आत्मभोग (बाह्रखरी उत्कृष्ट कथा २०७६)


चम्पा शहर छिरी । गाउँले दिएको खुसी शहरले खोस्यो ! तर त्यही शहरले उसलाई अर्को खुसी दियो ।
 चम्पासँगै खुसीको रङ् पनि बदलियो ।  
*****
एउटा सुन्दर जुनेली रात । मनै सिरिरी हुने शीतल बतास । त्यो बतासको स्पर्श । आहा, त्यो क्षण ! 

झ्याल छेउको काउचमा बिन्दास पल्टेकी छ, चन्दा । बाल्कोनीतिर एकोहोरिएका छन् उसका आँखा । हावाको लयमा लय मिलाउँदै हल्लिरहेका छन् सिल्कका मुलायम पर्दा । घरीघरी उसका गालामा ठोक्किन्छन् तर झर्को मान्छे ऊ ।

नगरकोटको पहारिलो पाखामा उभिएको छ, त्यो होटल । शर्माजीको पर्खाइमा छे, चन्दा । अझै ढकमक्क छ ज्यानमा जोबन । फक्रक्क फुलेका चम्पा–चमेली जस्तै सुन्दर देखिन्छे चन्दा ।

दुबै उस्तै सुन्दर छन,् फूल र चन्दा ! तर सौन्दर्य फरक छ । फूलको स्वाभावजस्तो शालीन र सौम्य छनै, हिंस्रक छ चन्दाको सुन्दरता ! सुन्दरता नारीको शक्ति हो कि कमजोरी ? वैभव हो कि दरिद्रता ? सुन्दरता नै प्रश्न बनेको छ । 

गाउँघरमा चम्पादेवी थिई । धरैले चम्पी भन्थे । प्रेमीले चम्पू भन्थ्यो । गाउँकै ठिटो, अथाह प्रेम गथ्र्यो ।  प्रेम मौलाउँदै गयो । एकवर्षअघि विवाह पनि भयो । खुसी थिए दुबै । 

चम्पा शहर छिरी । गाउँले दिएको खुसी शहरले खोस्यो ! तर त्यही शहरले उसलाई अर्को खुसी दियो । चम्पासँगै खुसीको रङ् पनि बदलियो । 

शरहको साँगुरो बाटोले मोडलिङ्को रङ्गिन बजारमा छिरायो, चन्दालाई । कामचलाउ मोडल बनी तर काम चलाउ नै काफी भयो ।

शहरमा शर्माजीसँग भेट भो । रातारात बोइलर बढेजस्तो बढे उसका आकाङ्क्षा । हेर्दाहेर्दै गाउँकी चम्पी शहरकी चन्दा भई । पूरै बदलिई चम्पी । चम्पीले नामसँगै पात्र बदली । पात्रसँगै चरित्र बदली । स्वार्थको धमिलो नदीमा सेलाइदिई देउताजस्तो लोग्नेलाई । कामनाको कोटरीमा बसाई शर्माजीलाई । 

चम्पी फेरि अविवाहिता भई । हिजो मात्र ‘डिभोर्स’ दिई । कारण अरु केही थिएन, महिला अधिकार ! ऊ आफूलाई ठूलो महिलावादी ठान्न थालेकी थिई । अहिले एउटा ठूलै एनजीओको मालिक पनि भएकी छ ।

प्रेम प्राकृतिक मूर्खता हो उसका लागि । प्रेम गरी, विवाह गरी । तर आज उसले त्यो मूर्खतामाथि विजय प्राप्त गरेकी छ । शर्माजी उसको प्रेमीपुरुष हैन, एक प्रेमीपात्र मात्र हो । 

कीरोबाट हिरो भएको ‘मेटामोर्फेसिस’ पात्र हो, शर्माजी पनि । हिजो गाउँमा कसैको झोला बोक्थ्यो । राजधानी पसेपछि धेरैलाई उसैले झोला बोकाउन थाल्यो । 

नाउँ हो– ञप्रसाद शर्मा । 

गाउँमा प्रायःले गोरुसिंगे कुमाइँ भन्थे । कसैले गोरुसिंगे बाजे पनि भन्थे । अहिले राजधानीमा उसको राज छ । आफ्नो राजमा उसले आफूलाई ञप्रसादबाट येपी शर्मा बनाउँछ  । 

ब्याधाले हरिण बोलाएजस्तो लेघ्रो पसारेर तीर हान्न खप्पिस छे चन्दा । 

‘शर्माजी....!’ मीठो लेघ्रो तानेर बोलाउँछे । एक बोलीले नै ञप्रसादको मन छेड्छे । एकान्तमा तिमी भन्छे । अरुबेला तपाई लाउँछे । भुतुक्क हुन्छ ऊ । 

गोष्ठीको प्रमुख अतिथि बनेर गएको छ, ञप्रसाद । महिला हिंसाबिरुद्ध त्यही होटलमा गोष्ठी आयोजना गरिएको छ । आयोजक उही चन्दा ! 

