महात्मा केसी
गोविन्द केसी पटक–पटक किन अनसन बस्छन् ?
------------------- + -------------------
महात्मा केसी
मेरो निकट मित्र नै किन नहुन् झ्याम्म हान्दिउँजस्तो लाग्छ। परमपरोकारी डा. गोविन्द केसीलाई‘अनशन केसी’ भनेर बोल्दा।
मेरो बुझाइमा ती तपस्वीलाई होच्याउने शब्द हो त्यो। आदर गर्नु पर्ने एउटा सज्जनलाई होच्याउँदा मान्छेले पाउने खुसी के हो? तर आफ्नै मित्रसामू आफूलाई होच्याएको महशुस किन गर्दैन मान्छेले ? मान्छे आफू होच्चिन्छ दोषी अरुलाई बनाएर फेरि खुसी हुन्छ । तर त्यो खुसीले फेरि आफैंलाई होच्याउँछ । आफू होच्चिएको देख्दैन।
मैले डा. गोविन्द केसीलाई तीनचार पटक भेटेपछि मान्छे के हो भन्ने प्रश्नको जवाफ पाएँ । उनले दिएनन् । उनीभित्रै खोजेँ । मेरो अनुहारमा कुँदिएका आँखाले उनलाई एक आममान्छे देखे पनि मनका आँखाले अर्कै देखे– महान् मान्छे ।
महान् मान्छे त्यही हो जो आफूलाई आममान्छे ठान्छ । जो मान्छे जन्मन्छ, मान्छे भएर बाँच्छ र मान्छे बनेर मर्न चाहन्छ।
श्रद्धा के हो ? प्रेम के हो ? कसरी पलाउँछ? डा. गोविन्द केसी स्रोत नै हुन्, मेरा लागि ।
२७ वर्ष सेवा गरे । पेन्सनको पैसाले बाँचेका छन् । त्यही पैसाले गरिब–दुःखीलाई बचाउन खोज्छन् । देशको कानुनले मार्नुलाई घोर अपराध हो भन्छ । त्यही देशको सरकारले बचाउनुलाई त्योभन्दा ठूलो अपराध ठान्छ ।
कहिल्यै डाक्टर नदेखेका आफ्नै देशभित्र देशविहीन बनेका ‘देशका टुहुरा’ जनतालाई बचाउन खोज्दा डा. गोविन्द केसी अपराधी मानिन्छन् ।
चोरका बैरी चन्द्रमा भ्रष्टका इमान्दार, दुराचारीका सदाचारी र दुष्टका ठूला शत्रु सज्जन। राज्यको शत्रु भएका छन् ती परमपरोपकारी– गरीबका डा. गोविन्द केसी । केही गर्दैनन्– दिनदुःखी गरीबको निशुल्क उपचार गर्छन् । त्यही हो उनको अपराध।
कसैसँग केही लिदैनन् । तर एउटा ‘दुष्टराज्य’मा नलिनु पनि अपराध हुन्छ । सकेसम्म सबैलाई दिन्छन् । त्यो दुष्टराज्य’मा दिनु पनि अपराध हुन्छ । परोपकार उनको धर्म हो । सेवा उनको कर्म हो । सदाचार उनको जीवनशैली हो । सत्य उनको बल हो । निष्ठा उनको प्राण हो ।
परोपकार, सेवा, सदाचार, सत्य र निष्ठा मानवीय समाजका उच्चतम् आदर्श हुन् । तर यी सबै‘दुष्टराज्य’का लागि अपराधका द्योतक बन्दा रहेछन् ।
डा. केसी त्यस्तो राज्यमा जन्मिए जहाँ परोकारलाई अपराध मानिन्छ । सत्य, निष्ठा र सदाचारलाई अपराधीका अस्त्र मानिन्छ । कर्मका विरुद्ध दुष्कर्मका डण्डा बर्सिन्छन्।
राज्यको अनुहारमा कहिल्यै नमेटिने गरी खुनखत लागेका छन् । पापका दाग बढ्दैछन् ।
कति हो कति डाक्टर छन् देशमा । तर खल्तीको पैसा खर्चेर छ महिनादेखि जुम्लामा गरीब जनताको सेवा गर्ने अरु को को छन्? कति छन् ? जनताका डाक्टर केसी काम नपाएर देशका दूर्गमतिर भौँतारिएका होइनन् ।
कुना–कन्दराका निमुखाको सेवालाई नै ‘काम–कर्म’ ठानेर एक्लोजीवनलाई भुइँ मान्छेसँग हिँडाउँदैछन् । भाँचिएका हाडजोर्नीमा मलमपट्टी लगाउँदैछन् ।
देशमा भुइँमान्छे नै भुइँमान्छे छन् । राज्यले भुइँमान्छे देख्दैन । देख्छ भने पैसाका बिटा बोक्नेहरुलाई मात्र देख्छ । सडकमा उभिएर कागजका टोपी लगाएर न्याय माग्नेलाई झन् कहिल्यै देख्दैन । नोटका गद्दीमा बसेर न्याय बेच्ने र किन्नेहरुलाई सधैं देख्छ ।
देशमा ‘लुट र लुटाऊ’ चलेको छ । राज्यले बदनाम, गुलाम र हरामहरुलाई चिन्छ । रामजस्ता सज्जन‘गोविन्द राम’हरु लाई चिन्दैन ।
उनको आफ्नै बाटो छ । कोही हिँड्दैनन् त्यो बाटोमा । डा. गोविन्द केसीले रोजेको बाटो कठिन छ । भोकैप्यासै लड्नु पर्छ त्यो बाटोमा । २३५ दिनको निराहार यात्र पूरा गरिसकेका छन् ।
डा. केसीले रोजेको त्यो बाटो कसैका लागि हैन तर सबैका लागि हो ।
सत्ताको स्वभाव स्वाँठ भैदियो भने त्यो सत्ता ‘भिजिलान्ते दर्शन’मा विश्वास गर्छ । स्वाँठ सत्ताका बज्रस्वाँठ भिजिलान्तेहरु प्रश्न गर्छन्– कसको इसारामा, कसका लागि अनशन बस्छन् गोविन्द केसी?
जसको आफ्नो कोही छैन, त्यसका सबै आफ्ना हुन्छन् । ती सन्यासी डाक्टरका आफ्ना कोही छैनन् तर सबै आफ्ना हुन् । उनी आफ्नै इसारामा सबैका लागि अनशन बस्छन् । सिंगो देशका लागि सत्याग्रह गर्छन् । राज्यको निकट कहिल्यै भएनन् । सधैं विकटका जनताका साथी भए ।
देशका दूरदराजमा रोगव्याधि फैलियो भने दबाईको भारी काँधमा हालेर सरकारभन्दा अगाडि उनी पुग्छन् । राज्यले त्यसलाई पनि अपराध नै ठान्छ । के एउटा दुष्कर्मी राज्यमा सबै सुकर्महरु अपराध हुन्छन् ?
सत्यका माध्यमबाट सत्यको खोजी गरी, सत्यमा पुगी, सत्यमा अटल रहने एक सत्याग्रही हुन् डा. गोविन्द केसी । देशका एकमात्र जिउँदा साझा सम्पत्ति ।
कसैलाई कुनै कष्ट नदिई सबै कष्ट एक्लैले सहेर सबैलाई जिताउने महायुद्ध सत्यग्रह । ‘सर्वजन हिताय’को महायज्ञ हो सत्याग्रह । स्वाँठसत्ताका बज्रस्वाँठ भिजिलान्तेलाई के थाह– सत्याग्रह के हो ?
