बुद्धिको विस्खलन

"पूर्वीय दर्शन ज्ञानमीमांसाले देखाएको बाटो हो– बुद्धिवाद । व्याख्या र उपयोग पश्चिमाहरूले गरे । हामी बुद्धि विस्खलनको पाषाणयुगमा फर्किंदै छौं  ।"
*****

मान्छेको मस्तिष्क नै मान्छे हो– जे सोच्छ त्यही बन्छ  । बुद्धको ‘माइन्डफुलनेस’ को निचोड ! पालि भाषाको ‘सम्मासती’ अष्टाङ्गमार्गभित्रको उज्यालो उन्मुख एकमार्ग हो– माइन्डफुलनेस  ।

बुद्धि प्राप्त गरेपछि मात्र बुद्ध ज्ञानको खोजीमा निस्किएका थिए । बुद्धले त्यो बुद्धि कहाँबाट प्राप्त गरे ?

एकै थिए— श्रीकृष्ण र सौम्य, दुवै सारथि । फरक थिए— समय र सवारपात्र, अर्जुन र बुद्ध । श्रीकृष्ण नै हुन् कारयताका काढा उम्रिएको अर्जुनको मस्तिष्कपटमा बुद्धिको बीउ छर्ने । महाभारत जित्ने र जिताउने । सौम्य नै हुन् सिद्धार्थलाई बुद्ध बनाउने र बुद्धलाई बुद्धि दिने पहिलो गुरु । दरबारका राजकुमारलाई रथमा राखेर जन्म, दुःख र मृत्युको दर्शन गराउने आर्य सत्यका आचार्य । चाँण, चन्ना र छन्दक पनि उनै हुन् ।

सिद्धार्थ पनि शासक थिए— शक्तिशाली शाक्य गणराज्यका राजकुमार । धेरै शासकजस्तै उनी पनि बुद्धि–विमुख हुन्थे भने सौम्यको बुद्धिको बीउ उनका लागि अपमान हुन्थ्यो । सौम्यलाई मृत्युदण्ड दिन्थे वा कठोर कारावास । उनी एउटा राज्यको शासक बन्थे, मर्थे, सकिन्थे ।

आज यो संसारमा अर्को सूर्य उदाएको छ, बुद्धिको सूर्य– बुद्ध ! नेपालमा अर्को सगरमाथा उभिएको छ, बुद्धिको सगरमाथा– बुद्ध । विडम्बना– बुद्ध र बुद्धिभूमि नेपाल निराशाको अँध्यारो भासमा डुब्दै छ ! बुद्धिका विपर्याय वारेसहरूको विलक्षण प्रतिभाको प्रदर्शन भइरहेको छ । नग्ननृत्यको निरीह दर्शक बनेको छ– नेपाल ।

वास्तवमा बुद्धलाई भगवान् हैन, बुद्धिका रूपमा मानिसले स्वीकार गरे । तर भक्तिका नाउँमा भावनाको व्यापार गर्ने व्यापारीहरूले अनेक भगवान् बनाए– बुद्ध पनि एक भए । उनलाई त्योभन्दा ठूलो भगवान् मूर्तिका व्यापारीहरूले बनाए ।

यद्यपि बुद्धिको सामाजशास्त्रीय विस्खलन आजपर्यन्त छ– झन् बढी छ । बलसामु समाज झुक्छ तर बुद्धिसामु बल झुक्न बाध्य हुन्छ । कालजयी उपमा बनेका छन्– एक शिक्षक ।

शक्तिशाली कुनै शासकले सकेनन् तर ती शिक्षकले विश्वविजेता एलेक्जेन्डर महान्लाई हराए । बुद्धिसँग बल हार्न बाध्य भएको एउटा बलियो उदाहरण हो, यो । संसार जित्दै इरानी क्षेत्रबाट हिन्द उपमहाद्वीपतिर बढेका एलेक्जेडर सतलुज नदी (हाल पाकिस्तानको पन्जाब) तर्न पाएनन् । त्यहीँ घुँडा टेके, फर्किन बाध्य भए विश्वविजेता । बग्दादमा उनको मृत्यु भयो । एउटा मत छ– औलोले हैन, ती शिक्षकले प्रहार गरेको वाँणबाट एलेक्जेन्डर घाइते भएका थिए । त्यही घाउ पाकेर अधिक ज्वरोको कारणले उनको मृत्यु भयो ।