गोष्ठीपछि केही कारोबारी मण्डलीसँग अल्मलिएको छ, ञप्रसाद । चन्दा कोठामा पर्खिरहेकी छ । 

यता ञप्रसाद मिटिङ छोट्याउँछ र साथीहरुसँग छुट्टिएर जान्छ । उता कोठामा चन्दासँग ठोक्किन पुग्छ । रातको चाँजोपाँजो त्यहीँ मिलाइएको छ ।

हिजोसम्म एउटा हातले पञ्चपात्रो, अर्को हातले घण्टी समाएर पूजापाठ गर्ने गाउँकी चम्पीको एउटा हातले आज स्कचको चिसो गिलास समाउँछ । अर्को हातले सिगरेट च्याप्छ । 

‘शर्माजी चियर्स !’ मुसुक्क हाँस्छे चम्पी । भुँडीमा प्याट्ट पार्छे शर्माजीलाई ।  

मन ठोक्किएजस्तै गरी गिलास ठोक्किन्छन् । दुबै मुस्कुराउँछन् । चुप्प पार्छे चन्दा । घुटक्क थुक निल्छ ञप्रसाद । आफ्नै ओठभरि हिडाउँछ, रसिलो जिब्रो । 

इम्प्रेसिभ एक्स्प्रेशन छ, चन्दामा । सिगरेटको धुँवाजस्तै बटारिन थाल्छ, ञप्रसादको मन । 

‘तर तिम्रो एउटा कुरा मलाई मन परेको छैन,’ भावभङ्खीमा सिपालु छे चन्दा । 

‘के कुरा ?’ आँखा र अनुहारमा उत्सुकताभन्दा निरसता बढी पोतिन्छ,। । खिस्रिक्क अनुहार लाएजस्तो गर्छे ञप्रसाद । 

‘नरिसाऊ है, तिम्रो भुँडी एकदम बढ्न थाल्यो यार । हेर्दै बोर लाग्ने भइसक्यो !’ फेरि भुँडीमा प्याट्ट पार्दै फिस्स हाँस्दै भन्छे, ‘खैर केही छैन ।’ जुको टाँसिएजस्तो टाँसिन्छे चन्दा । 

उस्तै एक फाँको रुखो हाँसो हास्छ, शर्माजी । तर भित्रभित्र बाउँटिन थालेको शर्माजी भुँडी छाम्दै सर्ट खोल्न थाल्छ । 

अचानक ! अचानक के हुन्छ, के हुन्छ ! नसोचेको हुन्छ । एकैछिन्मा सबै कुरा बद्लिन्छ । 

चन्दा ‘छ्या’ भन्दै चेब्य्राइँँ पार्दै हुन्छे । शर्माजी ‘ऐया ऐया’ गर्न थाल्छ । फिटीफिटी हुन्छ । पलङ्मा पल्टिन्छ, छट्पटिन्छ । बटारिन्छ । खप्नै नसक्ने गरी भुँडी दुख्न थाल्छ । 

चन्दा भुँडी सुम्सुम्याउँछे । झन् दुख्छ त्यो भुँडी । हिजोअस्तिभन्दा बढेको जस्तो पनि देखिन्छ । 

खपी नसक्नु हुन्छ । अन्योलमा पर्छे चन्दा । एम्बुलेन्स बोलाउने कुरा गर्छे तर जहीँतहीँ लैजादा इज्जतको सवाल छ । शर्माजीको घरमा श्रीमतीलाई खबर गरौं, अर्को बबाल हुन्छ । 

‘बाल्वाटार ! बाल्वाटार ... !’ शब्द पूरा गर्दैन, ऐयाऐया गर्दै बोल्छ शर्माजी । 

चन्दा बालुवाटारमा फोन लगाउँछे । शर्माजी गोष्ठीमा अचानक बिरामी परेको कुरा बताउँछे ।  