देशका दूरदराजमा रोगव्याधि फैलियो भने दबाईको भारी काँधमा हालेर सरकारभन्दा अगाडि उनी पुग्छन् । राज्यले त्यसलाई पनि अपराध नै ठान्छ । के एउटा दुष्कर्मी राज्यमा सबै सुकर्महरु अपराध हुन्छन् ?
पैसामा घाँसपात मात्रै बिक्दैन । न्याय–निष्ठा, पद, प्रतिष्ठा र पदक पनि घाँसपात सरह पैसामा बिक्ने राज्यमा डा. गोविन्द केसीलाई यी केहीको भोक छैन । भोक छ तर सांसारिक छैन, अभौतिक छ उनको भोक । जसको कोही छैन तिनका लागि भोको बस्छन् ।
परोपकार नै उनको धर्म हो । यो मानवीय धर्मको पालना गर्न उनलाई भूगोलको सिमानाले छेक्दैन । विपद् पर्दा जहाँ पनि पुग्छन् । देशबाहिर पनि सुटुक्क जान्छन् । आत्मरति र प्रचारको दुनियाँबाट धेरै टाढा छन् ।
बिरादरी लेखक भाइमित्र राजकुमार बानियाले ‘गोविन्दगिरी’ आइकोनको परिकल्पनाभित्र गान्धीपछिका अर्का गान्धी सोच्नु डा. केसीप्रतिको उदात्त आदर हो । उनैका शब्द सापट लिएँ– ‘सबैभन्दा धेरै दिन भोकै बसेर गान्धीगिरी देखाउने अरु कोही छैनन् । उनी सिद्धान्त हैन, दृष्टान्त हुन् ।’
तै पनि मेरो मनले भन्छ– गान्धीपछिका गान्धीभन्दा ठूला गान्धी हुन् डा. गोविन्द केसी अर्थात महात्मा केसी ।
महात्मा गान्धी एक्लै लडेको थिएनन् । धेरै राजनीतिक दल र समूह थिए । गान्धी कसैका विरुद्ध लडेका थिए । गान्धीको राजनीतिक र व्यक्तिगत चरित्रमाथि धेरै प्रश्न उठे । प्रश्न उठाउनेहरु भारतीयदेखि बृटिश लेखकसम्म छन् । ‘गान्धीका नग्न इच्छा’ भनेर जेड एडम्सले एउटा मोटै किताब लेखे ।
महात्मा केसी एक्लै लड्दै छन् । उनी कसैका विरुद्ध लडेका छैनन् तर सबैका लागि लडिरहेका छन् । राजनीतिक सिद्धान्त र वादभन्दा टाढा छन् । सत्य उनको दर्शन हो । सत्याग्रह शैली ।
सत्याग्रहमा कोही कसैको हुदैन । सत्याग्रह सबैका विरुद्ध पनि हुन्छ र सबैका लागि पनि हुन्छ ।
महात्मा केसीका एक अनुयायी सञ्जीव कार्कीका हरफ सम्झिएँ । आमा क्यान्सरले थलिएर अस्पतालको शैयामा थिइन् । डा. केसी सत्याग्रहमा थिए । भन्दै थिए– ‘मेरी आमाका लागि मेरा भाइबहिनी छन् । मेरो प्राथमिकता देश हो ।’
एक युगमा सायद एक पटकमात्र जन्मन्छ एक महान् मान्छे ।
महान् मान्छे त्यही हो जो आफूलाई आममान्छे ठान्छ । सत्यका शास्वत प्रतिमूर्ति महात्मा केसीजस्तै ।
देशको विचौलिया सत्ताले चिन्न नचाहेको एक मान्छे
कसरी वाध्य बनाउँछन् डा केसीलाई पटकपटक अनशन बस्न
सुमनसँग डा. केसी
*****
को हुन् डा. केसी
डा. केसीबारे खुलापत्र- प्रधानमन्त्रीज्यू, महान् हुने कि दूर्जन?
सबैभन्दा पहिला को हुन् डा. गोविन्द केसी? परिचय, डा. केसीको जीवनदर्शन, सत्याग्रहको इतिहाससहित अनुरोध गर्छु– तपाईँको राज्यमा मानवता मर्न नदिनुस्।
को हुन् सत्याग्रही डा. गोविन्द केसी?
देश बाहिर कहाँकहाँ गए डा. केसी ?
डा. केसीको सत्याग्रहको इतिहास
कुन प्रधानमन्त्रीका पालामा कति दिन अनशन ?
प्रधानमन्त्रीज्यू, के हो सत्याग्रह ?
प्रधानमन्त्री ज्यू, के हुन् डा. केसीका माग ?
नेकपा समर्थित मित्रहरुलाई सादर अनुरोध
देशको प्रमुख दलभित्र प्रवृत्तिको विकासले भोलि त्यो दललाई कहाँ पुर्याउँछ ?
के सम्झौता भएको थियो, १५ औं अनशनमा ?
कस्तो थियो सम्झौतापछिको खुशीको दृष्य ?
किन बस्नु पर्यो, १६ औं अनशन ?
कुन कुन बुँदा तोडिए, मोडिए, फेरिए ? कुन कुन बुँदामा सम्झौता भन्दा धेरै बाहिर गयो सरकार ?
राज्यले किन चिन्न सकेन डा. केसीलाई ?
किन पूरा हुँदैनन् ती माग ?
डा. केसीप्रति किन सधैं सरकारको वक्रदृष्टि ?
डा. केसीको अनशनको बल र उपलब्धि
प्रधानमन्त्री ओलीसमक्ष केही प्रश्न
तर सम्पूर्ण मागको श्रेयको भागिदार केपी ओली !
प्रधानमन्त्रीज्यू, नचुकाउनु होस् महान् बन्ने अवसर
शुभकामना, प्रधानमन्त्री केपी ओली ज्यू !
देश टुहुरो नहोस्
'भोक थरीथरीका हुन्छन् । खाने भोक र भोक पाल्ने भोक । डा. केसीले भोक पाल्नुभएको छ ।काठमाडौं टिचिङ अस्पतालको गणेशमान सिंह भवन । तेस्रो तलाको उत्तरपूर्वी कुनाको खाली कोठा । एक सत्याग्रहीको तपोस्थल !
भोलिपल्ट बिहानै उड्नु थियो । झन्डै ४ सय ज्यान उडाउने हवाइजहाजले मेरो शरीर पनि उडाउँथ्यो तर मन त आफैंले उडाउनु पर्छ । त्यो बडेमानको हवाइजहाजभन्दा भारि भयो मन । सत्याग्रही डा. गोविन्द केसीलाई नभेटी उड्न मानेन, त्यो मन ।
मातृभूमि टेक्नेबित्तिकै उहाँलाई भेट्न गएको मनले शरीरलाई तानेर उतै लग्यो । मन र शरीरको तालमेल मिलेको थिएन तर केही लागेन, थकित शरीरको । त्यो दिन पनि गएँ ।
तेह्रौं सत्याग्रहको पाँचौं दिन । दाहिने हातमा स्लाइन पानीको निडल गाडिएको छ । सिरानीतिर अक्सिजनको सिलिन्डर ठडिएको छ । सिलिन्डरसँगै तपस्वीको शरीर लडेको छ ।
आफ्नै मनलाई सोधेँ– यो देशलाई किन चाहियो डा. गोविन्द केसी ?
