‘समभोक’को संदर्शन

 ‘सम्भोग’लाई अश्लील शब्दका रूपमा राखियो। तर सम्भोगको अर्थ शरीरसँग मात्र छैन। नारी र पुरुषको शारीरिक सम्बन्धसँग मात्र छैन। त्योभन्दा बढी भावनात्मक सम्बन्धसँग छ। समानता र सह–अस्तित्वसँग छ।’
*****

‘मान्छे, मान्छेभन्दा बढी भोक बाँच्छ’, समभोक उपन्यासमा शिव प्रकाश लेख्छन्, ‘भोकले साइनो बदल्छ। भोकले सम्बन्ध बदल्छ। भोकले नाम बदल्छ। भोकले काम बदल्छ। भोकले मान्छे बदल्छ। भोकले संसार बदल्छ।’
मोरङको सुन्दर–हरैंचामा जन्मिएका उनी बेलाबेला समसामयिक, राजनीतिक र साहित्यिक टिप्पणी लेखिरहन्छन्। उनका लेखाइमा दर्शनको दियो बलेको पाइन्छ। भन्छन्, लेखनमा मिश्रण गर्ने मसला हैन ‘दर्शन’। मूर्ति टल्काउन दल्ने रगरोगन हैन दर्शन। दर्शन दृष्टि हो। दर्शन शैली हो, सिर्जनाको गहिराइबाट आफैं पलाउँछ।
ठूला दार्शनिकलाई हेर्दा उनलाई के पनि लाग्छ भने दर्शन चेत–चैत्यन्न हो। उनका दर्शन–दृष्टिले संसारमा तीन कुरा अजम्बरी देख्छन्– ‘भोक, भोग र सम्भोग ! यी तीन कुराले संसार बचाएको छ। यी तीन कुरा मरे भने संसार पनि मर्छ।’ 
यिनै तीन कुरा उनिएको माला हो– समभोक। उपन्यासमा यी तीन कुरालाई उपन्यासकारले जीवनको जिजीविषा, तितिक्षा र मुमुक्षासँग मन्थन गरेका छन्। उनका पात्रले मान्छेलाई शरीर, आत्मा र परमात्मासँग जोडेका छन्। 
तीन भागमा उनिएको यो उपन्यासको भोक, भोक र सम्भोगको भूमिकामा विभिन्न पात्र र चरित्रले गच्छे   अनुसार आफूलाई उतारेका छन्। उपन्यास शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।  लेखक भन्छन्, ‘समभोक’ नितान्त नूतन प्रयोग–शिल्पीमा कुँदिएको उपन्यास हो। तर मेरो दाबी अन्तिम सत्य हैन। 
‘सम्भोग’ शब्दलाई सधैं शरीरसँग मात्र जोडेर हेरियो।’ यस मानेमा बेखुस छन् उपन्यासकार। 
‘त्यही पढाइयो। त्यही बुझाइयो। ‘सम्भोग’लाई अश्लील शब्दका रूपमा राखियो। तर सम्भोगको अर्थ शरीरसँग मात्र छैन। नारी र पुरुषको शारीरिक सम्बन्धसँग मात्र छैन। त्योभन्दा बढी भावनात्मक सम्बन्धसँग छ। समानता र सह–अस्तित्वसँग छ।’ असन्तुष्टि  उपन्यासमा उतार्छन्, उनी।
शिव भन्छन्, ‘एउटा मान्छेले हजार भोक पालेको छ। मान्छेभित्र भोकले भोक उमारेको छ। मैले मान्छेभित्र यही देखे। यहीँबाट सुरु गरें उपन्यासको कथा कथ्न।’ ‘समभोक’का सम्बन्धमा उपन्यासकार शिव प्रकाशसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको संक्षिप्त कुराकानी—
उपन्यासको नामकरण ‘समभोक’ कसरी सार्थक छ ?
कारण सामान्य छ। भोक सबैमा छ। भोक सबैतिर छ। अर्थात् भोक ‘सम’ छ। सबै भोका छन् तर भोक फरक छ।
किन लेख्नु भो समभोक ? 
केही नयाँ विषयमा लेखौं भन्ने लागेको थियो। ‘करेन्टनेस’ पनि होस्। ‘कन्टेन्ट’ नयाँ होस् जुन ‘युनिभर्सल’ पनि होस्।
भोक, भोग र सम्भोगलाई नै आख्यानीकरण गर्नुपर्ने कारण पनि त होलान्।
म गलत होइन भने यो ‘युनिभर्सल कन्टेन्ट’ हो जस्तो लाग्यो। भोक, भोग र सम्भोगका विषयमा धेरै लेखिए। तर एउटै मियोमा बाँधेर आख्यानीकरण गरेको मैले पाइनँ। मूलतः नेपाली साहित्यमा। त्यसैले एउटा साहस गरेको हुँ। 
