गड्याम मान्छे !
'मान्छेको मन अनुहारमा उत्रिनु हुँदैन
उत्रियो भने यो संसारमा मान्छे बाँकी रहँदैन
देखेर हैन, बेहोरेर चिनिन्छ गड्याम मान्छे !'
*****
टाढै बस
मान्छे हुँ, म पनि !
छेऊ परे थाहा हुन्छ
काखीको गन्ध र स्वासको दुर्गन्ध !
अनुहार हैन,
मनको पोट्रेट कसले देखेको छ ?
मान्छेको मन अनुहारमा उत्रिनु हुँदैन
उत्रियो भने यो संसारमा मान्छे बाँकी रहँदैन
देखेर हैन, बेहोरेर चिनिन्छ गड्याम मान्छे !
मान्छे हुँ– त्यसैले तिम्रो मित्रु हुँ
मान्छे हुँ– त्यसैले तिम्रो शत्रु पनि हुँ
मान्छे नै हो मान्छेको परम मित्रु
मान्छे नै हो गड्याम मान्छेको परम शत्रु !
मान्छेले नै दिन्छ–
मान्छेलाई आश र विश्वास
मान्छेले नै दिन्छ–
मान्छेलाई घात र सन्त्रास
सबैभन्दा खुसी पनि मान्छेसँगै छ मान्छे
सबैभन्दा दुःखी पनि मान्छेसँगै छ गड्याम मान्छे !
मान्छे तिमी,
प्रेम गर्न सिक
घृणाको जन्म त्यहीँबाट हुन्छ
बाँकी सिक्नु पर्दैन,
प्रेमभन्दा घृणाको सम्बन्ध बलियो हुन्छ
हेरेर हैन, भोगेर चिनिन्छ गड्याम मान्छे !
थाहा छ ?
असल हुन केहीगर्नु पर्दैन, खराब मात्र नगरे हुन्छ
तर, ‘हुन’ सजिलो छैन, जति ‘देखिन’ छ
के थाहा तिमीलाई
असल देखिन गड्याम मान्छेले
कति कमसल किरिम पाउडर घसेको छ ?
राम्रो देखिन कति नराम्रा रङ्ग पोतेको छ
महान् देखिन
आफ्नै अण्डकोषको माला भिरेर हिँडे्को छ गड्याम मान्छे !
मलाई थाहा छ–
तिमीलाई असल हैन, राम्रो चाहिएको छ
त्यसैले म–
हुन चाहन्नँ देखिनमात्र चाहन्छु
कहिल्यै असल हैन, सधैं राम्रो !
जे देखिन्छ त्यो हैन,
जे देखिँदैन त्यहीहो गड्याम मान्छे !
मान्छे भित्र कुमान्छे लुकाएर
मान्छे भित्र मान्छेबिनाको मान्छे लिएर
मान्छे भित्रको मान्छे मारेर मान्छे बनेर हिँड्ने
जुन मान्छे होइन, त्यही मान्छे हो गडड्याम मान्छे !
बाह्रखरी, शनिबार, भदौ १४, २०७६
Comments
Post a Comment
धन्यवाद यहाँलाई ।