‘प्रधानमन्त्रीज्यू बाथरुममा हुनुहुन्छ,’ बालुवाटारको महाशयले मोबाइलमा फोन गर्ने सुझाव दिन्छ । प्रधानमन्त्रीको मोबाइलमा फोन गर्छे, उठ्दैन । 

शीतलनिवाससँग च्याटमा व्यस्त छ, बालुवाटार । तर एकछिनपछि कलब्याक आउँछ । त्यसको एक्कैछिनपछि सेनाको सुविधासम्पन्न एम्बुलेन्स पनि आउँछ । 

एम्बुलेन्स अस्पताल जाँदैन । सीधै एयरपोर्टतिर हुँइकिन्छ । बैंककको फ्लाइट कुरिरहेको छ । उपचारका लागि शर्माजीलाई बैंकक पठाइन्छ । सबै व्यवस्था बालुवाटारबाट एकैछिनमा मिलाइन्छ । दिल्लीभन्दा बैंककमा राम्रो उपचार हुन्छ, उतै लानू भन्ने आदेश हुन्छ । 

बैंककको नामुद अस्पतालमा भर्ना हुन्छ, शर्माजी । 

दुखाइ कम गर्न डाक्टरले दबाई दिन्छ । भौतिक, जैविक, द्रैविक सबै मीठो मानेर खाने ञप्रसाद दबाई खाने बेलामा बालख जस्तो हुन्छ । नमीठो गरी खान्छ । मुख बिगार्छ । नाक खुम्च्याउँछ ।

बल्ल घर–श्रीमती सम्झिन्छ । फोन गर्छ, ‘म पेटको उपचार गर्न बैंकक आएको छु ।’ 

‘नचाहिने कुरा’ भन्छे, हाँस्छे । फोन राखिदिन्छे । श्रीमतीलाई विश्वास लाग्दैन । दिल्लगी जस्तो लाग्छ । 

फेरि फोन गर्छ । सबै बेलीबिस्तार लाउँदै भन्छ, ‘प्रधानमन्त्रीज्यूले सीधै बैंकक पठाइदिनुभो । तिमीलाई खबर गर्न नि पाइँन । फेरि तिमी अङ्ग्रेजी नि नजान्ने आइमाई प¥यौ । अनि चन्दालाई लिएर आएँ ।’

सामान्य पढालेखा सिधासादा नारी । श्रीमान्ले जे भने नि सधैं टाउको तलमाथि गर्ने बानी परेको छ । ‘ए’ भन्छे, टाउको हल्लाउँछे । तर भलक्क उम्लिएको पानीजस्तो एकाएक उसको हाँसो उम्लिन्छ । थाम्नै सक्दिन । खितित्त गर्छे ।

‘म बिरामी भएर यत्रो टाढा आएको छु । तिमी भने खित्का छोड्दैछौ ?,’ ञप्रसाद फोनमै रिसाउँछ । 

‘रिसा’ हैन के । नाथे भुँडी दुख्या ञीँ नेपालाँ ठीक भइहाल्थो नि । किन गा’को तेत्रो टाढा ? तेस्मा हाँस्या के ! अरू कुराँ हैन ।’ झन् हाँस्छे श्रीमती । थप्छे, ‘लु छिटो बिसेक भएर आउनू ।’ 

‘उल्फाआ धन भन्या यै हो । भुँडी दुख्या दबाइ गर्न नि बैंकक !’ हाँस्दै फन्फनिंदै फोन बिसाउँछे । 

ञप्रसादको उपचार सुरु हुन्छ । विशेषज्ञले हेर्छन् । केही फेला पर्दैन । 

पेट बढ्दो छ । कहिले हाँडीजस्तो सारो–अररो हुन्छ । कहिले कुहिएको कुभिण्डोजस्तो गिलो हुन्छ । खान अरुचि केही छैन । भोक झन् बढेको छ । दिनको दश पटक खाना खान्छ, दश पटक पाइखाना जान्छ । 

दिसा पनि कहिले पखाला लागेजस्तो छ, कहिले गोटा, कहिले साधारण । दिसाको रंग पनि कहिले हरियो छ, कहिले सेतो, कहिले पहेँलो, कहिले नीलो, कहिले कालो र कहिले फुस्रो । कहिले माटोजस्तो, कहिले खियाजस्तो । कहिले पानीजस्तो, कहिले फोहरको नलजस्तो, कहिले ढलजस्तो । प्रत्येकपल्ट फरक फरक, कस्तो कस्तो !

