विचार-वार्ता .

 जिउँदा राजालाई श्रद्धाञ्जलि 



"राजा वीरेन्द्रको जन्मोत्सवको कार्यक्रम थियो । मैले जिउँदा राजालाई 'श्रद्धाञ्जलि अर्पण गर्दछु' भनेँ । त्यसपछि सबैका आँखा मतिर तेर्सिए । कार्यक्रम स्थलमा निस्तब्धता छायो । एकछिन् छक्क परेँ । एकछिन् पछि खासखुस सुरू भयो । म भित्रभित्रै चिसो भएँ ।
त्यसपछि ...!"

पञ्चायतकालको समयमा लेखनमा चाह भएका कर्मचारीलाई आफ्नो लेखनले निक्कै अफ्ठ्यारो पार्थ्यो । शिव पौडेल राष्ट्रिय खेलकुद परिषदमा अधिकृतको जागिरे थिए । सानैदेखि लेखनमा रूचि भएका उनी लेखनलाई पनि निरन्तरता दिने र त्यसले जागिरलाई पनि असर नगर्ने उपायको खाजीमा लागे । त्यही उपायले उनलाई शिव पौडेलबाट शिव प्रकाशको परिचय दिलायो ।

२०२१ सालमा आसाममा जन्मिएलगत्तै शिव परिवारको साथमा पुर्ख्यौली थाकथलो पाँचथर पुगे । पाँचथरबाट २०२४ सालमा उनको परिवार बसाइँ सरेर मोरङको हरैँचा पुग्यो । शिवको बाल्यकाल हरैँचामा नै बितेको हो ।

हरैँचामा तराई मुलका खवास, थारू तथा पहाडी मुलका राई, तामाङ, ब्राह्मण तथा क्षेत्रीलगायत मिश्रित समुदायको बसोबास छ । सोही समुदायमा शिव हुर्किए । उनी हुर्केको समुदाय बहुजातीय भएर पनि सो समुदायमा कुनै किसिमको विभेद थिएन ।

उनका बुबाले पनि कहिल्यै मानिस, मानिसबीच विद्यमान विभेदका पक्षमा उभिन सिकाएनन् । उनी आफैँ विभेदकारी सोचको विरोधि थिए । जसको छाप शिवलाई समेत पर्‍यो । बुबाको पढ्ने तथा केही न केही लेखिरहने बानीकै कारण शिवमा पढ्ने तथा लेख्ने बानीको सानै उमेरमा विकास भयो ।

उनी विद्यालयमा आयोजना हुने हाजिरीजवाफ, कविता वाचन जस्ता अतिरिक्त क्रिकलापमा अक्सर सहभागी हुन्थे । त्यस्तै स्कुलको कार्यक्रममा एकपटक कतिसम्म भयो भने, तत्कालीन राजा विरेन्द्रको जन्मोत्सवमा शिवले कविता लेख्नुपर्ने थियो । शिक्षकले श्रद्धाञ्जली भनेको श्रद्धा अर्पण गर्नु हो भनेर सिकाएका थिए । विरेन्द्रको जन्मोत्सवको अवसरमा शिवले कविता लेखे । लेखेको कविता वाचन गर्ने क्रममा अन्तिम वाक्यमा जब उनले जब श्रद्धाञ्जली अर्पण गर्दछु भने । कार्यक्रमस्थलमा सन्नाटा छायो ।

उनको आफ्नै मन चिसो भयो । अतिरिक्त क्रियाकलाप हेर्ने शिक्षकले उनलाई छेउमा बोलाएर भने, ‘तिमीले गल्ती गर्‍यौ । चुप लागेर गएर बस ।' उनी चुपचाप लागेर बसे । तिनै शिक्षकले शिवले पुष्पाञ्जली भन्न खोजेको हो, गल्तीले श्रद्धाञ्जली भएछ भनेर उनको शब्दलाई सच्याइदिए ।

एसएलसीपछि शिवले पढ्न अल्छी मानेर औपचारिक अध्ययन नगर्ने सोचले पढाइ छाडे । परिवारलाई खेतीपातीमा सहयोग गरेर ५ वर्ष बिताए । एक दिन अचानक खुकुरीमा उनको आखाँ पुग्यो । त्यो खुकुरी हेर्दै सोच्न थाले– यो हतियारले हामीलाई जसरी सहयोग गर्छ, त्योभन्दा कैयौँ गुणा सहयोग त मान्छेलाई शिक्षाले गर्न सक्छ भन्ने उनलाई महसुस भयो । तब छाडेको पढाइलाई पुनः निरन्तरता दिने निर्णय गरे ।

