लेखन-कलामा रक्सीको कमाल !

के रक्सीले शक्तिशाली भ्रमको गहिरो अनुभूति दिन्छ ? के छ त रक्सीमा ? किन कोही लेखक पिएर लेख्छन् र नोबेल, पुलिट्जरजस्ता पुरस्कार पड्काउँछ ? अनि किन कोही भने उत्ताना टाङ्ग लाएर सुत्छन् ? 
*****

यो पनि एक अनुमान हो- लेखकहरू प्राय एक्लो हुन्छन्, त्यसैले पिउँछन् । प्रसिद्ध लेखक विलियम फल्कनरको भनाइ छ, 'म प्रायशः राति लेख्छु । सधैं मेरो ह्विस्की हातले भेट्ने ठाउँमा राख्छु ।

' यी अमेरिकी लेखकले नामी जँड्याहाको 'सामाजिक उपाधि' पाएका थिए । सन् १९४९ को नोबेल र सन् १९५५ र १९६३ -मरणोपरान्त) पुलिट्जर पाएका यिनले 'युद्ध र रक्सीका लागि मान्छे कहिल्यै गरिब हुँदैन' भनेका थिए । जीवनमा आउने प्रेसरबाट उम्किन उनले रक्सीको सहारा लिएका थिए रे ! हर्ट एट्याक्टबाट उनको मृत्यु भएको थियो ।
नपिई लेख्नै नसक्ने लेखकहरू धेरै रहेछन् । नेपाली साहित्यमा पनि रक्सीको प्रभाव प्रशस्त छ । भनिन्छ- हरिभक्त कटुवाल जब पिउँथे, लेख्न थाल्थे अनि फूलजस्ता उनका सुन्दर सिर्जनाहरूमा वासना भरिन थाल्थे । भूपी शेरचनका कवितालाई पनि सोमरसको महकले अझ शक्तिशाली बनाउँथ्यो रे ! आख्यान पुरुष ध्रुवचन्द्र गौतमका आख्यानसँगै सोमरसको बखान पनि गर्छन जानकारहरू । गायक र कलाका अरू विधाका प्रतिभाको चर्चामा पनि रक्सी जोडिएर आउने गरेको छ ।
चर्चित अमेरिकी गायक प|mान्क सिनात्रा भन्छन्, 'रक्सी मान्छेको सबैभन्दा ठूलो दुश्मन हुन सक्छ तर बाइबलले त प्रेमलाई दुश्मन भनेको छ ।' अमेरिकी लेखिका क्याथरिन एपलगेट भने प्रेम नै रक्सी हो भन्छिन् । लेखिका डोरथी पार्कर पनि रक्सीको राम्रो पारखी मान्छिन् । उनी लेखनलाई मस्तिष्कको शल्यक्रिया भन्छिन् । लेखन र रक्सीका बारेमा उनको भनाइ यस्तो छ, 'मस्तिष्कको शल्यक्रियाभन्दा बरु एक बोटल पाए हुन्थ्यो ।' सन् १९२५ का नोबेल विजेता विख्यात आइरिस लेखक जर्ज बर्नाड शाको भनाइ भने फरक छ, 'एक चेतनाशून्य आवश्यकता हो रक्सी ।' शेक्सपियर पनि रक्सीलाई टाढै राख्थे । उनी भन्थे, 'मेरो मस्तिष्क चोर्न म त्यो चोरलाई मेरो मुखमा पस्न दिन्नँ ।'
सामान्यतया धेरै र दिनहुँजसो रक्सी पिउनेलाई जँड्याहा भनिन्छ । किन हुन्छन् त लेखक जँड्याहा ? के चेतनाशून्य भएर लेख्नका लागि पिउँछन् त लेखकले ? कि दार्शनिक लेखक बेन्जामिन प|mयांक्लिनले भनेजस्तो 'वाइनमा बुद्धि छ, बियरमा स्वतन्त्रता छ, त्यही बुद्धि र स्वतन्त्रताका लागि पिउँछन् ?'
रक्सी पिउनु खराबी हो तर पिएर लेख्नु खराबी हो कि हैन ? 'नशामा लेख, शान्त भएको बेला सम्पादन गर,' लेखनको असल साथी रक्सी नै हो भन्ठाने अर्नेस्ट हेमिग्वे -१८९९-१९६१) यसै भन्ने गर्थे । पिएर लेख्ने भएको हुँदा उनी मद्यपान ग्रन्थकारिताको पर्याय बनेका थिए । धेरैजसो पियक्कड लेखकले अकाल, मृत्यु, शंकास्पद मृत्यु तथा आत्महत्याजस्ता मृत्युहरू वरण गरेको पनि पाइन्छ । एकसठ्ठी वर्षको उमेरमा हेमिङ्वेले आफैंले आफैंलाई उडाए । यिनको मृत्युलाई 'क्वाइट डेलिविरेट्ली' भनिएको छ ।