बुद्धिको स्वाभाव फरक छ । बिक्नु र झुक्नुमा झन् ठूलो फरक छ । बुद्धिहरू बलसामु प्रशस्तै बिकेका छन् तर विरलै झुकेका छन् । बलसामु कहिल्यै नझुकेका ती शिक्षक अरू कोही होइनन्, धेरैले सुनेका तिनै चाणक्य हुन् । तक्षशिलाका आचार्य– बुद्धिको एउटा जिउँदो विम्ब अर्थात् चाणक्य विष्णुगुप्त । रहस्यमयी वात्स्यायन अर्थात् कामसूत्रका सूत्रधार पनि मानिन्छन् उनी !

बललाई ठूलो शक्ति मानिन्छ तर निर्धामाथि शासन गर्ने स्वाभाव–प्रवृत्त बुद्धिविमुख शासकहरूले खेलाउने एक कमजोर हतियार हो– बल । नत्र रोमेनियाका भ्लाडहरू, भारतका शहंशाह र सम्राट्हरू, रुसका रुरिकिड, जार र स्टालिनहरू, नेपालका राणाहरू कहिल्यै ढल्ने थिएनन् । ‘आजाद’ भारत आन्दोलनमा बन्दुकभन्दा महात्मा गान्धीको बुद्धि बलियो भयो ।

बल स्वयं चल्दैन । बललाई चलाउन अर्को बल चाहिन्छ । बललाई चलाउने त्यो अर्को बलको नाम हो– बुद्धि । तर सत्ताको स्वाभाव स्वाँठ भैदियो भने बुद्धिलाई बलले जित्न खोज्छ । धनानन्द बलशाली थियो तर त्योभन्दा बढी मूढताको भारी थियो । चाण्डाल थियो तर चतुर थिएन ।

आफ्नै भूमिमा उम्रिएको बुद्धिको बटवृक्षको छायामा धनानन्द बसेको भए आज भारतको इतिहास र भूगोल फरक हुन्थ्यो । बुद्धिको कदर गर्न सकेन । देश निकाला गरिदियो ती शिक्षकलाई । सम्राट् धनानन्दको वंश समूल नास गर्ने प्रतिज्ञा गरे । प्रतिज्ञाअनुसार ती शिक्षक आफ्नै शिष्य चन्द्रगुप्त मौर्यलाई मगधको सम्राट् बनाए । ती शिक्षक अरू कोही थिएनन्– उनै चाणक्य थिए । इसापूर्व ३०० तिरको त्यो विशाल मगध साम्राज्य चाणक्यको बुद्धिको शिखामा बाँधियो ।

बुद्धि कसका लागि ? यो प्रश्न त्यतिखेर जटिल बन्यो, जति बेला तिनै चन्द्रगुप्तले कौटिल्य अर्थशास्त्र ग्रहण गर्न चाहे । तर गुरु चाणक्यले उनलाई दिन अस्वीकार गरे । बरु जलाएर भस्म पार्ने आदेश दिए ।

बुद्धिले विनाश निम्त्याउँछ– यदि बुद्धिविमुख शासकका हातमा बुद्धि पर्‍यो भने । धनानन्दको अवसान पछि मात्र चन्द्रगुप्तलाई त्यो शास्त्र दिने वचन दिए । बुद्धि आफ्ना लागि नभएर समाज र राज्यका लागि हो तर त्यो बुद्धि ग्रहणयोग्य व्यक्तिलाई मात्र प्राप्त हुनुपर्छ । बुद्धि–विक्रान्त चाणक्यबाट चन्द्रगुप्तले यही बुद्धि पाए ।