कसरी सम्भव भयो यस्तो अप्ठ्यारो विषयलाई आख्यानीकरण गर्न ?
चुनौती थियो। तर मैले नै गर्नु पनि थियो। पन्छिने पक्षमा थिइनँ। त्यो छुट म आफैंलाई दिन सक्ने अवस्थामा थिइनँ। जबसम्म जानिँदैन तबसम्म अप्ठ्यारो हुन्छ भन्ने लाग्यो। विज्ञानलाई अप्ठ्यारो मानिन्छ तर विज्ञान भनेको कुनै पनि कुरालाई प्रविधिमा लगेर सजिलो बनाउनु हो। यस्तै भोक, भोग र सम्भोगलाई मथिंगलको प्रयोगशालामा झन्डै दुई वर्ष पर्घेलें। बल्ल आख्यानको गोरेटो कोरियो। त्यसै उतारेर पाठक समक्ष राखेको छु।
उपन्यासलाई यौनवरिपरि घुमाउनु भएको हो ?
हो पनि, हैन पनि ! मान्छेको जन्म यौनबाटै भएको हो। त्यो दृश्य–दृष्टिबाट हेर्ने हो भने मान्छेका सबै सिर्जना यौन हुन्।
त्यसो भए के छ त खास ?
समभोकले बिदेसिएका नेपाली र पछाडि छोडिएका परिवारको जीवन तथा त्यो समाजको अर्को पाटो देखाउँछ। भोकले जन्माएका भोकसँग पाठकलाई हिँडाउँछ। ‘भोग’लाई पुरुषजन्य स्वाधिकारका रूपमा लिएको समाजमाथि नारी हस्तक्षेप छ। मुग्धा नारीपात्रले भन्छे, ‘वीर भोग्या बसुन्धरा ! यो वीरता र पात्रता नारीमा पनि हुन्छ।’ सम्भोगप्रति अर्की नारीपात्र सिन्धुकाको दृष्टिकोण समाजको सोचभन्दा फरक छ। धेरै माथि छ। सुवी पात्रले भोक नै जीवन हो भन्ने ठानेकी छ। 
कथा र पात्र कसरी टिप्नु भो ? 
कथा र पात्र कसरी टिप्नु भो ? 
अमेरिकामा नेपाली समाजभित्रको घामपानीलाई २३ वर्षदेखि हेरिरहेको थिएँ। हामीजस्तै अन्य कतिपय देशबाट अमेरिका छिरेका प्रवासी समाजमा पनि उस्तै घामपानी देखें। एउटा भोक मार्न अमेरिका पुगेको मान्छे अनेक भोकको सिकार भएको देखें। ती अनेक भोकमध्ये शारीरिक तथा यौनिक भोकको निराशालाग्दो चित्र पनि मेरा मनमस्तिष्कमा डुल्न थाले। ती भोकभित्रका अनेक चरित्रलाई व्यक्त गर्न अनेक पात्र सिर्जना गरें। तर यहाँ नेपाली नाउँका पात्र र स्थान अमेरिका भए पनि यो सबै प्रवासी नेपालीको कथा हो। संसारभरिका हामीजस्ता आप्रवासीको कथा हो।
यथार्थ र कल्पनाको परिकल्पना कति छ ? 
सिंगोपांगो कल्पना र स्वैरकल्पनामा उडेको उपन्यास हैन यो। समभोकलाई म ‘मेटाफिक्सन’ पनि भन्छु। यथार्थबाट उडेर कल्पना र स्वैरकल्पनामा अकासिँदै यथार्थमा आएर अवतरण हुन्छ।
पाठकसँगको अपेक्षा केही छ ?
प्रथमतः पाठकसम्म पुग्नु नै अपेक्षा हो। त्यो पूरा भयो। बाँकी, पाठक मर्जीका मालिक हुन्छन्। 
पाठक नै पुस्तकका न्यायाधीश हुन्। लेखकले स्विकार्नै पर्छ। नेपाली साहित्यको बजारमा पुरस्कार र सम्मानको होडबाजी छ। ठूलो पुरस्कार पाएपछि ठूलो लेखक बनिने मनोदशा उत्तिकै डरलाग्दो छ। 
समभोकमा छ कि छैन ?
लेखकले नबुझेको कुरा के हो भने लेखेपछि पुरस्कार प्राप्त गर्ने भोक। मेरो त्यो भोक मेटिसकेको छ। अर्थात् मैले पूरा गरिसकेको छु। र, म पुरस्कृत पनि भइसकेको छु। लाग्छ, लेख्नु आफैंमा पुरस्कृत हुनु हो। पाठकसमक्ष पुग्नु आफैंमा सम्मानित हुनु हो। लेखन जित–हारको विषय हैन। स्वान्तः सुखाय हो।
अन्नपूर्ण पोष्ट,  पुष ३०, २०७९ शनिबार 
x

Comments