जुन देशमा डन, गुन्डा, दलाल र माफिया राजनीतिक नेतृत्वको दाहिने हात बनेर खेलिरहेका छन्, चोर, डाँका, लुटेरा, हत्यारा, बलात्कारी र भ्रष्टाचारीहरु देब्रे हात बनेर चल्मलाइरहेका छन्, जुन देशमा चरी र घैंटेजस्ता डरलाग्दा अपराधी मारिँदा संसद अवरुद्ध हुन्छ, सहिद घोषणा गर्नुपर्ने माग राख्ने अपराधीका नाइके देशका शीर्ष नेता हुन्छन्, ल्यारक्याल र कृपासुर जस्ताले देशको डाडुपुन्यु चलाउँछन्–– यस्तो देशमा डा. केसीजस्ता सत्य, न्याय र निष्ठाका पुजारीको के काम ? मनले मनसँग सोधिरह्यो ।
योभन्दा दुराचारी र व्यभिचारी राजनीतिक नेतृत्व कहाँ भेटिएलान् ? योभन्दा बढी राजनीतिक पापाचार कहाँ होला ?
यस्तो दुष्ट राज्यमा डा. केसी किन जन्मिए ? जो निष्ठालाई धर्म मान्छन्, परोकारालई कर्म भन्छन्, सत्यलाई प्राण ठान्छन् । तर, यो दुष्ट राज्यमा परोपकारको के अर्थ ? धर्म र निष्ठाको के काम ? सत्यको के मूल्य ? विधि–विधान, नीति–नियम, नैतिकता, इमान्दारी र कर्तव्यपरायणताको के आवश्यकता ? जहाँ कुकर्मलाई कर्म ठानिन्छ । धर्म मानिन्छ, पुजिन्छ ।
आफ्नो कोही नभएको तर सबैलाई आफ्नो देख्ने यी परमपरोकारी यो दुर्दशा ! जसले आफ्ना लागि कहिल्यै केही खोजेन । सधैं अरुका लागि भोकभोकै लडिरेहे । भित्रभित्रै भरियो मन । मनले मनसँग साह्रै मन दुःखायो ।
डाक्टर साहेबसँग आँखा जुधे । मलिन अनुहारमा गाडिएका उनका आँखा एकछिन एकतमासले टोलाए, मेरा आँखा रसाए । एउटा सत्याग्रहीमाथि क्रूरताको त्यो पराकाष्ठा कति हेर्नु !
सत्याग्रहको अर्थ कसले बुझ्ने ? सत्यको आग्रह कसले सुन्ने ? पूर्वीय दर्शनको परमशक्ति हो, सत्याग्रह । आध्यात्मिक बल हो, सत्याग्रह । तर, गुन्डा, दलाल र माफियाको मानो खाएर बाँचेका दुष्ट नेताले कसरी बुझून् यो परम सत्यको अर्थ ?
सत्याग्रह बुझ्न मानिसमा नैतिक बल चाहिन्छ । नैतिक बल त्यसैमा हुन्छ, जसमा प्रेम, दया, करुणा र श्रद्धाभाव हुन्छ । मानिस नैतिक रूपले पूर्ण पतन भएपछि प्रेम, दया, करुणा र श्रद्धा शून्य हुन्छ । मानिसबाट पनत भएर शून्य बनेको मानिस नै राक्षस हुन्छ । यो लोकतन्त्र हो कि राक्षसतन्त्र ? मनमनै सोचिरहेँ ।
निकैबरे मानोवादमा डुबेँ, डाक्टर साहेबलाई हेरिरहेँ । मौनता साँधियो । आँखा बोले । आँखाको भाषा उहाँले बुझ्नुभो । मैले बुझेँ । तर, बुझ्नु पर्नेले कहिल्यै बुझेनन् ।
कसले गरेका होलान्, एउटा सत्याग्रहीलाई तेह्रौं पटकसम्म भोकैप्यासै लडाउने दुष्टता ? संसारका कुनै तानशाहले शायद गरेका छैनन् । देशको राजनीतिक नेतृत्व यति पतीत होला भन्ने कसले सोचेको छ ? पतनको योभन्दा अर्को नमुना संसारमा छैन भन्ने बुझ्न मेरो मनलाई गाह्रो भएन ।
राजनीतिमा लज्जाहीनताको कुनै सीमा देखिनँ । सरकारमा बसेकाले पटक–पटक सम्झौता गरे । र, हरेकपटक डा. केसीलाई धोका दिए, घात गरे । तर, यो धोका डा. केसीलाई हैन, समग्र राष्ट्रलाई भएको छ । घात डा. केसीमाथि हैन, साढे ३ करोड नेपालीमाथि भएको छ । यो धोका र घातको गहिरो महसुस डा. केसीले मात्र गर्नुभएको छ । जसले महसुस गर्छ, त्यसैलाई दुख्छ । साह्रै दुःख्छ । दुखेको डाक्टर केसीलाई हो तर घाउ राष्ट्रको हो । घाउ जनताको हो । राष्ट्र र जनताको घाउ पालेर एक्लो डाक्टर केसी कतिन्जेल बाँच्ने ? माफियाका नाइके नेता भएको राष्ट्रको घाउलाई एक्लो डा. केसीले कति मलमपट्टी गर्नु ? मनमनै प्रश्न गरेँ ।
मनमनै भनें– डा.साहेब तपाईं यस्तो देशका जनताका लागि लड्दै हुनुहुन्छ, जसले आफूलाई ‘भेडा’का रूपमा स्वीकारेका छन् ।
नेताले जनतालाई मुखले जर्नादन बनाएका छन् तर मनले भेडा ठानेका छन् । नेताका मनको बोली एउटै छ, जनता भेडा हुन् । नेताले देश मासिसकेका छन् । नेता नै भन्छन्– भेडालाई देश किन चाहियो ? गोठ चाहिन्छ । नर्कटाको बारभित्र नेता रजगज गरिरहेका छन् । भेडा पहरा बसेका छन् । देशको मृत्यु भइसकेको छ । ‘भेडा’हरू भजन गाइरहेका छन् । जनता होइन, भेडाले भरिएको देश देखेर भित्रभित्रै मनसँग मन रोयो ।
डा. साहेबको शरीर लडिरेको छ । सोचेँ, फगत काँचो शरीरमात्र हैन, त्यो शरीर । एउटा संस्कार हो, त्यो शरीर । भोकले कुँदिएको संस्कार !
तर, त्यो एउटा संस्कारको मृत्यु भइरहेको छ । बेखबर छ दुनियाँ । समाजका नांगा आँखा भारतीय सिनेनायिकाका विकिनी हेर्दै छन् । नग्नताका भोका ती आँखा नांगो तस्बिरको परख गर्दैछन् । अखबारमा जे छापिन्छ, त्यही हेर्छन्, ती आँखा । समाचारमा जे लेखिन्छ, त्यही पढ्छन् समाजका आँखा । दुर्भाग्य, मूलधारका अखबारको मृत्यु !