आइन्सटाइनको बुद्धिले परमाणुमा शक्ति भेटायो । त्यही बुद्धि उत्तर कोरिया र इरानका लागि भस्माशूरलाई महादेवको वरदानजस्तो भएको छ । संसारलाई कणको कुण्डमाथिको प्रेसरकुकर ठानेका छन् उनीहरूले । किताब बालेर आगो ताप्ने प्रथम चिनियाँ बादशाह चिङ् सी ह्वानजस्तै आणविक भट्टीमा संसार जलाएर आगो ताप्न खोजिरहेका छन् ।

किताब पढे ज्ञान–बुद्धि प्राप्त हुन्छ । जलाए आगो ताप्न पाइन्छ । बुद्धिमाथि बलको प्रयोगले विनाश निम्त्याउँछ । आज संसार ‘बुद्धि–विमुख’ त्रस्त मानोविज्ञानमा बाँचेको छ । के अमेरिका कमजोर हुनु भनेको संसारमा संकट मडारिनु हो ? प्रश्न सायद अस्वाभाविक हैन !

आजपर्यन्त बुद्धिबाट धेरै सत्ता र शासक सधैं वञ्चित रहे । बल बाधक भयो– बुद्धिको वर्णपटलाई शासकहरूले भैंसीको चित्र ठाने ।

१८औं शताब्दीमा पनि फ्रान्समा बुद्धिका कीराहरूको कमी थिएन । भोल्टेयर, रुसो, दिदेरोजस्ता बुद्धिका ती कीरा मार्न उन्मुख भयो फ्रान्सेली राजतन्त्र । बुद्धि विस्खलनको यो अर्को उदाहरण हो भने बुद्धि र बलको अर्को महाभारत तथा बलको पराजयको नयाँ क्रम पनि ।

संसारकै लामो राजतन्त्रमध्येको फ्रान्सको क्याप्सन डाइनेस्टी (सन् ४८६ देखि १८७०) का लुई सोह्रौं मात्रै बुद्धिको झिनो पर्याय पात्र बन्न सकेको भए भोल्टेयरले ‘लेटर्स अन द इङ्लिस’ लेखेर जनता जगाउनुपर्ने थिएन ।रुसोले ‘सोसल कन्ट्रसन’ मा लेख्नुपर्ने थिएन, ‘मानिस स्वतन्त्र जन्मन्छ र सर्वत्र जन्जिरमा बाँधिन्छ ।’ दिदेरोले भ्रष्ट र निरंकुश शासनका बिरुद्ध बोल्नु पर्ने थिएन । मेन्टस्क्युले दैवी अधिकारको खण्डन गर्नु पर्ने थिएन ।

फ्रान्सेली राज्यक्रान्तिको जन्म नभएको भए धेरै देशको भौगोलिक र सामाजिक संरचना फरक हुन्थ्यो, तर कस्तो हुन्थ्यो ? कसैले भन्ने आँट गर्न सकेका छैनन् । प्रजातन्त्रको परिभाषा र स्वरूप कस्तो हुन्थ्यो ? त्यो पनि कसैले सोच्न सकेका छैनन् । बलले फ्रान्समा नरसंहार निम्त्यायो भने बुद्धिले संसारलाई नयाँ बाटो देखायो । फ्रान्सेली राज्यक्रान्ति संसार परिवर्तनको पाठशाला मात्र बनेन उदारीकणको विश्वविद्यालय पनि बन्यो ।

महाभारत कसले जित्यो भन्ने प्रश्नको सार्वभौम उत्तर पाण्डव हो तर सत्य होइन । घटोत्कचका छोरा बर्बरिकका आँखाले देखेका महाभारतका एक मात्र विजेता थिए– श्रीकृष्ण । श्रीकृष्ण बलभन्दा बढी बुद्धि हुन् । बुद्धिको जित थियो महाभारत । आमा अहिल्यावतीबाट दीक्षा प्राप्त बर्बरिक हार्नेका पक्षबाट युद्ध लड्न आउनु नै पाण्डवको हार निश्चित थियो । आफ्नो एक वाँणले महाभारतको युद्ध जित्ने शक्तिशाली बर्बरिक अन्ततः श्रीकृष्णको बुद्धिसामु आफ्नै बलि चढाउन राजी भए । श्रीकृष्णले रणचण्डीलाई बर्बरिकको बली चढाए । बर्बरिकलाई युद्धबाट वञ्चित गराउनु नै श्रीकृष्णको बुद्धिको जित थियो– पाण्डवहरू आवरण मात्र थिए ।