छक्क पर्छन् डाक्टर । दिसापिसाब, थुकखकार, रगत जाँचिन्छ । अत्याधुनिक मिसिनमा एक्सरे गरिन्छ ।

रिपोर्ट आउँछ तर अचम्मको !  आजसम्म त्यस्तो रिपोर्ट कसैको आएको छैन । के हो, के हो ? कुनै डाक्टरले पढ्न सक्दैन । एउटै रिपोर्टमा सबैथोक मिसिएर आएको छ । कसैले केही बुझ्दैनन् । 

अस्पतालका वरिष्ठ चिकित्सकहरू जम्मा हुन्छन् । रिपोर्ट हेर्छन्, गुगल गर्छन्, छलफल गर्छन् । हातलाग्यो शून्य । अनेक प्रयास गर्दा पनि नभएपछि डाक्टरहरु नै डराउँछन् । यो अचम्मको रोग आफूलाई नै सर्ने हो कि भन्ठान्छन् । हार मान्छन् । 

चन्दा पनि छक्क पर्छे । डाक्टरलाई सोध्छे, ‘के रोग हो यो ?’ 

‘नेपाली रोग !’ डाक्टरले रोगको न्वारान गरिदिन्छन् । उपचार यहाँ हँुदैन भन्दै  सिंगापुर लैजाने सल्लाह दिन्छन् । 

बालुवाटारमा खबर गरिन्छ । बालुवाटारले सिंगापुरको व्यवस्था मिलाइदिन्छ । सिंगापुरमा पनि परीक्षण सुरु हुन्छ । चन्दाले सबै रिपोर्ट देखाउँछे । डाक्टरहरू मुसुक्क हाँस्छन् । 

‘रोगको नाम पनि नेपाली हुन्छ ?’ खिसी गर्दै विशेषज्ञ डाक्टर बोल्छ, ‘तैपनि हामी रोग पत्ता लगाएर निको पार्छौ । ढुक्क हुनुस् ।’

अझ अत्याधुनिक र प्रविधिसम्पन्न छ सिंगापुरको अस्पताल । उपचार सुरु हुन्छ । उसै गरी दिसापिसाव, रगत, खकार, सिँगान सबै जाँचिन्छ । 

शर्माजीको भुँडी घटेको छैन । बरु नजानिदो पाराले बढ्दो छ । खाना र पाइखाना उस्तै छ । दिनको दश पटक खाना, दश पटक पाइखाना । दिसा उस्तै छ, पटकैपिच्छे रङ्ग फरक ! 

शर्माजी अर्थात ञप्रसाद ! बेलाबेलामा चन्दातिर हेर्छ । हात सुम्सुम्याउँछ । होटलको त्यो कोठा सम्झिन्छ, अस्पतालको यो कोठामा आँखा घुमाउँछ । फेरी घुटुक्क थुक निल्छ, बस्छ । 

रिपोर्ट आउँछ । तर उस्तै बैंककको जस्तै । के हो, के हो ? कसैले बुझ्दैन । फेरि प्रयास गरिन्छ । सबै प्रक्रिया दोहो¥याइन्छ । फेरि पनि रिपोर्ट उस्तै आउँछ । 

सिंगापुरे डाक्टर पनि डराउँछन् । रोग र डर उस्तै हुन्छ । संक्रमणमा आफ्नै देश पर्ने त हैन ? अनेक प्रश्न उठ्छन् । अन्ततः उपचारका लागि जापान लाने सल्लाह दिन्छन् । 

ञप्रसादलाई लिएर जापान पुग्छे चन्दा । देशका ञप्रसादहरूप्रति साह्रै उदार छ बालुवाटार । राम र हुनुमानको साइनो छ, बालुवाटार र ञप्रसादहरूको ।  

बालुवाटारकै पहलमा जापानको सबैभन्दा अत्याधुनिक अस्पतालमा भर्ना हुन्छ ञप्रसाद । 

ञप्रसाद पनि ढुक्क हुन्छ । बिसेक भएपछि नगरकोटको अधुरो सपना नागासाकीको समुद्रतटमा पूरा गर्ने कल्पनामा हराउँछ एकछिन । चन्दाको पुष्ट जिउडालमा आँखा डुलाउँछ । फेरि घुटुक्क थुक निल्छ । अस्पतालको बेडमा छ, ¥याल काढ्नु र घुट्घुट् निल्नुबाहेक केही छैन । 