त्यसपछि शिव उच्च शिक्षाका लागि भारतको इलाहवादमा पुगे । इलाहवादस्थित निजी शैक्षिक संस्थाबाट आफ्नो अध्ययनलाई पुनः अगाडि बढाए । इलाहवादबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि भारतबाट फर्केर राजधानी काठमाडौं छिरे ।

राष्ट्रिय खेलकुद परिषदमा अधिकृतको जागिर पाए । कर्मचारी संघको महासचिवको भूमिकामा काम गरिरहेका उनले राष्ट्रिय खेलकुद परिषदमा हुने बेथिति, अनियमितता, गुण्डागर्दी देखेसँगै त्यसविरुद्ध आवाज उठाउन थाले ।

त्यसरी आवाज उठाएकै कारण उनीमाथि व्यवस्थापनबाटै सांघातिक हमला भयो । उपचारार्थ सात दिनसम्म अस्पतालमा भर्ना हुनुपर्‍यो । त्यसपछि उनले देश नै छाड्ने निर्णय गरे ।

अस्पतालबाट बाहिरिएसँगै आर्थिक रूपमा बलियो भएपछि मात्र स्वदेश फर्कने सोचका साथ विदेश पलायनको बाटो खोज्न थाले । सन् १९९९ शिव भिजिट भिषामा अमेरिका पलाएन भए । हाल अमेरिकामै रहँदै आएका शिव हरेक वर्ष जसो नेपाल आउने गरेका छन् । नेपाल आएका बेला भ्याएसम्म देशका विभिन्न स्थानमा घुम्न पुग्छन् ।

नेपालमा अफ्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्छन् । समाजमा देखिएका दुखःमा सक्दो मलमपट्टी गर्छन् ।

००००

बाल्यकालदेखि नै लेखनमा रूची राख्न थालेका शिव विस्तारै सामाजिक बेथिति तथा बिकृतीविरूद्ध कलम चलाउने भैरव अर्याल, रामकुमार पाँडे लगायतबाट प्रभावित बने । घरबाटै बुबाबाट पाएको शिक्षा पनि उस्तै थियो ।

शिवले २०५२ सालमा राजनीतिक बेथितिविरूद्ध पहिलो कृतिका रूपमा हास्यव्यङ्ग्य कवितासंग्रह ‘जय नेता जी’ प्रकाशन गरे । उनका हास्यव्यङ्ग्य कवितासंग्रह ‘गोलमाल’, ‘स्पन्दन’ गीति एल्बम, ‘जैमली’ कथा संग्रह, ‘घागी’ कथासंग्रह प्रकाशित छन् ।

पछिल्लो समय प्रकाशित उनको पहिलो उपन्यास ‘समभोक’ देश तथा परदेशमा रहेका नेपालीमाझ चर्चित बनेको पुस्तक हो ।

शिव भन्छन्, ‘२५ वर्ष अमेरिकामा बिताएसँगै पछिल्लो समय नेपालभन्दा अमेरिकालाई धेरै बुँझे । त्यहाँँका आप्रवासी नेपाली र अन्य देशबाट अमेरिका पुगेका नागरिकहरूको जीवनलाई नजिकबाट छामेँ, सुम्सुम्याएँ । ती पात्रका कथाहरू सँगसँगै आफैँ बगेँ र त्यही कुरालाई शब्दमा उतार्नुपर्छ भन्ने महसुस गरेर ‘समभोक’ लेखेको हुँ ।’

भोक, भोग र समभोक भन्नेबित्तिकै योनसँग जोडेर हेर्ने आम मान्छेको बुझाइप्रति पनि आफूलाई चित्त नबुझिरहेको परम्परागत शैलीमाथिको प्रक्षेपणका रूपमा समेत ‘समभोक’ लेखेको उनको भनाइ छ ।

ईश्वर लुइँटेल,  शिलापत्र
मंगलबार, फागुन २९, २०८० 


लेखन नदी जस्तो सलल बग्ने हुनुपर्छ भनिएको मलाई चित्त बुझ्दैन।

'लेखन नदी जस्तो सलल बग्ने हुनुपर्छ भनिएको मलाई चित्त बुझ्दैन। नदी कहाँ सलल बग्छ! त्यो त घुम्छ, धेरै ठाउँमा ठोक्किन्छ। ठाउँ ठाउँमा छाँगा र छहरा बन्छ, कतिपय ठाउँमा जम्छ पनि। अनि मात्रै आफ्नो अस्तित्व मेटाएर समुद्रमा विलीन हुन्छ। यसरी हेर्दा नदी जस्तो लेखन सलल बगेको होइन, मानिसलाई घोत्लिन बाध्य बनाउने किसिमको हुन्छ।' 

हिमालखबर- किताबका कुरा सागर बुढाथोकीसँग  हिमालखबर


शनिबार, फागुन १२, २०८०



Comments