जय जय हिमाल

वादलु पर्दा, च्यातेर तिमी, देखाउँछौ त्यो रुप
मुस्कान  भरी  फुलेका  फूल  अद्भूत  स्वरुप
अल्झिए आँखा, बल्झियो मन विर्सिए मलाई
त्यो रुप हेर्ने लालसा सधैं यो मुटु  जलाई । ।

सुन्दर तिम्रा  वैभवशाली  वक्षका वाहिनी
बाँधेर बान्की चिप्लेटी खेल्ने झरना–मोहिनी
जीवन – पाखा, पखेरा भरी, रोपेर हरियाली
लेक र वेँशी, सुन्दर फाँट, उकाली ओराली । ।

शिरमा सधैं मुकुट श्वेत धर्तीको त्यो  ताज
सौन्दर्य कस्तो रहस्य जस्तो बुझिन्न् त्यो राज
धाउँछ सधैं दुधिलो  दीप्ति बोकेर  त्यो जून
आतुर  सधैं  चुमेर  रम्न  विहानी  किरण । ।

कामको कालो बोकेर माद त्यो मेघ आउँछ
ठोक्किन्छ जब, हारेर आफैं पानी भै बर्सन्छ
बहन्छ बतास उडाऊ  भन्दै मनमा  भाकेर
अटल तिमी अडिग सामू फर्कन्छ थाकेर । ।

साकार सधैं विराट दिव्य त्यो मौन तवस्वी
हे अविनाशी, सगरमाथा, धर्तीको यशश्वी
शिर भै हाँस्छौ विश्वको तिमी हे मेरो हिमाल !
देख्न र भन्न सधैं म पाउँ, जय् जय् नेपाल !

जय्  जय्  नेपाल  !  जय्  जय्  हिमाल !
जय्  जय्  हिमाल  !  जय  जय  नेपाल !

गोरखापत्र, साउन १०, २०७१ शनिवारको 

Comments