यद्यपि श्रीकृष्णलाई सर्वव्यापी र सर्वशक्तिमान मानिन्छ । तर चरालाई रूखको हाँगामा हैन आफ्नो पखेटामा विश्वास भएजस्तै आफ्नो बलभन्दा बुद्धिमा बढी विश्वास थियो, श्रीकृष्णलाई पनि ।

बाध्यता जीवनको वैकल्पिक आवश्यकता बनिदिन्छ– स्विकार्न बाध्य हुन्छ मानिस । बुद्धिले मानिसलाई झुकाउँछ तर मनलाई जिताउँछ । बुद्धिले भन्दा छिटो बलले मानिसलाई झुकाउँछ तर सधैं तर्साउँछ । तर्साएर हराउँछ । बल, जसलाई राजनीतिक शब्दमा शक्ति भनिन्छ । त्यो शक्तिसँग जर्ज फ्रिड्रिच हेगल हारे । जोसेफ चिलिङ हारे । ह्विलहम डिल्थे हारे । अथर सोपनआवर हारे । नित्सेका नवीन चेतहरू हारे । आफ्नै भूमिमा कार्ल मार्क्सका कालजीवी विचारहरू पनि हारे । हार्नेहरू व्यक्ति हैन, बुद्धि थिए– आधुनिक विचार र दर्शनले कुँदिएका बुद्धि ।

संसारलाई के दिएन जर्मनीले ? ज्ञान–विज्ञान, आचार–विचार, चेत–चेतना, युक्ति–बुद्धि, दिशा–दर्शन सबै दियो । तर १९औं शताब्दीको सुरुआतसँगै त्यही जर्मनीमा एडोल्फ हिटलरको बलसामु बुद्धिहरू हार्न बाध्य भए । अन्ततः बुद्धिको हारले ठूलो मूल्य चुकाउनुपर्‍यो, त्यो संसारले– दोस्रो विश्वयुद्ध ! शक्तिको शक्तिले जन्माएको एक शक्तिशाली पात्र हुन् हिटलर । तर क्षणिक हुन्छ शक्तिको शक्ति । जसरी उदाए उसैगरी अस्ताए– उनै हिटलर ।

शक्तिको ‘शक्ति’ अनौठो हुन्छ, त्यही शक्तिले मान्छेको मन अनुहारमा उतारिदिन्छ । त्यसपछि त्यो मान्छे हेरिनसक्नु हुन्छ । शक्तिले मान्छेका भित्री मनको तहमा जमेका ती तमाम काला, मैला, धमिला र फोहोरी इच्छालाई तीव्र चाहनामा बदलिदिन्छ । सत्ता र शासकको नग्न स्वरूप त्यही शक्तिले देखाउँछ । नेपालको वर्तमान राजनीतिको निर्मम ‘सिनारियो’ सबैसामु छ । शक्तिभित्रको अनौठो शक्तिको मूल्य नेपालजस्ता निर्धन मुलुकले सबैभन्दा बढी चुकाइरहेको छन् ।

बुद्धिपाखर गर्ने बुद्धि नभएको भए धनानन्दजस्तै पृथ्वीनारायण शाहले पनि बिसे नगर्चीलाई लत्याएर हिँड्थे । ‘दमाई’ ले अपमान गरेको सम्झेर गर्धन छिनाउन पनि सक्थे ! मेरो सामान्य बुद्धिका दृष्टिमा बिसे नगर्ची ‘दमाई’ मात्र हैन पृथ्वीनारायण शाहका लागि चाणक्य हुन् । तिनै बिसे नगर्चीको बुद्धिको धारले साधिएको पृथ्वीनारायण शाहको तरबारले नेपालको मानचित्र कोरिएको कुरा कुनै ‘फेन्ट्यासी फिक्सन’ हैन । नगर्चीको बुद्धिलाई तिरस्कार गरेको भए चन्द्रगुप्त मौर्यको जस्तो पृथ्वीनारायणको सौर्यको ताप अहिले नेपालीले ताप्न पाउने थिएनन् । आफ्नै नाप–नक्सा पनि हुने थिएन ।

