गड्याम समय !

'तिमी भन्छौ– समयले जन्माउँछ 
म भन्छु– समयलाई जन्माउनु पर्छ  
जब निश्चेतनालाई 
चेतनाले बारम्बार बलात्कार गर्छ  
एउटा समयको जन्म हुन्छ  !'
*****

एउटा समयको मृत्यु भैसकको छ
अर्को जन्मिन बाँकी छ 

तिमी भन्छौ– समयले जन्माउँछ 
म भन्छु– समयलाई जन्माउनु पर्छ  
जब निश्चेतनालाई 
चेतनाले बारम्बार बलात्कार गर्छ  
एउटा समयको जन्म हुन्छ  !

तिमी तयार हुनुपर्छ बलात्कृत हुन
तिमी तयार हुनुपर्छ बलात्कार गर्न 
चेतना पनि तिमी हौ 
निश्चेतना पनि तिमी हौ  ! 

 तिमी नै तयार हुनुपर्छ समय जन्माउन
समयले जन्मएको हैन
सन्की आइन्सटाइन र न्युटन 
समयलाई जन्माएका हुन् 
सन्यासी बुद्ध र वयस्क विवेकानन्दहरुले 
बासी विचारहरुसँग सहवास गरेर सुतेनन्,
उन्माद चेतनाका भोका वात्स्यायन र सोक्रेटिजहरु
नित्से, कन्फुसियस, भोल्टेयर र देवकोटाहरु
एकलेक्जेन्डर, गान्धी, मार्क्स्  र मन्डेलाहरु  !

समयको अर्को टुक्रा जन्माउन
भोकसँग प्रेम गरेर बाँचिरहेका छन्–
पागल गोविन्द केसीहरू  !

जब अन्धकारलाई उज्यालोले बलात्कार गर्छ 
तब एउटा समयको जन्म हुन्छ   
जब दा भिन्चीको गाढा चेतनाले
एउटा भर्जिन क्यान्भसको अस्मिता लुट्छ
मोनालिसाका ओठमा कामुक मुस्कानको जन्म हुन्छ  
एकटुक्रा समय हो– मोनालिसा  !

जब पिकासोको उन्माद चैतन्यले फेरि बलात्कार गर्छ
समयले आँखा खोल्छ– 
यौनाङ्गमा आफ्नै आँखा उम्रिएको देख्छ
त्यहाँ समयको अर्को टुक्रा फेरि जन्मिन्छ– ब्लू पिरियड !

जब कथित मान्यताहरुको मृत अस्तित्व लुटिन्छ
त्यहाँ फेरि एउटा समयको जन्म हुन्छ  !

दिन र रात 
भोका र भोगीहरुको पाठशाला मात्र हो  
दिनको अँध्यारोमा मानिस
भोकका पाठ घोक्छन्
रातको उज्यालोमा भोगका परीक्षा दिन्छन् 
अनुत्तीर्णहरू समयलाई दोषी ठान्छन्  !

तर धरती अहिले 
समयविहीन टुहुरो बाँचेको छ   
तिमी भन्छौ– समय आउँछ
म भन्छु– समय कहिल्यै आउँदैन, सधैं जान्छ
तिमीजस्तै, तिमीसँगै गइरहन्छ 
तिमी आएका छैनौ
तर सधैं गइरहेका छौ, निरन्तर गइरहेका छौ
तिमी त्यही ‘इलुजन’को आशमा छौ
म मेरो विश्वासमा छु  !

बाह्रखरीशनिबार, भदौ १४, २०७६ 


Comments