मातृभूमि चाहिंदैन भन्नेलाई

 'बिहेबारी गरेर हिँडेपछि मातापिता चाहिँदैन भन्नु र विदेश बस्न थालेपछि मातृभूमि चाहिँदैन भन्नु एकै हो । जुनसुकै बेला चाहिन सक्छ, मातृभूमि । समय सधैं एकनास हुँदैन । भोलि के हुन्छ कसलाई के थाहा ?'

*****



‘हामीले नेपालको नागरिकता त्यागिसक्यौं । छोराछोरीले पनि त्यागिसके । यहीँ हुर्किए, बढे, पढे । अब सधैं यहीँ बस्छन् । हामी पनि यहीँ बस्छौं । यहाँको सुखसुविधा छोडेर को जान्छ नेपाल ? जहाँ बस्यो त्यहीँ हो हाम्रो देश । अब किन चाहियो नेपाल ? ’

एक व्यक्ति, जो झन्डै बीस वर्षदेखि अमेरिका बसेका छन्, उनले भनेका कुरा हुन् यी । उनका कुराले मभित्र निकै ठूलो भुइँचालो ल्यायो । धेरैअगाडि लेखेको एउटा गीत सम्झिएँ-

छामी हेर आफ्नै छाती, त्यहीँभित्र हुन्छ देश ।
सिमानामा मात्र हैन, भावनामा पनि हुन्छ देश

हामी नेपाली अथवा नेपाली मूलका मान्छे अहिले अमेरिकालगायत मूलतः युरोप, क्यानडा र अस्ट्रेलियामा मात्रै बीस लाखभन्दा बढी छौं होला ! यीमध्ये यस्तो सोचाइ राख्ने कति होलाऔं !प्रश्नले प्रश्न उब्जायो । मनमनै लाग्यो, यो सोचको आयतन पक्कै कम सानो छैन । यो एक आमप्रश्न पनि हुनसक्छ !
नेपाल फर्किनैपर्छ भन्ने छैन तर ‘अब हामीलाई नेपाल किन चाहियो ? ’ भन्ने प्रश्न अहम् लाग्यो । हुन त सहती रूपमा हेर्दा प्रश्न नाजायज पनि हैन ।
लाग्छ, बिहेबारी गरेर हिँडेपछि मातापिता चाहिँदैन भन्नु र विदेश बस्न थालेपछि मातृभूमि चाहिँदैन भन्नु एकै हो । जुनसुकै बेला चाहिन सक्छ, मातृभूमि । समय सधैं एकनास हुँदैन । भोलि के हुन्छ कसलाई के थाहा ? कसले देखेको छ ? कसले जानेको छ ?
‘मातृभूमि नेपाल’ हाम्रो मूलघर हो । थाँत-थलो हो । रस्ती-बस्ती हो । जहाँ पुर्खाको इतिहास हुन्छ । आमा-बाको आर्जन हुन्छ, बसोबास हुन्छ । सुख हुँदा नसम्झे नि दुःख पर्दा बिर्सन नसकिने देवता हुन् आमा-बा । तिनै देवताको मन्दिर हो, मातृभूमि । हामी जहाँ बसौं, भावनामा पनि बाँच्नुपर्छ देश ।