बुद्धिको सामाजशास्त्रीय सम्बन्ध नीति, न्याय, मूल्य, मान्यता, धारणा, कर्तव्य, स्वभाव, सदाचरण, सभ्यता, संस्कृति र जीवन पद्धतिसँग छ । व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा बुद्धिले नेतृत्व गरेको हुनुपर्छ । तर सामाजिक र राष्ट्रिय सत्तामा बुद्धिको नेतृत्व छैन । राष्ट्रिय रोग बनेको छ– बुद्धि विस्खलन । विस्खलनको विकिरणले हाम्रो सामाजिक चरित्रलाई विकृत बनाएको छ ।

ली क्वान युको समय र इतिहास टाढा छैन । इतिहास र भूगोलको अर्कोपाट हेर्नै पर्दैन हाम्रै पुस्ताले देखेको छ– ‘युइरा’ लाई ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय अपराधको संरक्षक बनेर संहारको किनारामा उभिएको सिंगापुरलाई संसारको स्वर्ग बनायो युको बुद्धिले । तेस्रो दुनियाँको पहिलो दर्जाको स्वर्ग मानियो सिंगापुर । पचास वर्षमा पचास गुणा प्रतिव्यक्ति आय बढाउने मुलुक भयो सिंगापुर ।

भुगोल र सिमानामा मात्र देश बाँचेर हुँदैन– देश बाँच्न समृद्धि चाहिन्छ । उत्तर कोरिया अझै भोकसँग लड्दै छ । भोको उत्तर कोरियालाई पाल्न सक्ने हैसियत दक्षिण कोरियासँग छ । पार्क चुङ हीको बुद्धिले दक्षिण कोरियाले त्यो हैसियतमा पुर्‍यायो । आफ्नो देश चरम गरिबी र भोकमरीसँग लडिरहँदा नेपाललाई स्वर्ग देख्थे दक्षिण कोरियालीहरू । धेरै टाढा हैन, ५० वर्ष अघिसम्म भोकको भुमरीमा हराएका दक्षिण कोरियालीहरू नेपाल आउन चाहन्थे । अहिले नेपालको बुद्धि कोरियाका फलाम कारखानामा रातदिन घोटिँदै छ । बुद्धि घोट्नेको लर्को लामो छ, बढ्दो छ ।

पृथ्वीनारायण शाहपछि राजा महेन्द्रलाई एउटा आँखाले पनि हेर्न नचाहने आँखालाई बुद्धि–विरूपताको बलियो विम्ब मान्दा हुन्छ । लेखकले सधैं निजी आँखा र ‘क्रिस्टल क्लियर’ चस्माले हेर्नुपर्छ । बीपी कोइरालाको बुद्धिलाई नकार्न सकिँदैन । राजा महेन्द्रले नकार्नु एउटा दुर्भाग्यपूर्ण घटना थियो । महेद्रसँग बुद्धिभन्दा बल बढी थियो, घटनाले पुष्टि गरेको छ । महेन्द्रको ‘बल–बुद्धि’ लाई आकलन गर्न नसक्नुले बीपी कोइरालाको बुद्धिकौशलतामा प्रश्नचिह्न लगाएको छ तर कसैले आँट गरेको छैन । महेन्द्र र बीपी– बल र बुद्धि ! मिलाप भएको भए आजको यो दुःखी नेपाल सायद नेपालीले देख्नुपर्ने थिएन होला ।

बुद्धिप्रतिको विकर्षण र विनाशको क्रम २०४६ सालपछि झन् बढ्यो । कृष्णप्रसाद भट्टराई विद्धिविनोदी थिए– अपवाद थिए । बाँकी बुद्धिइतर सत्ताले समाजलाई बुद्धिभन्दा बलको पछाडि दौडन बाध्य बनायो ।