प्रविधिका पारखी जापानी डाक्टरहरू रोग पत्ता लगाएरै छोड्ने निधोमा पुग्छन् । 

अझ नयाँ प्रविधिका उपकरण प्रयोग गरेर रोगबारे अनुसन्धान थाल्छन् । गोडाका औंलादेखि टाउकोसम्मको एक्सरे गरिन्छ । दिसापिसाव, थुक, खकार, रगत सबै फेरि जाँचिन्छ । किसिम किसिमका ल्याबटेष्ट हुन्छन् । महिनौं लाग्छ । 

एउटा गरिब देशको नेपालीको एकथान शरीर । त्यो शरीरले पालेको त्यो ‘स्टे«न्ज’ रोग । जापानी डाक्टरहरूका लागि चुनौती भएको छ ।

तर उत्साही छन् जापानका जाँगरिला डाक्टरहरु । देशभरिका विशेषज्ञहरूको टोली ञप्रसादको रोगको जाँच–उपचारमा संलग्न छन् । सफल हुनेमा विश्वस्त छन् । रिपोर्ट आउँछ । हेर्छन् । सबै उस्तै हुन्छन् मूर्तिवत्, स्तब्ध ! 

रिपोर्ट उस्तै आउँछ, थाइल्याण्ड र सिंगापुरकै जस्तो !

जापानी डाक्टर पनि हार मान्छन् । हारसँगै उनीहरु पनि डराउँछन् । कतै जापानमा यो रोगको संक्रमण भयो भने कसरी बचाउने ? आफू कसरी बच्ने ? जतिसक्दो छिटो डिस्चार्ज गर्ने निधो गर्छन् । अमेरिका लैजान सल्लाह दिन्छन् । 

बालुवाटारले रातारात अमेरिकाको बन्दोबस्त मिलाउँछ । विचित्र चरित्रको ञप्रसाद झन् विचित्र रोग बोकेर अमेरिका पुग्छ । चन्दा उत्साहित छे । 

बोस्टनको विश्वविख्यात अस्पतालमा उपचार सुरु हुन्छ । चन्दाले डाक्टरलाई सबै रिपोर्ट दिन्छे तर उनीहरू ती कुनै हेर्दैनन् । 

अनौठा छन् अमेरिकी आँखा ! ती आँखाले अरुलाई देख्दै देख्दैनन् । देखे पनि सानु देख्छन् । अमेरिकी बुद्धि, विवेक र व्यवहार पनि आँखा अनुसार चल्छ । नेपालबाट आएको ञप्रसादलाई झुसिल्कीरो ठान्छन् । सात दिनमा निको पारेर पुतली बनाएर पठाइदिने ठोकुवा गर्छन् ।  

जाँच सुरु हुन्छ । सबै जाँच गरिसकेपछि ल्याब रिपोर्ट आउँछ । 

रिपोर्ट हेर्न हारभर्ड, स्ट्यानफोर्ड, येल, प्रिन्सटन, सिकागो, कोलम्बिया र क्यालिफोर्निया जस्ता विश्वविख्यात युनिभर्सिटीका डाक्टर, प्रोफेसर र अनुसन्धाता बोस्टनमा जम्मा हुन्छन् । रिपोर्ट देखेर ती पनि छक्क पर्छन् तर सबै खुसी हुन्छन् । 

रिपोर्ट त्यही हो– जुन रिपोर्ट देखेर थाई, सिंगापुरे र जापानी डाक्टर दुःखी भएका थिए तर अमेरिकी डाक्टर खुसी भए । रिपोर्ट उस्तै थियो तर अमेरिकी डाक्टरले त्यसलाई चुनौतीका रुपमा लिए । त्यो चुनौतीलाई अवसरका रुपमा स्विकार्छन् । त्यो अवसरलाई अमेरिकाको प्रतिष्ठा ठान्छन् । संसारसामु आफूलाई अब्बल देखाउने सुनौलो मौका मान्छन् । 

केहीमा कमजोर छैन भन्ने अमेरिकी मनोविज्ञान बलियो छ ।  मेडिकल विज्ञानमा कोहीभन्दा कमजोर छैन भन्ने देखाउन चाहन्छन् अमेरिकी डाक्टर । संसारका मालिक हांै भन्ने अहम्ले उत्प्रेरित छन् उनीहरू । त्यसमाथि एउटा जिउँदो मानव–शरीर प्रयोगशालाका रुपमा सित्तै प्राप्त भएको छ । झन् उत्साहित छन् चिर्न र फोर्न ।

ञप्रसादका शरीरमा अनेक प्रयोग र अनुसन्धान सुरु हुन थाल्छ । 

सूक्ष्म अध्ययनहरु हुन्छन् । विभिन्न कोणबाट जाँच गरिन्छ  । अत्याधुनिक विधि–प्रविधि लगाइन्छ । अनेक केमिकल प्र्रयोग गरिन्छ । ठूल्ठूला अनुसन्धान संस्थाका खोजकर्ताहरू सामेल भएका छन् । सयांै ल्याबटेस्ट हुन्छन् । 

तर ञप्रसादको रोग बीसको उन्नाइस भएन । बरु एक्काइस भयो । भँुडीको आकार बढेको बढेकै छ । खाना र पाइखाना उही छ– दिनको दश पटक !