आज हामी विदेशको सुखसुविधामा रमाएका होलाऊँ । शान्तिसुरक्षा होला तर भोलि फरक हुनसक्छ । त्यति बेला चाहिनसक्छ, त्यो देश । वर्ष, १० वर्ष, ५० वर्ष, सय वर्ष वा हजार वर्षपछि चाहिनसक्छ । आफूलाई नचाहिए पनि सन्तान-दरसन्तानलाई चाहिन सक्छ । स्वजनता र मानवताका नाता र कारणले पनि चाहिन सक्छ, मातृभूमि ।
के सोचेका थिए होलान् त्यो देशबाट नेपाली मूलका ती भुटानी नागरिकले त्यसरी एकाएक खेदिनुपर्छ भनेर ? भुटानमा नेपाली मूलका नागरिक बस्न थालेको झन्डै चार सय वर्षको इतिहास छ । कसरी रातारात खेदिनु प¥यो यति लामो इतिहास बोकेको त्यो समुदायले ? कहाँबाट कसरी आए खराब दिन ?
विस्थापित हुन बाध्य भएपछि कसले आ श्रय दियो उनीहरूलाई ? तीनतिरबाट भुटान घेरेर बसेको पहिलो छिमेकी भारतले ती शरणार्थीलाई आफ्नो भूमिमा एकरात बस्न त हैन ‘पानी पिउन र पिसाब फेर्न’समेत दिएन । ट्रकमा खाँदेर रातारात मेची किनारमा खँदार्‍यो । बन्दुकका नाल तेस्र्याएर मेची कटायो । त्यही मेचीका जिउँदा आँखा साक्षी छन्,
अन्ततः तिनको आ श्रयस्थल नेपाल भयो । नेपाल पितापुर्खाको थाँतथलो थियो । नेपालसँग ती भुटानी शरणार्थीको पुख्र्यौली नाता थियो । नेपाल नहुँदो हो त कहाँ जाँदा हुन् ती शरणार्थी ? परिवारसहित टिष्टामा हामफाल्नुभन्दा अर्को उपाय नहुन सक्थ्यो !
भारतले एक रात पनि शरण नदिँदा संसारको कुन मुलुक बोल्यो ? खै शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघको सन् १९५१ महासन्धि र सन् १९७६ प्रोटोकलको पालना ? सानो भएर हैन, सामथ्र्य नभएर नेपाल हेपिएको हो । नेपालभन्दा सयौं गुना सानो ‘भ्याटिकनको एउटा झिँगो’ मरियोस् त संसारमा ‘हंगामा’ हुन्छ ।
असम, मेघालय, मणिपुरमा नेपाली मूलका बासिन्दाको इतिहास झन्डै दुई सय वर्ष लामो छ । अहिले पनि बेलाबेलामा त्यहाँबाट ती नागरिकालाई नांगेझार पारेर लखेट्ने गरिन्छ । विगतमा जस्तै धेरैजसो तिनले नेपालमै आ श्रय लिने गरेका छन् । नेपाललाई नै आफ्नो संरक्षक ठानेका छन् ।
वर्षौंदेखि असमबाट विस्थापित भएर नेपालमा आ श्रय लिनेको संख्या पनि कम छैन । राजनीतिक कारणले मात्र असममा लगभग सात प्रतिशत नेपाली खेदिएको बताइएको छ ।
नेपाली मूलका नेपालीभाषीलाई मणिपुरबाट लखेटिन थालेको पनि धेरै भइसकेको छ । एक तथ्यांकअनुसार सन् १९७८ देखि १९८३ भित्रमा मात्र झन्डै ४० हजार नेपाली मूलका नागरिक मणिपुरबाट विस्थापित हुन बाध्य भए ।
गत वर्षमात्र मणिपुर राज्य सरकारले नेपालीभाषीलाई लक्षित गरेर नागरिकतासम्बन्धी आईएलपी (इनर लाइन परमिट) विधेयक पारित गरेको छ । हजारौं नेपालीलाई विस्थापित गराउने योजनाबमोजिम तर्जुमा गरिएको त्यो विधेयक कार्यान्वयमा ल्याउन जोड दिइरहेका छन् ।
