स्वादिलो कथामा खँदिलो उपन्यास ‘समभोक’
'जब लेखक (पात्रका मस्तिष्कमा प्रवेश गरेर) पूर्णरूपमा अराजक हुन पाउँछ त्यतिबेला समाजको वास्तविक तस्वीर छर्लङ्गसँग आउँछ । लेखक र चिन्तक शिव प्रकाश समभोकमा पूर्णतः लेखकीय अराजक बन्दा नेपाल र अमेरिकाको भावभूमिमा केन्द्रित उपन्यास ‘समभोक’ छोटो समयमै परिचर्चाको केन्द्र बन्न पुगेको छ ।'
*****
‘भोक जन्मियो । आवाज छ । अनुहार छैन ।’
पहिलो हरफले नै तान्यो । समभोक पढ्न थालें । तान्दै गयो । पढ्दै जाँदा यस्ता कैयौं हरफ भेटें अण्डरलाइन गर्दै गएँ । भेटें ‘भोक मान्छेको योग्यता हो । भोक मान्छेको बौद्धिकता हो । बौद्धिक सम्पत्ति हो ।’
म आख्यान पढ्न मन पराउँछु । आख्यान पढ्नु जत्तिको मीठो स्वाद सायद अन्य आख्यानेतर विधामा पाउन सकिन्न । साहित्यका हरेक विधाको आ-आफ्नो स्वाद र विशिष्टता हुन्छ । आख्यानको विशिष्टता पनि यही हो । यस्तो लाग्छ, लेखक पूर्णरूपमा अराजक हुन पाउने विधा आख्यान हो ।
जब लेखक (पात्रका मस्तिष्कमा प्रवेश गरेर) पूर्णरूपमा अराजक हुन पाउँछ त्यतिबेला समाजको वास्तविक तस्वीर छर्लङ्गसँग आउँछ । लेखक र चिन्तक शिव प्रकाश समभोकमा पूर्णतः लेखकीय अराजक बन्दा नेपाल र अमेरिकाको भावभूमिमा केन्द्रित उपन्यास ‘समभोक’ छोटो समयमै परिचर्चाको केन्द्र बन्न पुगेको छ ।
शिव प्रकाश मूलतः कथाकार हुन् । यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासंग्रह प्रकाशन गरिसकेका छन् भने दुई हास्यव्यंग्य कवितासंग्रह ‘जय नेताजी’ र ‘गोलमाल’ समेत प्रकाशित भइसकेका छन् । ‘समभोक’ उनको सिर्जनात्मक हिसाबले पाँचौं कृति र पहिलो उपन्यास हो ।
केही दिनअघि उनको उपन्यास समभोक विमोचनको निमन्त्रणा प्राप्त भयो । म निम्तो मान्न प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगें । कार्यक्रमपछि मैले पनि समभोक खरिद गरें । पुस्तक घरमा ल्याएर पढ्न बसें । हरेक शीर्षकले मन तान्दै गयो । समभोक उपन्यास साहित्यिक बजारमा संख्यात्मक देखिने उपन्यासभन्दा निक्कै उम्दा लाग्यो ।
उपन्यासमा म मज्जाले तानिएँ । यो उपन्यास र मलाई जोड्ने रसायन भोक, भोग र समभोक मात्रै नभएर यसको दर्शन पनि हो ।
भाषाको पकड बेजोड छ । पात्रहरू निर्धक्कसँग आफ्नो भूमिकामा निर्बन्द छन् । यसर्थ लेखन तिक्खर छ । मानिसका अनेकौं ‘भोक’सँग गहिरिनुपर्छ । ‘भोग’सँगै तैरिनुपर्छ । ‘सम्भोग’सँगै बगिरहनुपर्छ । यसर्थ यो उपन्यास भोक, भोग र सम्भोगको त्रिवेणी भएर बगेको छ भन्दा अत्युक्ति हुँदैन ।
यो उपन्यासको मूल विषय आप्रवासीहरूको भोकसँग सम्बन्धित छ । झट्ट हेर्दा यो अमेरिकामा रहेका नेपाली आप्रवासीहरूको कथामा आधारित रहेकोजस्तो देखिए पनि यो वर्तमान वैश्विक आम आप्रवासीहरूको साझा मनोवृत्ति हो । साझा समस्या हो र साझा भोकको कोलाज हो ।
यो भोकका विभिन्न चरण, चर्तीकला र चरित्रको मनोदशा नै (समभोक उपन्यासको पृष्ठभूमि देखिएको छ । समभोकको मूल कथा विश्वको शक्तिशाली देश अमेरिकाको बोस्टनमा केन्द्रित रहेको छ । नेपाली पात्र ईशू अमेरिका पुग्छ । उसले श्रीमती सिन्धुकासहित सम्पूर्ण परिवारलाई नेपालमै छोड्नुपर्ने बाध्यता छ । अमेरिका पुगेर ईशूले चाहेर नचाहेर निक्कै पात्रहरूसँग जोडिनुपर्छ । जीवनको ठूलो भोकसँग लतारिनुपर्छ । सँगै आउने भोग र सम्भोगसँग जोडिनुपर्छ । ईशूको त्यो जैविक आवश्यकता पनि हो ।