त्यसैदिन बिहानको एक नेपाली दैनिकको मृत्यु देखे मेरा आँखाले । अखबारको मृत्यु सत्य हो । सत्य क्रूरमात्र होइन, दुष्ट पनि हुन्छ, जोे सत्यसँग डराउँछन् ।
भोको हुनुहुन्छ डा. केसी । डा. केसीको भोक फरक छ । उहाँको भोकभित्र निष्ठाको भोक छ । न्यायको भोक छ । सदाचारको भोक छ । इमानको भोक छ । कसैलाई नलाग्ने भोक लागेको छ, उहाँलाई ।
भोक थरीथरीका हुन्छन् । खाने भोक र भोक पाल्ने भोक । डा. केसीले भोक पाल्नुभएको छ । डा. केसीले पालेको भोकको समग्र रूप हो, मानवताको भोक ! ३ करोड नेपालीका लागि एउटा नेपालीलाई मात्र लाग्ने भोक हो यो ।
भोका अरु पनि छन् । देशका नेता सबैभन्दा भोका छन् । दुष्टताको भोक ! अन्यायको भोक ! दुराचारदको भोक ! बेइमानीको भोक ! यी भोकको समग्र रूप हो, दानवताको भोक । अर्थात नेताको भोक ! जो बाँच्नका लागि खाने हैन, खानका लागि बाँचेका हुन्छन् ।
नेता भनेको रक्षक हो । मान्छे नेता भएर मान्छेकै रूपमा उभिन सक्यो भने रक्षक बन्छ । मान्छे नेता भएर मान्छेका रूपमा उभिन सकेन भने भक्षक बन्छ । देश राक्षसी राज्यमा परिणत भइसेकेको छ । नेता रक्षक नभएर भक्षक भएपछि राज्य राक्षसी हुन्छ । मनको बह मनसँग पोखेँ ।
नेतामा शक्ति भएको भए देशलाई देशजस्तो बनाउथे । बुद्धि भएको थिति र संस्कारले सजाउँथे । दुबै नभएपछि माफियाका नाइके बनेर देशप्रति दुराचार गर्छन् । राष्ट्रघात गर्छन् । राष्ट्रप्रति इमान्दार हुनु, सबैभन्दा ठूलो राष्ट्रवाद हो भन्ने कुरा भेडाहरू बुझ्दैनन् । राष्टप्रति बेइमानी गर्नु सबैभन्दा ठूलो राष्ट्रघात हो भन्ने कुरा झन् बुझ्दैनन् । बुझून् कसरी ? मान्छे भएर मान्छेको भाषा बोल्न सकेन भने त्यही मान्छे भेडो हुन्छ । जनताविहीन, भेडामय भएको छ देश ।
देख देखेर भित्रभित्रै रोयो मन । झन् कति रुँदो हो, ती तपस्वी डा. केसीको मन ! मनले मनसँग अर्को बह पोख्यो ।
भेडाहरूको देशमा एउटा तपस्वीको तपस्याको अर्थ के ? देश भेडामय भएको देखेर झन् दुःख्यो दुःखेको मन ।
डा. केसीलको भोकलाई माफियाहरू ‘पागल’ भन्छन् । ‘भेडा’हरू मजाकमा उडाउँछन् । मेडिकल कलेजका नाउँमा खोलिएका ‘कसाइखाना’लाई तीर्थस्थल मान्छन् । आफ्नै बली चढाउँछन् । खुसी हुन्छन् । भेडो र मान्छेमा फरक आफैंले देखाउँछन् ।
नेता भएर पनि मान्छे हुन सकेको भए तिनको घाँटी माफिया र भ्रष्टसँग जोडिने थिएन । देश लुटेराहरूको ‘टेरोटोरी’ हुने थिएन । मान्छेले बुझेका छन् । भेडाले बुझ्दैनन् । बुझ्ने मान्छे थोरै छन्, ज्यादै थोरै । नबुझ्ने भेडा धेरै छन्, ज्यादै धेरै । मनको बह कसलाई कह ? मनसँगै पोखेँ ।
डा. गोविन्द केसी राष्ट्रका ‘जीवित सम्पदा’ हुन् । यो सम्पदाको रक्षा कसले गर्ने ? यस्ता तपस्वीलाई मार्न खोज्नेहरूलाई भेडाहरू राष्ट्रवादी भनेर कराइरहेका छन् ।
नेपालको राजनीतिमा बिरालो र छुचुन्द्रोको जोडी बाँधिएको पनि देखियो । तर, जोडिनु र एकता हुनुमा फरक छ । पानीका फोका जोडिएजस्तो जोडिएका वाम एकतामा ‘माफिया माड’ पनि छ भन्ने कुरा भेडाहरूको बुझाइभित्र छैन ।
देशका अर्बपति सर्वहाराहरू कालोधनको चिहानमाथि सुतेका छन् । चिहानमाथि सुत्दाको त्रास उनीहरूलाई थाह छ । अनिद्रा छ । त्यो ‘एकता’ त्यही त्रासको अस्थायी निदान हो, हस्तमैथुन गरेर यौनको स्वाद मेटेजस्तो ।
मनले मनलाई अर्को प्रश्न सोध्यो– अदालतले न्याय दिने हो कि बेच्ने ?
न्याय अमूल्य हुन्छ तर न्याय दिने होइन, बेच्ने बस्तु भएछ । सिंहदरबारको आडमा एउटा ठूलो ‘वेरहाउस’ छ, जहाँबाट अमूल्य न्यायको थोक बिक्री हुँदोरहेछ । धनको रंग पनि दुईखाले हुँदोरहेछ– कालो र सेतो । कालोले मात्र किन्न सक्दो रहेछ, त्यो अमूल्य न्याय ।
मनको इच्छा थियो, डाक्टर साहेबसँगै बसौं । बाध्यतासँग मन पराजित भयो । भारि मन लिएर उडेँ । हिजो डा. साहेबको ६१ औं जन्मदिन । मनभरिको इच्छा थियो, अगाडि उभिएर शुभकामना दिऊँ तर पाइनँ ।
मनभरिको शुभकामना यहीँबाट दिएँ– डा. साहेब तपाईं बाँच्नुपर्छ नत्र देश टुहुरो हुन्छ ।
++++++++++++++++++++++++++++++++++++++++++++++
डा. केसी सत्याग्रहका १९ शृङ्खला, कहिले के–के सहमति भए ?
