सामाजिक सञ्जालको शक्ति

'हाम्रो मस्तिष्कमा जे छ, व्यवहारमा त्यही प्रदर्शित हुन्छ। सामाजिक सञ्जाल मान्छेको मस्तिष्क घोप्टिने भाँडो पनि हो। त्यहाँ रिस, द्वेव र घृणा पनि पोखिएका हुन्छन्।'

 'समाजिक सञ्जालमा अरुलाई दिक्क लाग्ने गरी सधैं  'राम्रालुगा’ लगाएका सेल्फी र वाक्क लाग्ने गरी पार्टी, भोज–भतेर, मःमः, र मासुका फोटा राख्नुको सट्टा चेतना र सन्देकमूलक दुईचार शब्द राख्न सके ती शब्दको शक्ति बिस्तारै फैलिदै जान्छ। त्यही शक्तिले समाजलाई विस्तारै सुधार्दै, बलियो बनाउँदै लैजान्छ। '

*****

नेपालमा अचम्म भयो। सामाजिक सञ्जालमा आएको बिरोधको बाढीले कृषिमन्त्री हरि पराजुलीलाई बगायो। उनले राजीनामा दिए अरे, सामाजिक सञ्जालमै पढ्न पाइयो। 

यसरी मन्त्रीले राजीनामा दिएको नेपालको इतिहासमै सायद पहिलो घटना भएको छ। यस्तै केही दिनअघि संसदमा पेश गर्न ठीक्क पारिएको विलासी विधेयक पनि तत्कालका लागि थन्किएको छ। संसदको दैलो टेकेर फर्किएको विधेयकमा केही भूतपूर्वहरुलाई राज्यको ढुकुटीबाट अभूतपूर्व सेवा, सुविधा र सुरक्षा दिइने कुरा प्रकाशमा आएको थियो। 

एउटा संयोग– राजीनामा दिन बाध्य पराजुली एमालेको वामदेव मण्डलीको ताननीय कोटाबाट छानिएका माननीय मन्त्री थिए। विलासी विधेयकलाई पनि उनै वामदेवले अहोरात्र परिश्रम गरेर संसदको दैलोसम्म पुर्‍या‍एका थिए।  

शहरका ‘विन्दास साँढे’ जस्ता नेता र मन्त्रीलाई कानुनले छुँदैन। किनभने आठवर्षसम्म संविधान नबनाउनेले साँढेका लागि कानुन बनाएका छैनन्। तर अहिले सामाजिक सञ्जालमा छरिएका शब्दका शक्तिले छोए जस्तो देखिएको छ। 

असार पन्ध्रमा धान रोप्न गएका मन्त्रीले ‘रत्यौलीको लाटो’ नाचे जसरी महिलामाथि गरेको व्यवहार सम्बन्धित महिलाका लागि आपत्तिजनक थियो थिएन? हिलाम्मे मन्त्रीले अचेड्दा नारी अस्मितामा हिलो लाग्यो लागेन? कि त्यो ठट्टा मजाक मात्र थियो? बहसकै विषय भए पनि मन्त्री जस्तो उच्च अहोदा र सार्वजनिक पदमा बसेका मान्छेले गरेको हर्कत आफैंमा लज्जास्पद थियो। 

सामाजिक सञ्जालले कृषिमन्त्रीको हुर्मत नकाढेको भए त्यो लज्जा सायद ठट्टामा सिमित हुन्थ्यो, सकिन्थ्यो। सार्वजनिक सभामा खैनी मोलेर क्वाप्प मुखमा हाल्ने मन्त्रीले यतिसारो चर्चा पाउँदैनथे। 

त्यही सामाजिक सञ्जालमा त्यो विलासी विधेयकको त्यतिसारो बिरोध नहुँदो हो त सायद अहिले धेरै भूतपूर्वहरु आजीवन विलासी जीवनको सयल गरिरहेका हुन्थे। भुइँचालोले लडाएको देशको कुप्रिएको ढाडमा वार्षिक पचास करोडभन्दा माथिको अर्को भारी बोकाई सक्थे। 

हाम्रो दैनिकीको अंग भैसकेको सामाजिक सञ्जाल अर्थात सोसियल मिडिया मार्फत नेपालमा पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने स्पष्ट संकेत यी दुई घटनाले दिएको छ। 