भोलिको त्रास लिएर बसेका छन् त्यहाँ नेपाली मूलका नागरिक । मणिपुरका अनेकौं उग्रवादी संगठन र व्यक्तिका पनि तारो बन्दै आएका छन् ती नागरिक । भोलि विस्थापित हुनु पर्‍यो भने धेरैको आ श्रयस्थल फेरि पनि नेपाल नै हुन्छ । कारण त्यही हो, नेपालसँगको पैतृक सम्बन्ध । नेपालसँगको स्वजनता र मानवताको नाता । त्यही सम्बन्ध र नाताका कारण नेपालका व्यक्तिविशेष र सम्बन्धीले पनि आ श्रय र सहयोग गर्ने गरेका छन् ।
लगायत युरोपमा यहुदीहरूले बसोबास गर्न थालेको तीन हजार वर्षभन्दा लामो इतिहास थियो । यति लामो इतिहास बोकेको एउटा ठूलो समुदाय सम्पूर्ण युरोपबाट एकाएक कसरी लखेटिन बाध्य भयो ? कहाँबाट कसरी हिटलरको उदय भयो ? कसरी जिउँदै पुरिए लाखौंलाख यहुदी हिटलरले खनेका चिहानमा ? कसरी मारिए लाखौंलाख यहुदी हिटलरको ग्यास च्याम्बरमा ?
हिटलरको उदयसँगै सारा युरोपभरिबाट हजारौं वर्षपछि हजारौंहजार यहुदी हजारौं माइल टाढा रेहेको जेरुसेलम खोज्दै जान बाध्य भए । भोकैनांगै रातारात हिँडेर जेरुसेलम पुगे । पितापुर्खाको थाँतथलो जेरुसेलममा शरण लिएर ज्यान बचाए ।
संसारका जुनसुकै ठाउँमा जतिसुकै बेला हिटलरहरू जन्मिन सक्छन् । त्यति बेला जोसुकैले यहुदीको नियति भोग्नुपर्ने हुन सक्छ । त्यति बेला कहाँ जाने ?
अमेरिकाकै कुरा गर्ने हो भने कसले जानेको छ यहाँको भोलि ? नियम, कानुन र सरकार भनेको मानुन्जेल हो, मान्छेले मान्न छोडेपछि यिनको केही लाग्दैन । परिस्थिति नियन्त्रणभन्दा बाहिर जान्छ । निकम्मा हुन्छन् सबै ।
यसपटकको राष्ट्रपतिका एक बलिया उम्मेदवार डोनाल्ड ट्रम्पको उदयसँगै अमेरिकी राजनीति नयाँ मोडमा मात्र पुगेको छैन, एउटा कठिन मोडमा उभिएको छ । भोलि के हुन्छ भन्ने त्रासको बादल अमेरिकी आकाशमा मडारिँदै छ ।
डोनाल्ड ट्रम्पले आप्रवासीका बारेमा बोलेका कठोर शब्दलाई सतही रूपमा बेवास्ता गर्नु भूल हुनसक्छ । ती शब्द ट्रम्पका मुखबाट निस्किए तर लाखौं कन्जरभेटिम अमेरिकीभित्र गुम्सिएर बसेको आगोको धुवाँको मुस्लोका रूपमा निस्किएका शब्द हुन् ती । मुखमात्र उनको हो, शब्द अमेरिकीहरूकै हुन् । यसको पुष्टि उनको यहाँसम्मको यात्राले नै गरेको छ ।
वास्तवमा महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिको उम्मेद्वार चयन हुनु नै ट्रम्पका लागि वियजी हुनुजस्तो भएको छ । कहिल्यै रिपब्लिकनलाई मतदान नगर्ने कयौं मतदाता यसपटक ट्रम्पलाई मतदान गर्ने मुडमा छन् । कारण, आप्रवासीप्रति उनको नीति । उनी आप्रवासीप्रति जति कठोर हुँदै आए, अमेरिकाभित्र उनको लोकप्रियता उति चुलिँदै आयो ।
आप्रवासीलाई हेर्ने कठोर दृष्टिकोणले अब अमेरिकी राजनीतिको केन्द्रमा खुल्लमखुला प्रवेश गरेको छ । भोलि पनि यो विषय उठ्नेछ र झन् पेचिलो बन्दै जानेछ । काला र गोरा जातिबीचको विभेदको खाडल झन् फराकिलो हुँदै जाने सम्भावना बढ्दैछ । त्यति बेला हाम्रो पक्षमा बोल्ने को ? रक्षा गर्ने को ? त्यसमाथि हाम्रो समुदाय सानो । प्रायशः सानो नै सबैभन्दा पहिला किचिने, पिल्सिने र मासिने हुन्छ ।