(शिलापत्र)
२०६७ सालमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आन्दोलन १९ दिनसम्म चर्किएको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), क्याम्पस प्रमुखलगायतका पदाधिकारीलाई अनियमिताको आरोप लागेको पनि थियो । जयराम गिरीको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।
उक्त समितिले कारबाहीका लागि सिफारिस पनि गरेको थियो । तर, कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई नै आईओएमको प्रमुख बनाउन लागेपछि डा. गोविन्द केसी रुष्ट बनेका थिए । उनले सुरुमा छलफल र वार्ता गरे । तर उनको कुरा सुनुवाइ भएन ।
राजनीतिक दलका भागवण्डामा आएका त्रिविका पदाधिकारी निजी मेडिकल कलेजकाे प्रभावमा परेर सम्बन्धन दिलाउन लागिपरे । उनको कुरा कसैले नसुनेपछि योग्य र वरिष्ठताका आधारमा डीन नियुक्तिको माग गर्दै उनकोे सत्याग्रह सुरु गरेका थिए ।
पहिलो अनशन
डा. केसी पहिलो अनशन २१ असार २०६९ मा बसेका थिए । आईओएममा वरिष्ठताका आधारमा डीन नियुक्ति गरिनुपर्ने माग राखेर उनी अनशन बसेका थिए । २४ असारमा त्रिवि कार्यकारी परिषद्ले डा. केसीको माग सम्बोधन गर्दै वरिष्ठताको सूचीमा पहिलो नम्बरमा रहेका डा. कुमुदकुमार काफ्लेलाई आईओएमको डीन नियुक्त गरेको थियो । डीन नियुक्त भएपछि डा. केसीले अनशन तोडेका थिए ।
दोस्रो अनशन
आईओएममा डा. काफ्लेले डीन भएको एक महिनामै उमेरका कारण अवकाश पाए । उनको अवकाशपछि वरिष्ठताका आधारमा डीन नियुक्त गर्न आलटाल भएपछि उनले दोस्रो पटक २७ साउन २०६९ मा अनशन सुरु गरेका थिए ।
त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता सूचीमा ३२ नम्बरमा रहेका डा. धर्मकान्त बाँस्कोटालाई डीन नियुक्त गर्यो । डा. केसीले अनशन नछाडेपछि परिषद्ले वरिष्ठताका आधारमा डा. प्रकाश सायमीलाई डीन बनायो । सायमीलाई डीन बनाएपछि उनको दोस्रो अनशन भदौ १ मा सकियो ।
तेस्रो अनशन
डा. केसीले तेस्रो अनशन २७ पुस २०७० मा सुरु गरेका थिए । डा. सायमीले राजीनामा दिएपछि वरिष्ठता मिचेर डा. शशि शर्मालाई डीन बनाएपछि डा. केसी अनशन बसेका हुन् । डीन डा. शशि शर्मालार्ई बर्खास्त गरेर वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने, आईओएमलाई छुट्टै मेडिकल विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे उच्चस्तरीय समिति गठन गर्ने, राष्ट्रिय चिकत्सा शिक्षा नीति तय गर्ने, मेडिकल कलेज सम्बन्धनमा राष्ट्रिय नीति बनाउने सहमति भएपछि डा. केसीले १० मघमा अनशन तोडेका थिए ।
चौथो अनशन
डा. केसी २५ माघ २०७० देखि ३ फागुनसम्म चौथो अनशन बसेका थिए । डा. केसीको अनशनपछि आईओएममा डा. राकेशप्रसाद श्रीवास्तव डीन र शिक्षण अस्पतालको निर्देशकमा निमित्त निर्देशक डा. ईश्वर लोहनी नियुक्त भएका थिए ।
मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रियामा अनियमितता भएको छानबिन गर्ने, आइओएमका पदाधिकारीलाई कारबाही गर्ने, आईओएमलाई स्वायत्तता दिने विषय विश्वविद्यालयको सभामा पेस गर्ने, कलेज स्थापना गर्न आवश्यक नीति बनाउने, चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनाको अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेश गर्ने र चिकित्सा शिक्षाको राष्ट्रिय नीति बनाएर मात्र थप कलेजहरूलाई सम्बन्धन दिने व्यवस्था मिलाउने सहमति भएपछि उनले अनशन तोडेका थिए ।
पाँचौँ अनशन
डा. केसीले पाँचौँ अनशन ८ चैत २०७१ देखि सुरु गरेका थिए । पाँचौँ अनशनमा केदारभक्त माथेमा आयोगको प्रतिवेदनबाट स्वास्थ्य शिक्षा नीति बनेपछि मात्र सम्बन्धन दिने र कानुन नबनेसम्म मेडिकल कलेज विस्तार नगर्ने, अनियमितता छानबिन गर्न गठित जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारबाहीका लागि अख्तियारमा पठाउने, चिकित्साशास्त्र अध्ययन संस्थान टुक्र्याउने गरी भएको सिनेटको निर्णय कार्यान्वयन नगर्ने सहमति भयो ।
चिकित्साशास्त्रसम्बन्धी आशयपत्र, सम्बन्धन, विस्तारित कार्यक्रम, योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना, सिट थपघट र शुल्क सम्बन्धमा त्रिवि, केयू र नेपाल मेडिकल काउन्सिलबाट भएका कामकारबाहीका विषयमा छानबिन गर्ने, चिकित्सा विश्वविद्यालयसम्बन्धी विधेयक तीन महिनाभित्र संसद्मा पेस गर्ने, स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, वैज्ञानिक शुल्क निर्धारण गर्ने, पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तीमा एक–एक सरकारी मेडिकल कलेज खोल्ने सहमति भएपछि १९ चैतमा डा. केसीको अनशन सकिएको थियो ।
छैटाैँ अनशन
डा. केसीले छैटाैँ अनशन ७ भदाै २०७२ देखि सुरु गरेका थिए । फेरि माथेमा आयोगको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोग गठन गर्ने, चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयहरूको सहजीकरण र अनुगमन सोही आयोगले गर्ने सहमति भएको थियो ।
कानुनको मस्यौदा बनाएर तीन महिनाभित्र संसदमा पेस गर्ने, काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ कलेजका लागि मनशायपत्र नवीकरण नगर्ने, एमबीबीएस कार्यक्रममा अधिकतम वार्षिक सिट २०७२/२०७३ को शैक्षिक सत्रमा १३५, २०७३/०७४ मा ११५ सिट र २०७४/०७५ देखि १०० सिट कायम गर्ने सहमति भएको थियो । एमबीबीएस कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ हुने र पहिलोचोटि एक वर्षमा र त्यसपछि प्रत्येक २/२ वर्षमा चिकित्सा शिक्षा आयोगले शुल्क परिवर्तन गर्न सक्ने सहमति भएको थियो ।
निजी कलेजमा स्नातकोत्तर तहमा काठमाडौं विश्वविद्यालयले लिने गरेको शुल्कसरह २३ लाख रुपैयाँ तोक्ने र स्नातकोत्तर उत्तीर्ण गरेको चिकित्सकले एक वर्ष अनिवार्य सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने, स्नातक र स्नातकोत्तर दुवै तहका लागि छात्रवृत्ति र सःशुल्क योग्यताका आधारमा भर्ना गर्ने पनि सहमति भएको थियो ।
विदेशी विद्यार्थीले राष्ट्रिय प्रवेश परीक्षा अथवा स्याट उत्तीर्ण हुनुपर्ने, चिकित्सा शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीका लागि साझा राष्ट्रिय परीक्षा उत्तीर्ण गरेपछि मात्र शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ र नेपाल मेडिकल काउन्सिलले ’इलिजिबिलिटी’ प्रमाणपत्र प्रदान गर्ने सहमति भएको थियो ।
जानकी मेडिकल कलेजका विद्यार्थीलाई तत्काल सम्बन्धित निकायले व्यवस्थापन गर्ने र सञ्चालकहरूलाई कानुनबमोजिम कारबाही गर्ने भनिएको थियो । सरकारी शिक्षण संस्थाहरूमा चिकित्साको स्नातक तहमा कम्तीमा ५० प्रतिशत सिट निःशुल्क वा पूर्ण छात्रवृत्तिमा हुने र सो संख्या क्रमशः ७५ प्रतिशत पुर्याउने सहमति भएको थियो । सरकारी र निजी मेडिकल कलेजको अनुपात क्रमशः १ः३ पुर्याउने र काठमाडौं विश्वविद्यालयको सिनेटमा प्राध्यापकहरूको आधिकारिक प्रतिनिधित्वको व्यवस्था गर्ने भनिएको थियो । सहमतिपछि डा. केसीले १९ भदौमा अनशन तोडेका थिए ।
सातौँ अनशन
डा. केसीले सातौँ अनशन २ असाेज २०७२ देखि सुरु गरेका थिए । तर उनले साे अनशन नाकान्दीका कारण १२ असोजमा फिर्ता लिएका थिए ।
आठौँ अनशन