विश्वमा ठूल्ठूला परिवर्तनको सम्वाहक बनेको सोसियल मिडियाले असम्भवलाई सम्भव बनाउँदै लगेको छ। 

‘अरब स्प्रिङ्’ भनेर २०१० डिसेम्बरमा सोसियल मिडियाबाट सुरु भएका शब्दको आगो केही दिनमै अरबभरी फैलियो। ट्युनिसियादेखि सिरियासम्म आइपुग्दा मोहमद वाउजीजी र होस्नी मुवारक जस्ता तानाशाहहरु ढले। अरब क्रान्तिका नाउँले चिनिने यो आन्दोलनमा सोसियल मिडियाको अनौठो र अभूतपूर्व योगदान रह्यो। 

सन् २०११ सेप्टेम्बरमा ‘अक्कुपाई वाल स्ट्रिट’ भनेर सामाजिक सञ्जालबाटै सुरु भएको आन्दोलनले संसारको ध्यान खिच्यो। सामाजिक र आर्थिक समानताको माग गर्दै सुरू गरिएको आन्दोलनले न्युयोर्कका सडकमा लाखौं मान्छेलाई उतारेको थियो। सरकारलाई कर्पोरेट पूँजिपतिका पुत्लाको संज्ञा दिदैं उठेको आन्दोलनको असर युरोपसम्म पुग्यो।

भारतमा भएको एउटा जघन्य बलत्कारको घटनालाई ‘ग्याँङ रेप इन इण्डिया २०१२’ भनेर सोसियल मिडियाले नै संसारभर चिनायो। सञ्जालमा आएको लहरले उरालेको आन्दोलनले त्यहाँको कानुन परिवर्तन गरायो। सामूहिक बलत्कारको संस्कृतिलाई अन्त्य गर्न कडाभन्दा कडा कारबाही गरिने भयो। सरकारले यौनशिक्षामा जोडो दियो।  

अमेरिकाको मेरिल्याण्ड राज्यले सन् २०१२ मा मत्युदण्डलाई हटायो। मृत्युदण्ड विरोधी केही वकिल र सरोकारवालाले राज्यलाई दवाव दिन सामाजिक सञ्जालबाटै अभियान चलाएका थिए। सफल भयो। 

सन् २०१४ मा अमेरिकाकै मिजोरीमा १८ वर्षीय अश्वेत माइकल ब्राउनलाई श्वेत प्रहरीले गोली हाने। निर्दोष माइकलको मृत्यु भयो। ग्य्राण्डजुरीले ती प्रहरीमाथि मुद्दा नचालाउने निर्णय गर्‍यो। अधिकारवादीहरुले सोसियल मिडियाको साहारा लिए। पूर्वको न्यूयोर्कदेखि पश्चिमको सियाटलसम्म कयौं दिन विरोध प्रदर्शन भयो। विरोधमा श्वेत-अश्वेत सबै मिसिए। 

सोसियल मिडियाकै माध्यमबाट रातारात सफल भएको अर्को एक अभियान हो, अल्स अर्थात आइस बकेट च्यालेन्ज। लगभग संसारभर पुगेको यो जनचेतनामूलक अभियानले गत वर्ष ६ महिनाको अवधिमा झण्डै एकसय पचास मिलियन डलर पनि जम्मा गरेको थियो। 

सोसियल मिडियाले सम्भावना र शक्ति दुबै बोकेको छ। विचार र व्यवहार परिवर्तनको वहान बनेको सामाजिक सञ्जाललाई कसरी ‘ड्राइभ’ गर्ने त्यो आफूमा निर्भर गर्छ। हामीले सामाजिक सञ्जलमा शेयरिङ्ग गरेका कुरा सूचनामूलक र अरुका लागि सहयोगी बन्न सके ती उत्प्रेरक पनि बन्छन्। असल ड्राइभरले सामाजिक सञ्जालमा सधैं उत्पेरणा जगाउने काम गरेका छन्। 

सामाजिक सञ्जालमा आएका कुरा शेयरिङ्ग किन गरिन्छ ? यसमा धेरै अध्ययनहरु भएका छन्। न्यूयोर्क टाइम्सले द साइकोलोजी अफ शेयरिङ भनेर गरेको अध्ययन अनुसार ८७ प्रतिशतले बुझ्न र अपनाउन सहयोगी हुने कुरा बताएका थिए। शेयरिङ गरेर बुझ्न र अपनाउन खोज्नेलाई सिरियस पाठक मानिएको छ।