लामो समयपछि रिपोर्ट आयो । डाक्टर र अनुसन्धानकर्ताको मिटिङ बस्यो । रिपोर्ट सार्वजनिक गर्ने निर्णय भयो । 

यो पनि अमेरिकी अहम् र प्रतिष्ठासँग जोडिएको विषय बन्यो । 

रोग र अनुसन्धानबारे ह्वाइटहाउसमा रिपोर्टिङ भयो । ब्रिफिङ भयो । हावाजस्तै सोच्दै नसोची तर हावाभन्दा छिटो चल्ने अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरे, ‘अमेरिकाले मेडिकल साइन्समा ‘ब्रेक थ्रू’ गर्दैछ । हाम्रो सफलताले संसार चकित हुनेछ !’ 

ट्वीटसँगै संसारका मिडिया सल्बलाउन थाले । अमेरिकी मिडियामा ‘ब्रेकिङ् न्यूज’ को अर्को श्रृङ्खला सुरु भयो । डाक्टरहरूले रिपोट हेर्न थाले । सबै चकित भए, प्रतिक्रियाविहीन । कोही बोलेनन् । निक्कै बेर बोलेनन् । 

बाह्र वर्षपछि खोलो फर्किएजस्तो बाह्र–बाइस खोज–जाँचपछि बल्ल अमेरिकी डाक्टरको बुद्धि फर्कियो । पुराना सबै रिपोर्ट पल्टाएर हेरे । झन् छक्क परे । 

बैंकक, सिंगापुर र जापानको रिपोर्टमा जे थियो, उनीहरुको रिपोर्टमा डिट्टो त्यही छ । उस्तै रंगीविरङ्गी छ, त्यो रिपोटै । उस्तै छन्, सबै संकेत र चिन्ह । 

के हो, के हो ? कसैले केही बुझ्दैनन् । हार मात्र स्विकार्दैनन् तर भित्रभित्रै लज्जाबोध पनि गर्छन् अमेरिकी डाक्टर । 

राष्ट्रपतिको ट्वीटले मिडिया–मार्केट पिटिसकेको छ । नेपालीको रोग ‘भोक्स पोपुली’ भएको छ, अमेरिकी मिडियामा । छिनमै जम्मा हुन्छन् धेरै मिडिया । धमाधम ब्रेकिङ्–न्यूज आइरहेका छन् । रोगको व्यापक चर्चा हुन थालेको छ । भाइरल बन्दैछ, ञप्रसाद । संसारभर उत्सुकता बढेको छ । 

प्रेस कन्फरेन्सको आयोजना हुन्छ । सबै रिपोर्टहरू ठूल्ठूला स्क्रिनमा देखाइन्छ । ठूल्ठूला मिडिया, रेडियो, टिभी र अनलाइन पोर्टलहरूले लाइभ गरेका छन् । फोकस ञप्रसादतिर छ । नेपालमा पनि हल्लाको बाढी फैलिसकेको छ । फेसबुक र ट्वीटरमा ‘ञप्रसाद ह्यासट्याग’ सुरु भैसकेको छ । 

नेपालको नाम संसारभर फैलाएको भनेर ञप्रसादलाई देशको सपूत घोषणा गर्ने धेरै निस्किसकेका छन् । खुसियालीमा दीपावली गर्ने कार्यक्रम बनिसकेको छ । 

तर, रिपोर्ट कसैले पढ्न सक्दैन । ञप्रसादलाई के रोग लागेको हो, कसैले भन्न सक्दैन । रोगबारे अमेरिकी अनुसन्धाता र डाक्टरहरूलाई अनेक प्रश्न सोधिन्छ, उत्तर कसैसँग छैन । 

सारा अमेरिका चिन्तित हुन थालेको छ । रोगको संक्रमणले सबै एउटै चिहान हुने हो कि भन्ने त्रासको आगोले अमेरिकीलाई पनि जलाउन थालेको छ । रोगीलाई फिर्ता पठाएर अमेरिकी जनता बचाउन आह्वान गर्न थालिएको छ । 