डा. केसीले आठौँ अनशन २०७३ असार २६ देखि सुरु गरेका थिए । आठौँ अनशनमा सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट संख्यामा निःशुल्क गर्ने र क्रमशः वृद्धि गर्दै ७५ प्रतिशतसम्म पुयाउने, सबै प्रदेशमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, चिकित्सा शिक्षाको शुल्क र सिट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी आयोगले निर्धारण गरेबमोजिम हुने सहमति भयोे । यसअघिका माग पनि पूरा गर्ने सरकारले प्रतिवद्धता जनाएपछि १० साउनमा अनशन सकिएको थियो ।
नवौँ अनशन
चिकित्सा शिक्षा ऐन संसद्बाट पारित गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षाको शुल्क माथेमा कार्यदलले सुझाएअनुसार लिनुपर्ने माग राखेर डा. केसी १० असाेज २०७३ देखि अनशनमा बसेका थिए । तर दसैंका कारण डा. केसीले २२ असोजमा अनशन स्थगित गरेका थिए ।
दशौँ अनशन
डा. केसीले दशौँ अनशनमा पनि एक प्रदेशमा एक सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने र आईओएममा डीन नियुक्तिलगायतका माग राखेर २८ कात्तिक २०७३ देखि अनशनमा बसेका थिए । अनशनपछि एमबीबीएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क कायम गर्ने सरकारसँग सम्झौता भयो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३ व्यवस्थापिका संसद्समक्ष पेस भएको थियो ।
एक प्रदेशमा एक सरकारी मेडिकल कलेज स्थापना प्रक्रियाअन्तर्गत प्रदेश १ को धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ काे बर्दिवास मेडिकल कलेज, प्रदेश ३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौँ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रहने सहमति भयो । त्यसैगरी, प्रदेश ४ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य प्रदेशमा पनि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि १९ मंसिरमा उनले अनशन तोडेका थिए ।
११औँ अनशन
डा. केसीले पुरानै माग कार्यान्वन गर्न भन्दै ११औँ अनशन ९ साउन २०७४ देखि सुरु गरेका थिए । तर, प्राकृतिक विपत्तिकाे बेला अनशन बस्नु उपयुक्त नहुने कारण देखाउँदै २३ दिनमै उनले अनशन स्थगित गरेका थिए ।
१२औँ अनशन
डा. केसीले १२औँ अनशन ९ असाेज २०७४ देखि सुरु गरेका थिए । तर, दसैंका कारण ३ दिनमै अनशन स्थगित गरेका थिए । उनले १९ असाेजदेखि पुन: बस्ने गरी अनशन स्थगित गरेका थिए । उनले बर्खास्त गरिएका आयल निगमका प्रमुख गोपालबहादुर खड्कामाथि छानबिन गरेर कारबाही गनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन–अध्यापन सुरु गर्नुपर्ने, कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम अघि बढाउनुपर्ने, डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–इलाममा कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए ।
१३औँ अनशन
डा. केसी १९ असाेज २०७४ देखि १३औं अनशनमा बसेका थिए । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्न मन्त्रिपरिषद्बाट सिफारिस गर्ने, गरिबको स्वास्थ्य उपचार र विद्यार्थीहरूका लागि शिक्षा गुणस्तरीय, निःशुल्क र सर्वसुलभ गर्ने सरकारसँग सहमति भयो ।
सो क्रममा काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरणमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीका बारेमा छानबिनका लागि विशेष अदालतका पूर्वमुख्य न्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसबमोजिमको कारबाही गर्ने भनिएको थियो ।
चिकित्साशास्त्र अध्ययन संस्थानलाई थप स्वायत्तता प्रदान गर्ने, त्रिभुवन विश्वविद्यालयको सभामा प्रस्ताव पेस गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने, प्रदेश १ को धरानमा सञ्चालनमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ मा बर्दिवास महोत्तरीमा प्रस्तावित मेडिकल कलेजमा विकास गर्ने, प्रदेश ३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ४ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा रूपन्देहीमा प्रस्तावित मेडिकल कलेजलाई विकसित गर्नेे, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ६ मा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेको र प्रदेश ६ मा सुर्खेत मेडिकल कलेज स्थापनाका गर्ने, प्रदेश ७ मा गेटा मेडिकल कले स्थापना गर्ने सम्झौता भएको थियो ।
त्यस्तै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापनाको काम अगाडि बढाउने सहमति भएको थियो । सहमतिपछि डा. केसीले १ कात्तिकमा अनशन तोडेका थिए ।
१४औँ अनशन
डा. केसीले चिकित्सा शिक्षा आयोग गठन, विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा, अस्पतालको सुधारलगायतको माग राखेर २०७४ पुस २४ गते १४औँ अनशन सुरु गरेका थिए । २८ गते सरकारका तर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहरा र डा. केसीबीच चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिने सबै माग पूरा गर्ने सहमिति भएपछि अनशन सकिएको थियो ।
१५औँ अनशन
डा. केसीले १५औँ अनशन जुम्लाबाट १६ असार २०७५ देखि सुरु गरेका थिए । उनले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत स्नातक तहका विद्यार्थी भर्ना गरी पूर्वाधार र जनशक्ति कायम गर्नुपर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम अघि बढाउनुपर्ने, पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्नुपर्ने माग राखेका थिए । १५औँ अनशनमा डा. केसीलाई जुम्लाबाट जबर्जस्ती काठमाडाैं ल्याइएको थियो । सरकारले माग पूरा गर्ने सहमति गरेपछि डा. केसीले १० साउनमा अनशन तोडेका थिए ।
१६औँ अनशन
डा. कसीले १६औँ अनशन २५ पुस २०७५ देखि इलामबाट सुरु गरेका थिए । १५औँ अनशनका क्रममा १० साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न माग गर्दै अनशन बसेका थिए । केसीका सबै माग नागरिकको हितमा नभएको भन्दै विजय थापा पनि केसीविरुद्ध अनशन बसेका थिए । १६औँ अनशनमा नागरिक अगुवाहरूले अनशन तोड्न अपिल गरेपछि डा. केसी पछि हटेका थिए । २४औं दिनका दिन डा. केसीले अनशन तोडेका थिए । यो पटक सरकारसँग सम्झौता भने भएको थिएन ।
१७औँ अनशन
डा. केसीले १७औँ अनशन १८ कात्तिक २०७६ देखि डडेल्धुराबाट सुरु गरेका थिए । सम्झौता कार्यान्वयनको माग गर्दै उनी अनशन बसेका हुन् । तर भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि उनले ९ दिनका दिन अनशन तोडेका थिए ।
१८औँ अनशन
डा. केसीले दार्चुलामा २० जेठ २०७७ देखि १८औँ पटक अनशनमा बसेका थिए । गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन माग गरेका थिए । यो पटक पनि सरकारसँग वार्ता र सहमति भएको थिएन ।
१९औँ अनशन
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी १९औँ पटक अनशनमा छन् । डा. केसीले पहिलो अनशनदेखि नै उठाएका माग अहिले पनि छन् । उनले अनशन बस्न थालेको आठ वर्ष बित्यो तर सम्झौता कार्यान्वन भएको छैन । यो पटक पनि मुख्य माग पुरानै छ भने कोरोना र बयलपाटा अस्पताललाई नियमित र निःशुल्क सेवा सुनिश्चत गर्नुपर्ने माग यस पटक थप गरेका छन् ।
१९औँ पटकसम्मकाे अनशनमा काे-काे थिए सरकारकाे नेतृत्वमा ?