माकुराले माउ खाएजस्तै बीपी कोइरालाको बुद्धिलाई आफ्नैले खाए । माओ र मार्क्सका बुद्धिका सबैभन्दा धेरै चिहान नेपालमै खनिए । चिहानमाथि सत्ताको रातो कार्पेट पटकपटक ओछ्याइयो । जामा मार्क्स र माओको ओढिन्छ, टाउकामा उग्र सामान्तवादी टोपी र खुट्टामा महान् पुँजीवादी जुत्ता लगाएर रातो कार्पेट मैल्याइन्छ । नवसर्वहारा शासकीय शैलीको गुरु बनेको छ– नेपाल ।

पूर्वीय दर्शन ज्ञानमीमांसाले देखाएको बाटो हो– बुद्धिवाद । व्याख्या र उपयोग पश्चिमाहरूले गरे । हामी बुद्धि विस्खलनको पाषाणयुगमा फर्किंदै छौं । बुद्धिको समाजशास्त्रीय अध्ययनमा एउटा लेखक, विचारक, डाक्टर, इन्जिनियर वा मनोवैज्ञानिकको भन्दा एउटा नेताको प्रभाव प्रचुर देखिन्छ ।

बुद्धिले विचार, तर्क, निर्णय र आत्मालोचनाको भार बराबर बहन गरेको हुन्छ । सन्तुलन नभए बुद्धिले बाटो फेर्दै मूढ, जड र कुबुद्धिको बाटो लिन्छ । मन्द बुद्धिमा तर्क, निर्णय र आत्मलोचन लगभग शून्य हुन्छ ।

सत्तामा पुग्नु नै बुद्धिमान हुनु हो भन्ने मूढ, जड र कुबुद्धिका कारण नेपालको ‘सत्ता–नेतृत्व’ बुद्धिवञ्चित छ, प्रायः । बुद्धिवञ्चित सत्ताले प्रायः सधैं बुद्धिको विकल्प खोज्छ । सत्ताको चरित्रले बललाई बुद्धिको उत्तम विकल्प ठान्छ तर बुद्धिको विकल्प बल हैन, बुद्धि नै हो । शास्त्रीय सत्यले भन्छ– बुद्धिर्यस्य वलंतस्य ! अर्थात् जोसँग बुद्धि छ त्यही बलवान छ ! त्यसैले बुद्धिको प्रयोगका लागि बुद्धि नै चाहिन्छ । बलले बुद्धिको प्रयोग गर्ने प्राकृतिक हैसियत कहिल्यै राख्दैन ।

बुद्धिको स्रोत पूर्व नै हो । पश्चिमले प्राचीन पूर्वको त्यही बुद्धिलाई पाखर गर्‍यो, शोध गर्‍यो, खोज खोर्‍यो । त्यही बुद्धिबाट ज्ञान पर्गेल्यो, विज्ञान जन्मायो– आविष्कारमा लगायो । आफ्नो संसार सुखी बनायो– हामी रुँदै छौं ।

नेपालमा अझै चाणक्यहरू बाँचेका छन् तर शासकहरू कैकाला भइदिँदा डा. गोविन्द केसीहरूको उपवासको साधनाले साधिएको सात्त्विक बुद्धि मूल्यहीन हुन्छ । तिनै शासक धनानन्द भैदिँदा सय–पचास दान मागेर बुद्धि–बर्कत गरिरहेका महावीर पुनहरूको रोदन जल्लादसामु बोकाको आँसु हुन्छ ।

बुद्धि राष्ट्रको प्राण हो । अहिले बुद्धिको युग हो । तर बुद्धि विस्खलनको युग पनि अहिले नै हो– नेपालजस्ता देशका लागि । वीर्यको असन्तुलित र पतनको तीव्र गतिलाई स्खलनको संज्ञा दिइन्छ । अहिले मानिसको वीर्य स्खलनभन्दा बुद्धिपतनको गति तीव्र छ । बुद्धि पतनको यो तीव्र गतिलाई ‘विस्खलन’ को संज्ञा दिइन्छ ।
कान्तिपुर, काेसेली : कार्तिक ९, २०७६  बुद्धिको विस्खलन

Comments