‘अमेरिकाले पनि नसकेको अब कसले सक्छ ?’ यस्ता अनेक प्रश्नको बाढीमा बग्न थाल्छन् मान्छे । संसार त्रसित हुन थालको छ, कोलाहल मच्चाउँछ ञप्रसादको रोगले ।

यो विष्मयकारी रोगले सारा संसारको प्रविधि र विज्ञानलाई चुनौती दिन्छ । गरिब देशको एउटा मान्छेको रोग पत्ता लगाउन नसक्ने अमेरिकी शिक्षा र क्षमताप्रति अनेक प्रश्न गरिन्छ । ती प्रश्नले अमेरिकी अहमलाई चुनौती दिन्छन् ।

डाक्टरमाथि दबाब बढ्छ ।

रिपोर्टका बारेमा ह्वाइटहाउसमा फेरि रिपोर्टिङ् हुन्छ, ब्रिफिङ हुन्छ । 

राष्ट्रपतिले फेरि ट्वीट गर्छन्, ‘एन इलिएन डिजिज फ्रम निपल !’ नेपाललाई निपल उच्चारण गर्छन्  राष्ट्रपति । 

झन् ठूलो हेडलाइन बन्छ यो ट्वीट । मिडियामा अमेरिकी राष्ट्रपतिसँगै ञप्रसादको न्याउरो अनुहार देखिन्छ । नेपालको नाम संसारभर फैलन्छ तर नामसँगै बदनामी पनि सुरु हुन्छ । नेपालीलाई संसारका अन्य सबै देश भ्रमण गर्न रोक लगाउनु पर्ने माग बढ्न थाल्छ । 

मानौं अब आकाश खस्न लागेको छ । सिंगो संसारलाई नेपालको डरले निल्छ थालेको छ । संसारभरिका मिडिया ञप्रसादमय भएका छन् । 

राष्ट्रपतिको ट्वीटसँगै अमेरिकी डाक्टरहरूले सहयोगका लागि अपील गर्छन् । रिपोर्ट बुझ्ने कोही भए पुरस्कृत गरिने घोषणा पनि गरिन्छ । 

अधिकांश अन्धविश्वासी अमेरिकीहरू मानिससँग देउता रिसाएको भन्छन् । देउताले यमदूतका रुपमा एउटा नेपालीलाई अमेरिका पठाएको ठान्छन् । फेसबुक–ट्वीटरमा त्रासको बाढी झन् उर्लन्छ ।  

स्क्रिनमा एकपछि अर्को रिपोर्ट आइरहेका छन् । हेर्ने संसार छ, बुझ्ने कोही छैन । हेर्दाहेर्दै अर्को आश्चर्य  हुन्छ । 

एउटा मान्छे टेलिभिजन स्क्रिन भएतिर जान्छ । करीव ६५ जतिको छ ऊ । बाक्लो पावरदार चस्मा लगाएको छ । स्क्रिनमा प्ले भइरहेका रिपोर्टमा निक्कैबेर हेर्छ । ञप्रसाद छेउमा छ । एकछिन् ऊतिर हेर्छ । मुसुक्क  हाँस्छ । 

एकछिनपछि भीडतिर हेर्छ । फेरि मुसुक्क हाँस्छ । सबै छक्क पर्छन् । 

नजिकैको माइक्रोफोन हातमा लिन्छ । वरिपरि स्याउँस्याउँती चल्मलाएका टिभी क्यामेरा ऊतिर तेर्सिन्छन् । ‘के हो ? के हो ? किन ?’ भीडबाट आवाज आउँछ ।  

त्यो मान्छे रिपोर्टतिर देखाउँदै भन्छ, ‘यो रोगको उपचार अमेरिकामा हुन सक्दैन, नेपालमै हुन्छ !’