१) डा. बाबुराम भट्टराई–प्रधानमन्त्री
२) खिलराज रेग्मी– मन्त्रिपरिषद् अध्यक्ष
३)सुशील कोइराला– प्रधानमन्त्री
४) केपी शर्मा ओली– प्रधानमन्त्री
५) पुष्पकमल दाहाल– प्रधानमन्त्री
६) शेरबहादुर देउवा प्रधानमन्त्री
७) राजेन्द्र महतो–स्वास्थ्यमन्त्री
८) दीनानाथ शर्मा– शिक्षामन्त्री
९) विद्याधर मल्लिक–स्वास्थ्यमन्त्री
१०) माधवप्रसाद पौडेल –शिक्षामन्त्री
११) खगराज अधिकारी– स्वास्थ्यमन्त्री
१२) चित्रलेखा यादाव –शिक्षामन्त्री
१३ ) रामजनम चौधरी–स्वास्थ्यमन्त्री
१४) गिरिराजमणि पोखरेल– शिक्षामन्त्री
१५ ) गगन थापा– स्वास्थ्यमन्त्री
१६ ) धनीराम पौडेल –शिक्षामन्त्री
१७ ) दीपक बोहोरा –स्वास्थ्यमन्त्री
१८ ) गोपालमान श्रेष्ठ– शिक्षामन्त्री
१९) उपेन्द्र यादव– स्वास्थ्यमन्त्री
२०) भानुभक्त ढकाल– स्वास्थ्यमन्त्री
डा. केसी अनशनमा बस्दा सरकारमा भएका दल र नेताले वास्ता नगर्ने र प्रतिपक्षमा भएपछि केसीको अनशनमा ऐक्यवद्धता जनाउन पुग्छन् । सबै पार्टीका शीर्ष नेता प्रधानमन्त्री/मन्त्री बने । तिनै नेता प्रतिपक्षमा हुँदा डा. केसीको माग पूरा गर्न चर्को दबाब दिन्छन् । सडकमा प्रदर्शन र डा. केसीलाई भेटेरै समर्थन गर्छन् । तर, आफू सरकारमा रहेको समयमा कार्यान्वयन गर्दैनन् । यो क्रम चलिनै रहेको छ ।
०००
डा. केसीको अनशनकै कारण २०७२ सालमा शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय आयोग बनेको थियो । माथेमा आयोगले प्रतिवेदन बनाएर सरकारलाई बुझाएको चार वर्ष बित्यो तर कार्यान्वन भएको छैन । डा. केसी अझै अनशनमै छन् । डा. केसीको अनशन र सरकारलाई चार वर्षअघि बुझाएको प्रतिवेदनका विषयमा केदारभक्त माथेमासँग कुरा गरेका छौँ ।
सरकारले घुमाउने काम गर्योः माथेमा
हामीले प्रतिवेदन बुझाएको चार वर्ष बित्यो । चिकित्सा शिक्षा आयोग बन्यो, यो ठूलो उपलब्धि हो । डा. केसीकै कारण चिकित्सा शिक्षा आयोग बनेको हो । आयोगको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । योबाहेक अरु काम अगाडि बढेको देखिएन । अहिले पनि डा. केसी अनशनमा हुनुहुन्छ । कार्यान्वयन गर्न भन्दा पनि सरकारले घुमाइरहेको छ ।
काठमाठौं, चितवन, पोखराजस्ता मुख्य शहरमा मेडिकल कलेज नखोल्न सुझाव दिएका हौँ । दूरदराजका जनतालाई पनि स्वास्थ्य सेवा दिइनुपर्छ । प्रत्येक प्रदेशमा खोल्न सुझाव दिएका हौँ । हामीले बुझाएको प्रतिवेदनका आधारमा सरकारले डा. केसीसँग सम्झौता पनि गरेको हो । डा. केसीको मेडिकल कलेज बाहिर खोल्नुपर्छ भन्ने माग सरकारले मानेको पनि हो ।
नेताको नाममा छ भने तुरुन्त हुने अरु किन नहुने ? तर कार्यान्वन नगरेको देख्दा रुन मन लाग्छ । नेताहरूको नाममा छ भने तुरुन्त काम हुने, अरुको चाहिँ किन नहुने ? हामीले प्रतिवेदन बुझाएको चार वर्षमा सरकारले कहाँ के गर्यो ? एउटै मुद्दाका लागि डा. केसी लाग्नुभएको छ । अरु आफ्नो स्वार्थमा लागेका छन् । बाहिर मेडिकल कलेज खोल्ने हो भने सरकारकै लोकप्रियता बढ्छ । गरिब जनताले स्वास्थ्य सेवा पाउँछन् ।
त्रिवि र केयूले सम्बन्धन रोक्नुपर्छ
नयाँ मेडिकल कलेज खोल्नका लागि त्रिवि र केयूले नयाँ सम्बन्धन दिनु हुँदैन । यी दुवैले दिनसम्म दिएका छन् । अब हेर्न अनुगमन गर्न सक्दैनन् । छोराछोरी जन्माएर हेर्न सकिएन भने के काम ? त्यसैले धेरै सम्बन्धन दिँदा हेर्न गाह्रो हुन्छ । चिकित्सा शिक्षा मान्छेको जीवनमरणसँग जोडिएको छ । अनुगमन भएन भने राम्रो डाक्टर नर्स उत्पादन हुन सक्दैन । एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढीलाई सम्बन्धन दिनु हुँदैन ।
डा. केसीको माग जायज
डा. केसीको माग जायज छ । त्यसैले कि हाम्रो प्रतिवेदन गलत भन्नुपर्यो कि कार्यान्वयन गर्नुपर्यो । डा. केसीको माग कार्यान्वयन गर्दा सरकारलाई नै फाइदा पुग्छ । सत्याग्रह बसिरहन्छ, के गर्न सक्छ भनेर सरकार बस्नु हुँदैन । राज्य अभिभावक हो । सरकारले संवेदनशील भएर उहाँको माग पूरा गर्नुपर्छ । तत्काल समिति बनाएर काम अगाडि बढाउनुपर्छ ।
शिलापत्र, असोज १३, २०७७ दिनेश गौतम
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
.....अनि डा. केसीको आँखाबाट आँसु झर्यो
(शिलापत्र)
गोविन्द केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको हो । तपाईंजस्तो अभियन्ता देशलाई चाहिन्छ । जनआवाज उठाउनुभएको छ ।’
विश्व अहिंसा दिवसको दिन सत्याग्रही डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा भेट्न पुगेका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यसो भन्दै गर्दा डा. केसीका आँखाबाट आँसु झर्दै थिए ।
एउटा हातमा ब्यान्डेज । अर्को हातमा स्लाइनका थोपा तप्प झर्दै थियो । कलेटी परेको सुक्खा चिरचिर फुटेको ओठ । मोनिटरमा मुटुको चाल कहिले ६५, कहिले ६९, कहिले ७३ पुग्थ्यो । घरि अनुहार चिम्म पार्दा छाला र निधार खुम्चन्थ्यो । डा. केसीलाई शरीरमा भएको पीडा प्रष्टै देखिन्थ्यो । तर, डा. केसी आफ्नो दुखाइ अरुलाई सुनाउन चाहँदैनन् । १५ मिनेटपछि उनको शरीर चलमल भयो । आफैँ कोल्टे फेर्न सकेनन् । सहयोगीले उनलाई कोल्टे फर्काए ।
