट आफ्नो अध्ययनलाई पुनः अगाडि बढाए । इलाहवादबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि भारतबाट फर्केर राजधानी काठमाडौं छिरे ।

राष्ट्रिय खेलकुद परिषदमा अधिकृतको जागिर पाए । कर्मचारी संघको महासचिवको भूमिकामा काम गरिरहेका उनले राष्ट्रिय खेलकुद परिषदमा हुने बेथिति, अनियमितता, गुण्डागर्दी देखेसँगै त्यसविरुद्ध आवाज उठाउन थाले ।

त्यसरी आवाज उठाएकै कारण उनीमाथि व्यवस्थापनबाटै सांघातिक हमला भयो । उपचारार्थ सात दिनसम्म अस्पतालमा भर्ना हुनुपर्‍यो । त्यसपछि उनले देश नै छाड्ने निर्णय गरे ।

अस्पतालबाट बाहिरिएसँगै आर्थिक रूपमा बलियो भएपछि मात्र स्वदेश फर्कने सोचका साथ विदेश पलायनको बाटो खोज्न थाले । सन् १९९९ शिव भिजिट भिषामा अमेरिका पलाएन भए । हाल अमेरिकामै रहँदै आएका शिव हरेक वर्ष जसो नेपाल आउने गरेका छन् । नेपाल आएका बेला भ्याएसम्म देशका विभिन्न स्थानमा घुम्न पुग्छन् ।

नेपालमा अफ्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्छन् । समाजमा देखिएका दुखःमा सक्दो मलमपट्टी गर्छन् ।

००००

बाल्यकालदेखि नै लेखनमा रूची राख्न थालेका शिव विस्तारै सामाजिक बेथिति तथा बिकृतीविरूद्ध कलम चलाउने भैरव अर्याल, रामकुमार पाँडे लगायतबाट प्रभावित बने । घरबाटै बुबाबाट पाएको शिक्षा पनि उस्तै थियो ।

शिवले २०५२ सालमा राजनीतिक बेथितिविरूद्ध पहिलो कृतिका रूपमा हास्यव्यङ्ग्य कवितासंग्रह ‘जय नेता जी’ प्रकाशन गरे । उनका हास्यव्यङ्ग्य कवितासंग्रह ‘गोलमाल’, ‘स्पन्दन’ गीति एल्बम, ‘जैमली’ कथा संग्रह, ‘घागी’ कथासंग्रह प्रकाशित छन् ।

पछिल्लो समय प्रकाशित उनको पहिलो उपन्यास ‘समभोक’ देश तथा परदेशमा रहेका नेपालीमाझ चर्चित बनेको पुस्तक हो ।

शिव भन्छन्, ‘२५ वर्ष अमेरिकामा बिताएसँगै पछिल्लो समय नेपालभन्दा अमेरिकालाई धेरै बुँझे । त्यहाँँका आप्रवासी नेपाली र अन्य देशबाट अमेरिका पुगेका नागरिकहरूको जीवनलाई नजिकबाट छामेँ, सुम्सुम्याएँ । ती पात्रका कथाहरू सँगसँगै आफैँ बगेँ र त्यही कुरालाई शब्दमा उतार्नुपर्छ भन्ने महसुस गरेर ‘समभोक’ लेखेको हुँ ।’

भोक, भोग र समभोक भन्नेबित्तिकै योनसँग जोडेर हेर्ने आम मान्छेको बुझाइप्रति पनि आफूलाई चित्त नबुझिरहेको परम्परागत शैलीमाथिको प्रक्षेपणका रूपमा समेत ‘समभोक’ लेखेको उनको भनाइ छ ।

ईश्वर लुइँटेल,  शिलापत्र

मंगलबार, फागुन २९, २०८०  

Comments