नेगेटिभ कुरा (गाली) मात्र लेखर आफूलाई पपुलर बनाउँने खोज्नेहरुप्रति  सिरियस पाठकको रुचि नभएको कुरा पनि अध्ययनले देखाएको छ। 

तथ्यांक र प्रमाण सहित आएका कुरा नेगेटिभ भाषामा लेखिए पनि त्यसले ती पाठकमा पोजेटिभ असर पार्ने कुरा पनि देखाइएको छ। 

स्वतन्त्रपूर्वक विचार राख्ने वातावरण र माध्यम भएको कारणले नै सोसियल मिडियाको महत्व र शक्ति बढेको हो। तर त्रासलाई विश्वासले जित्न नसक्दा कतिपय हामी सामाजिक सञ्जालमा पनि स्वतान्त्रपूर्वक आफ्ना विचार राख्न र अरुका राम्रा विचार शेयर गर्न चुकेका हुन्छौं। जसले समाज र आफू स्वंयलाई क्षति पु¥याइरहेको हुन्छ। 

त्यसमाथि हामी आफूलाई राम्रो देखाउन मात्र पनि सञ्जालको प्रयोग गरिरहेका छौं, यसले वौदिक क्षमतावृद्धि र सामाजिक सुधारको सम्भावनालाई क्षीण गरिरहेको हुन्छ भन्ने तर्क पनि अध्ययनकर्ताहरुको छ। 

झूठले सत्यलाई कलकिंत गर्छ। सत्यको सामना गर्न नसक्दा मान्छेले झूठको सहारा लिन्छ। समाजिक सञ्जालमा झूठको सहारामा आफ्नो ढोँगी व्यक्तित्वको उन्नत खेती गर्नेहरु पनि धेरै छन्। 


हाम्रो मस्तिष्कमा जे छ, व्यवहारमा त्यही प्रदर्शित हुन्छ। सामाजिक सञ्जाल मान्छेको मस्तिष्क घोप्टिने भाँडो पनि हो। त्यहाँ रिस, द्वेव र घृणा पनि पोखिएका हुन्छन्। सोसियल मिडियाको यो साइड इफेक्टबाट बच्न धेरैले सामाजिक सञ्जालाई अविश्वास पनि गर्ने गरेका छन्। 

शब्दको शक्तिले मान्छेको मस्तिष्क बिउझाउँछ। सामाजिक सञ्जालले समाजमा ल्याएको चेतना र परिवर्तनलाई सोझा आँखाले हेर्दा सायद यो कुरा स्पष्ट हुन्छ।  हामी सुधार चाहन्छौं तर सुधार रातारात सम्भव छैन। सुधारका लागि हामीले हामीलाई हरेक ठाउँमा सुधारेर लानु परेको छ। सधैं आफ्नो कमजोरी लुकाएर अरुको गल्ती कोट्याउँदै आफूलाईँ राम्रो देखाउनुको सट्टा सबैले आ–आफ्नो ठाउँमा कमजोरी औंल्याउँदै जान सके सबैतिर सुधार सम्भव हुन्छ।  

समाजिक सञ्जालमा अरुलाई दिक्क लाग्ने गरी सधैं ’राम्रालुगा’ लगाएका सेल्फी र वाक्क लाग्ने गरी पार्टी, भोज–भतेर, मःमः, र मासुका फोटा राख्नुको सट्टा चेतना र सन्देकमूलक दुईचार शब्द राख्न सके ती शब्दको शक्ति बिस्तारै फैलिदै जान्छ। त्यही शक्तिले समाजलाई विस्तारै सुधार्दै, बलियो बनाउँदै लैजान्छ। 

दार्शनिक कन्फूसियसले भनेका छन्– शब्दका शक्तिको जानकारीबिना अरु बाँकी जान्न सकिदैन। शब्दमा कति शक्ति रहेछ त ? सामाजिक सञ्जाल मनोरंजनको खालमात्र हैन, शब्दास्त्रको सञ्जाल पनि हो भन्ने स्पष्ट भैसकेको छ।

 सेतोपाटी , प्रकाशित मिति: 2015-07-03 

Comments