सन् १९४० को पुलित्जर विजेता पुस्तक 'द ग्रेप्स अफ वार्थ' का लेखक जोन स्टेनवेक्सले त्यसको २२ वर्षपछि नोबेल पनि पाए । उनी पनि कम्तीका पियक्कड थिएनन् । उनी भन्थे, 'म हिंसात्मक ढंगले बाँचेको छु । कि धेरै पिउँछु, कि धेरै खान्छु, कि कहिले खाँदै खान्नँ । यसैमा खुसी छु ।' छपटक बिहे गरेर नौ सन्तानका पिता बनेका लेखक नोरमान मेलर -१९२३-२००७) को पनि रक्सी पि्रय थियो । उनी भन्थे, 'रक्सीले मेरो मस्तिष्कका धेरै सेलहरूलाई मारिसकेको छ । मेरो विचारमा त्योबिना नै म राम्रो लेखक हुन सक्छु ।' सन् १९८० र १९९६ को पुलिट्जर पोल्टामा पार्ने लेखक धेरै रक्सी पिए पनि धेरै वर्ष बाँचे । नोबेलपछिको सम्मानित पुरस्कार पुलिट्जरलाई सगौरव बहिष्कार गर्ने लेखक सिन्क्लेयर लेविस -१८८५-१९५१) पनि औंलामा गनिने पियक्कड लेखकमा थिए । सन् १९३० को नोबेल पुरस्कार विजेता यी लेखकको मृत्यु रक्सीकै कारणले भएको थियो । रक्सीको लत छुटाउन उनका डाक्टरले मृत्यु वा रक्सी एउटा रोज्न दिए । उनले रक्सी छोड्न सकेनन् ।
नाटककार टेनेसी विलियम -१९११-१९८३) जसले सन् १९४८ र १९५५ मा गरि दुईपटक पुलिट्जर पाएका थिए । उनले 'मृत्यु एउटा बाटो हो भने रक्सी अर्को' भनेका थिए । मृत्यु र रक्सीमा अन्तरसम्बन्ध देख्छन् यी स्रष्टा । आत्महत्याजस्तै एउटा अस्वाभाविक मृत्युवरण गरेका यी लेखकको 'क्याट अन अ हट टिन रुफ' ज्यादै चर्चित किताब हो । 'भगवान्को स्वर र स्वरूप पनि बियरजस्तै कोमल, पूर्ण र खैरो छ,' भन्ने अमेरिकी लेखिका एन सेक्सटनका लागि पनि लेखनसँगै बियर र सिगरेट पि्रय थिए । छोटो आयु भएकी उनी छोटै समयमा राम्रो लेखेर चर्चित पनि भएकी थिइन् । सन् १९६७ को पुलिट्जर जितेकी यिनले आत्महत्या गरेकी थिइन् ।
'द ग्रेट ग्याट्स्वी !' ले १९३० मा अमेरिकी साहित्य बजारमा तहल्का मचाएको थियो । यो पुस्तकका रक्सीप्रेमी लेखक एफ स्कट फिटजेरल्डको चौवालीस वर्षमै चोला उठ्यो । उनले भनेका थिए, 'पहिले तिमी रक्सी लिन्छौ, त्यसपछि रक्सीले रक्सी लिन्छ र त्यसपछि रक्सीले तिमीलाई लिन्छ ।' अर्का नामी पियक्कड लेखक हन्टर थम्पसन -१९३७-२००५) लाई गोन्जोको जनक भनिन्छ । गोन्जो, अर्थात् पत्रकारिताको एक विधा । यिनले १९७० मा गोन्जो जर्नालिजम जन्माए । यिनले हाइस्कुलको शिक्षा पनि पूरा गरेका थिएनन् । उनको मृत्युलाई 'सेल्फ इम्पिक्टेड' अर्थात् आत्महत्या नै भनिएको छ ।
प्रश्न उब्जिएको छ, मर्ने गरि नै किन पिउछन् त लेखकहरू ? निश्चय नै लेखन एक कठिन कार्य हो । लेख्ने समयमा त्यो लेखकले लेख्नेभन्दा अरू केही गर्न सक्दैन । लेखनमा सबैभन्दा महत्त्वपूूर्ण मनको एकाग्रता नै हो । लेखनका समयमा लेखकले एकाग्रताका बाटाहरू व्यायाम, योग, गाँजा, च्याउ, अफिमको प्रयोग गर्न नसक्ने हुनाले पनि रक्सीको प्रयोग सहयोगी भएको कुरा ग्रेटवाल रोयल अस्पताल, ग्रेट बि्रटेनका मनोविज्ञ डा. लेइन स्मिथले बताएका छन् । कतिपय लेखक मनले लेख्छु भन्छन् मस्तिष्कले लेख्न सक्दैनन् । यस्तै बेलामा लेखक नितान्त एक्लो हुन्छ । उसलाई साथी चाहिन्छ । धेरै लेखकको लेखनको त्यो साथी हुन्छ रक्सी । भुक्तभोगी लेखकहरूको भनाइ पनि यस्तै रहेको छ । लेखनको बाटोलाई डिप्रेसनले नछेकोस् भनेर पनि कति लेखकहरूले पिउने गरेको अनुमान गरिन्छ । धेरैजसो लेखकहरूको जीवनसँग डिप्रेसन जोडिएको पनि पाइएको छ । डिप्रेसनका सिकार भएका लेखकका लागि अल्कोहल एक हतियार भएको छ- बाँच्नका लागि र आफूले आफूलाई मार्नका लागि । लेखकहरू समस्या, विषयवस्तुसँग एकदम नजिक हुन्छन् । उनीहरूका लेखनमा ती सबैले तनावपूर्ण तरिकाले 'डिल' गरिरहेका हुन्छन् । पिउनुको एक कारण यो पनि हो भन्ने विज्ञहरू पनि छन् ।

रक्सीले शक्तिशाली भ्रमको गहिरो अनुभूति दिन्छ ? भनिन्छ । के छ त रक्सीमा ? किन कोही लेखक पिएर लेख्छन् र नोबेल, पुलिट्जरजस्ता पुरस्कार पड्काउँछ ? अनि किन कोही भने उत्ताना टाङ्ग लाएर सुत्छन् ? यो प्रश्नले अझै उत्तर खोजिरहेको छ । 

कान्तिपुर कोसेली, पुस ५, २०७०

Comments