‘उहाँको शरीर सिथिल भएको छ । ट्वाइलेट जान पनि नसक्ने हुनुभयो । कहिलेकाहीँ बोल्नुहुन्छ,’ सहयोगी प्रितम सुवेदीले भने, ‘मेरो लागि होइन, जनताका लागि अनशन बसेको हुँ भन्नुहुन्छ । गरिब जनता उपचार नपाएर मरेका छन् । त्यसैका लागि सत्याग्रह सुरु गरेको हुँ । राजनीतिक उद्देश्य होइन ।’
फलोअपमा आएका डाक्टरले सोध्छन्, ‘तपाईंलाई कस्तो छ ?’ डा. केसी मौन बस्छन् । ठीकै भएको हात र मुन्टोले इशारा गर्छन् । बोली पनि प्रष्ट छैन । लरबरिएको मसिनो बोली सुनिँदैन । सहयोगीले नै डा. केसीलाई जानकारी गराउँछन्, ‘पिसाब कम भएको छ ।’
डा. केसीको बेडमा झुन्ड्याइएको प्लेकार्डमा लेखिएको छ, ‘दूरदराजमा मेडिकल शिक्षा खोइ ?’ यो प्रश्नको जवाफ सरकारले दिन सकेको छैन । १९औं पटक अनशन बसेको १९ दिन बित्यो तर सरकार आँखा चिम्म पारेर बसेको छ ।
‘डा. केसीलाई सरकारले पूरै इग्नोर गर्यो । राज्यले उठाउनुपर्ने कुरा डा. केसीले उठाउनुभएको छ । जनताका लागि कठिन बाटोमा डा. केसी हिँड्नु भएको हो । हामी पनि टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ डा. केसीसँगै रहेका वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले भने ।
सरकारले अहिलेसम्म वार्ताका लागि पहल नगरेको उनले बताए । ‘वार्ताका लागि कुनै पहल सरकारले गरेको छैन । डा. केसीको कुरा सरकार सुन्नै चाहँदैन,’ उनले थपे । वार्ताको पहल त परको कुरा, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले सत्याग्रहको समय नभएको टिप्पणी गरे । माग सम्बोधन गर्ने भन्दा पनि अहिले कोरोना महामारी भएकाले सत्याग्रहको समय नभएको उनले बताए ।
‘डा. केसीका धेरै माग पूरा भएका छन् । केही प्रक्रियामा छन् । केही बाँकी भए छलफलबाट पछि गर्न सकिन्छ । अहिले कोरोनाविरुद्ध लड्ने समय हो । असामन्य अवस्थामा सत्याग्रह सुहाउँदो विषय होइन,’ प्रवक्ता ज्ञवालीले भने ।
नागरिक अगुवाहरूले डा. केसीको माग पूरा गर्न सरकारलाई भनेका छन् । माइतीघर मण्डलामा दैनिकजसो शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । तर सरकार भने अहिले सत्याग्रहको समय नरहेको भन्दै वार्ताबाट पछि हटेको छ । डा. केसी माग पूरा नभएसम्म अनशन तोड्ने पक्षमा छैनन् ।
डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउन प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगाययतका नेता तथा सामाजिक अगुवा पुगेका छन् ।
शुक्रबार डा. केसीलाई भेट्न पुगेका प्रथम राष्ट्रपति डा. यादवले वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरे । ‘डा. केसीका माग जायज छन् । वार्ताबाट समाधान गर्नुपर्छ । कति अहिले पूरा गर्न सकिन्छ । कति पछि पूरा हुन्छ । डा. केसीको स्वास्थ्य जटिल भएको छ । वार्ता गर्न सरकारलाई म आग्रह गर्दछु,’ डा. यादवले भने । डा. केसीका मागका विषयमा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका पदाधिकारी बोल्न चाहँदैनन् । एउटाले अर्कोलाई, अर्कोले एउटालाई देखाएर पन्छिन्छन् ।
डा. केसीले १९ दिनअघि जुम्लाबाट अनशन सुरु गरेका थिए । जुम्लामा हिंसा हुन सक्ने भन्दै उनी काठमाडौं आएर अनशन बसेका हुन् । डा. केसीका अधिकांश माग पुरानै हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने । प्रदेश–२ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रियाअघि बढाउनुपर्ने डा. केसीको माग छ ।
पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्नुपर्ने र ठूला भ्रष्टाचार काण्डको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने डा. केसीको माग छ ।
पत्रकारलाई कडाइ
डा. केसीका सहयोगी र पत्रकारलाई त्रिवि शिक्षण अस्पताल प्रशासनले कडाइ गरेको छ । डा. केसी रहेको कोठाअगाडि नै प्रहरी राखिएको छ । पत्रकार भन्नेबित्तिकै गेटबाट भित्र छिर्न दिइँदैन । गेटमा रहेका गार्डले भने, ‘माथिको आदेश हो । पत्रकारलाई छिर्न नदिनू भनेको छ । माथि निर्देशकसँगै कुरा गर्नुहोस् ।’
हामीले प्रहरी र अस्पताल प्रशासनलाई छिचोल्दै डा. केसीलाई भेटेका थियौँ । ‘डा. केसीले आईओएमको पदाधिकारी वरिष्ठताका आधारमा हुनुपर्ने माग राख्नुभएको छ । त्यसैले प्रशासन रुष्ट बनेको हो,’ डा. केसीका एक सहयोगीले भने ।
शिलापत्र, असोज १६, २०७७ दिनेश गौतम
++++++++++++++++++++++++++++++++++++++++++
डा. केसीको समर्थनमा नाटक
डा.गोविन्द केसीको सत्याग्रहको समर्थनमा बुधबार बेलुका ललितपुरको पाटन दरबार क्षेत्रमा नाटक तथा चित्रकला प्रदर्शन भएको छ । डा केसीको सत्याग्रहको समर्थन गर्दै रंगकर्मी घिमिरे युवराजले ‘अश्लील सत्ता’ शीर्षकमा एकल प्रस्तुति दिए । सोलिडारीटि फर फर डा. गोविन्द केसी समूहले आयोजना गरेको कार्यक्रममा डा. गोविन्द केसीको ‘फिंगर प्रिन्ट’ प्रदर्शन गरिएको थियो । स्वास्थ्य क्षेत्रका विसंगतिका विरुद्ध डा केसीले जुम्लाबाट १९औँ सत्याग्रह सुरु गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७ ०१:०९