धेरैलाई पत्याउनु कि नपत्याउनु हुन्छ । कतिले उसलाई ‘क्रेजी म्यान’ भन्छन् । कतिले ‘स्टुपिड’ पनि भन्छन् । मिडियाले अर्को ब्रेकिङ न्यूज दिन्छन् । 

रिपोर्टमा देखिएका विभिन्न चिन्ह र संकेततिर देखाउँदै भन्छ, ‘डलर, पाउण्ड, यान, डिरम, रियाल आदि ... ।’ 

सबैमा उत्सुकता बढ्छ । रिपोर्टमा ती चिन्ह र संकेत कम्प्युटरको काप्चाजस्तो एकमाथि अर्को खप्टिएर, मिसिएर आएका छन् । बल्ल केहीले ठम्याउन थाल्छन् । 

रिपोर्टमा देखिएका रङ्गीविरङ्गी धब्बा–धर्कातिर देखाउँदै ऊ भन्छ, ‘यी धर्सा र धब्बाका रङ र आकारले जल, मल, ढल, माटो, बाटो, ढुङ्गा, इँटा, बालुवा, नदी, पुल, बन, जङ्गल, मठ, मन्दिर, पाटी, पौवा, तेल, मोविल, पेट्रोल, डिजेल, मोटर, कम्प्युटर, जहाज, सुन, नून, इमान, जमान, सपथ, धर्म, निष्ठा निलेको संकेत गर्छन् । 

‘ जे खायो, जति खायो त्यही आएको छ रिपोर्टमा ।  ञप्रसादले यी सबै खाएकाले यस्तो रिपोर्ट आएको हो ।’ 

अमेरिकी डाक्टर मुखामुख गर्छन् । सबै छक्क पर्छन् । मिडियाको उत्सुकता झन् बढेको छ । नेपालका बारेमा ब्रेकिङ् न्यूज धमाधम आइरहेको छ । कतिले नेपालमा गरीबी र भोकमरी बढेकोले त्यहाँका नेता समेत माटोढुङ्गा खाएर बाँचेको समाचार दिन्छन् । संसार छक्क पर्छ । 

ञप्रसादसँग अनेक प्रश्न सोधिन्छ तर केही बोल्दैन । पटकपटक सोधिन्छ, बोल्दै बोल्दैन । बालुवाटारबाट आदेश आइसकेको छ, ‘केही नबोल्नू, तुरुन्त नेपाल फर्कनू ।’ 

त्यो मान्छे ञप्रसादको छेउमा जान्छ । मुसुक्क हाँस्छ । कानमा मुख जोड्दै खुसुक्क भन्छ– तपाइँ त नेपालको ठूलो नेता हुनुहुदो रहेछ, हैन ? 


विचित्र नाम र रोगधारी ञप्रसाद सहमतिमा टाउको हल्लाउँछ । तर आश्चर्यचकित हुन्छ, ‘कसरी थाह पायो यसले ?’

ञप्रसादको रिपोर्ट र रोगका बारेमा जान्ने  त्यो मान्छे पनि अरु कोही हुदैन, बोस्टनकै एउटा साधारण अस्पतालमा काम गर्ने ल्याब असिस्टेन्ट हुन्छ । नेपालमा धेरै वर्ष ल्याब टेक्निसियन भएर रिटायर्ड हुने बेलामा डिभी परेर अमेरिका गएको एक नेपाली । नाउँ हो– सत्तेमान । 

रोग त पत्ता लाग्यो तर नाम छैन । मिडियातिर मुख फर्काउँदै सत्तेमानले भन्छ, ‘आत्मभोग !’

मिडियाकर्मीले अर्थ सोध्छन् । 

‘सबैथोक खानेले आफूलाई पनि खान्छ । त्यसैलाई आत्मभोगी भनिन्छ ।’ सत्तेमान त्यहीँबाट काममा हिड्छ । 

ञप्रसाद अब नेपाल फर्किनुछ तर साथी छैन !

सँगै आएकी चम्पीले हप्ता दिनमै एउटा गाँठवाल एनआरएनलाई डिभोर्स गराउँछे र आफ्नो ठाउँ बनाउँछे । अमेरिकाको मादक दुनियाँमा हराउँछे चम्पी । नारी अधिकारका बारेमा अमेरिकाबाट फेसबुकमा स्ट्याटस् लेख्छे, ‘नारी स्वतन्त्रताको अनुभव अमेरिकामा मात्र गर्न पाइन्छ ।’

ञप्रसाद फेरि बालुवाटरमा सम्पर्क गर्छ । बालुवाटारले रातारात सबै व्यवस्था मिलाउँछ । श्रीमतीलाई अमेरिका पठाइदिन्छ । ञप्रसाद नेपाल फर्किन्छ । 

संसारका ठूल्ठूला मिडियामा समाचार आइरहन्छ । प्रायः समाचारको शीर्षक छ– आत्मभोग !


(नोट– बाह्रखरी उत्कृष्ट कथा २०७६ मा पुरस्कृत ।) 



Comments