उपन्यास तीन पोयाले कसिलोसँग निर्माण भएको देखिन्छ । ती तीन भोक, भोग र सम्भोग नै हुन् । यी तीनै पोयाले बाटिएको आप्रवासीहरूको कथा खिरिलो मात्रै छैन विषय सन्दर्भले निक्कै बलियो पनि छ ।
भोककी केन्द्रमा सुवी देखिएकी छन् भने भोगमा मुग्धा र सम्भोगमा सिन्धुका देखिएकी छन् । उनीहरूको विभिन्न मोडमा देखिने केन्द्रयी पात्र ईशूका अनेकौं अन्तरंगहरुले उपन्यासको कथा अगाडि बढेको छ ।
उपन्यासमा फूलकुमार, अँणबादुर ञमराज सुन्दास (मोते), किस्नमायाजस्ता सहायक पात्रहरूको पनि आफ्नै भोक, भोग र सम्भोगका कथा छन् । जो रोचक छन् तर ती उपन्यासको केन्द्रीय परिधिभित्र प्रविष्ट छैनन् । उनीहरूको कथा पनि पाठकीय दृष्टिकोणमा रमाइला र सुन्दर लाग्छन् ।
यस्तो लाग्छ उहाँले शब्द-शब्द तौलिएर लेखिएको उपन्यास हो समभोक । लेखकसँग लेखकीय आत्मश्लाघा पटक्कै छैन । पात्रहरू निर्वाध छन् । निर्बन्द छन् । यो उपन्यास मात्रै नभएर अप्रतिम दर्शन पनि हो ।
उनका कतिपय वाक्यहरूको भाष्य निक्कै गहिरो हुन्छन् । ‘भित्रभित्रै अनेक पीडा सहेर पनि मान्छेभित्र भोक सधैं बाँचेको छ । भोकको सीमा छैन । भोकको आयु हुँदैन । जहाँ सीमा र आयु हुँदैन, त्यो अनन्त हुन्छ ।’
‘आहा, मान्छेभन्दा जनावर कति स्वतन्त्र, कति खुसी, कति सुखी । यी जनावर पेटका भोका होलान् तर मनका भोका छैनन् ।’
‘मृत्युको अर्थ सास जानु मात्रै होइन, साहस जानु पनि हो ।’
‘भोक सर्वव्यापी छ । भोक सर्वशक्तिमान छ । भोक सर्वोपरि छ ।’
‘भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।’
यो उपन्यासका हरेक पन्नाहरूले । जीवनदर्शन बोलिरहेका छन् । दार्शनिक निबन्धको छाँटछन्द र तिख्खर स्वाद पनि पाइन्छ । हरेक वाक्यका अनेकौं अर्थहरू फोर्नुको मज्जा छ ।
शब्दको मूर्त-अमूर्त अर्थहरू बुझ्नुपर्ने हुन्छ । कतिपय लाइनमा आउने शब्दशक्तिलाई बुझ्न परिवेशको गहिरो आँकलन गर्नुपर्ने हुन्छ ।
समभोक नितान्त नयाँ विषय र फरक शैलीबाट आख्यानीकरण गरिएको पृथक स्वादको उपन्यास हो भन्ने कुरा ढुक्कसँग भन्न सकिन्छ । साहित्यको केन्द्रीय मर्म नै हरेक घटना र सन्दर्भलाई पृथक कोणबाट हेर्न सक्नु र लेख्न सक्नु हो । यसको लेखनमा मज्जाले आश्वास्वादन गर्न सकिन्छ । औपन्यासिक शिल्पका दृष्टिले उपन्यासमा सामान्यतया मूल कथा र सहायक कथा हुन्छन् । उपन्यासमा सहायक कथा पनि मूल कथासँगै अन्वित भएर आउँछन् । तर समभोक उपन्यासमा सहायक कथा न्यून छन् । यो समग्रमा मूल विषयमै फन्को मारिरहन्छ ।
नेपाली उपन्यासमा यो एक विशिष्ट प्रयोगशील उपन्यास हो भन्ने लाग्छ । उपन्यासमा हरेक पात्रहरूको बिम्बात्मक प्रस्तुति देखिन्छ ।
यसर्थ यो उपन्यास पढ्दा कहीं कतै ‘बोर’ हुँदैन । हरेक पन्नामा प्रयोग भएको दर्शन, अलंकार र शब्दशिल्पले पाठक कहींकतै कतै निराश हुनुपर्ने छैन । यौनको मनोवैज्ञानिक रसायनले पाठकलाई मज्जाले जोडन सक्नु आख्यानकार शिव प्रकाशको बलियो सौन्दर्य हो ।
‘यौन केही होइन, तर सबैथोक हो’ भन्ने पुष्टिको यथार्थ दृष्टान्त हो समभोक उपन्यास ।
यो जीवन, दर्शन र जन्मको अदृश्य शक्ति वा प्यास समभोक मात्रै नभएर सम्भोग पनि हो भन्ने खँदिलो प्रमाण हो ।
श्रीबाबु कार्की, अनलाइनखबर
२०७९ माघ २२ गते
Comments
Post a Comment
धन्यवाद यहाँलाई ।