आप्रवासीबारे युरोपलगायतका कयौं विकसित मुलुकहरू कठोर बन्दै गएको बेला अमेरिकीहरू झन् कठोर बन्दैछन् । आप्रवासीले आफ्नो भाग खोसेको, आफ्नो पारि श्रमिकबाट काटेर उनीहरूलाई पाल्नु परेको, निःशुल्क औषधि उपचार र आवासको व्यवस्था गर्नु परेको, अपराध बढेकोजस्ता कुरा अहिले सहतमा आइसकेका छन् । यस्ता विचारले अमेरिकी राजनीतिको मूलधारमा प्रवेश पाइसकेको छ । बहसका विषय भएका छन् ।
‘फ्रिडम एन्ड अप्परच्युनिटी’ अमेरिकी ड्रिम हो । हालै एक अध्ययनले लेखेको छ, ‘आप्रवासीका कारणले अमेरिकाका लागि अब यो ड्रिम खतरनाक ड्रिम हुनेछ ।’
यसै पनि संसारको सबैभन्दा अशान्त मुलुक बन्ने खतरा पनि अमेरिकामा त्यत्तिकै बढ्दैछ । आज नहोला, भोलि नहोला तर कालान्तरमा यहाँ बस्न नसक्ने अवस्था आयो भने कहाँ जाने हामी ? कहाँ जाने हाम्रा सन्तती ? कसले दिन्छ शरण र सुरक्षा ?
हामीसँग यस्ता विषयमा मनग्गे चिन्तन गर्ने चाहना पनि छैन र समय पनि छैन । भए पनि त्यो समय जमघट र फेसबुके देखावटी समाजसेवामा खर्च गर्छौं । राजनीतिका ठूल्ठूला डिङ मार्छौं । हातमा गिलास लिएर रातरातभर राष्ट्र निर्माण गर्छौं । नेतालाई गाली गर्छौं । भ्रष्ट भन्छौं तर तिनै भ्रष्टलाई अमेरिका भ्रमणको निम्तो दिन्छौं । टिकट खर्च दिन्छौं । पाकेट खर्च दिन्छौं । तिनैको पाउपूजनमा अपनत्वलाई विसर्जन गरिदिन्छौं । नेपालको नागरिकता त्यागेर पनि नेपालकै घृणित राजनीतिक तिकडममा सहभागी हुन्छौं ।
विदेश बस्ने हामीले आफूलाई सुधार्न आफ्नैविरुद्ध लड्न नसक्नुको परिणाम हो, यो । नदीले स्वच्छता बचाउन र प्राणीले निष्ठाको बाटो हिँड्न कठिन हुन्छ । पतनको बाटोजस्तो छोटो र सजिलो छैन, निष्ठाको बाटो । चन्दन लगाउँदैमा चरित्र शुद्ध हुँदैन । सत्य र निष्ठाको शपथ खाँदैमा हुने भए नैतिक शून्यताको घृणास्पद प्रतिमान बन्ने थिएनन् नेताहरू । सिंहदरबार छिरेर कलंकित र पतीत नहुने छँदै छैनन् भन्दा पनि हुन्छ । कथित नेतृत्वको ‘कोर भ्यालु’ समाप्त भइसकेको छ तर विदेशमा समेत तिनै नेताको जयजयकार गर्छौं ।
त्यस्ता नेता, हाम्राजस्ता सायद संसारमै छैनन्, जो जति पनि तल गिर्न सक्छन् । मान्छे, मर्नकै लागि बाँच्नुपर्छ तर बाँच्नका लागि बारम्बार मर्नु हुँदैन, हाम्रा नेता र धेरै सांसदहरूजस्तो । मार्क ट्वाइनले त्यसै भनेका हैनन्, ‘नेता र डाइपर परिवर्तन गर्नैपर्छ, दुवैको कारण एउटै हो ।’ तर अझै हामी ती दुर्गन्धित डाइपर फेर्न तयार भएका छैनौं ।
यिनैका कारणले देश अहं, कलंक र लोभको सिकार भएको छ । अविवेकपूर्ण राजनीतिक यात्राको क्रूर यातना भोगिरहेको छ, देशले । संकटमा छ देश, बचाउनुपर्छ ।
देश बाँच्नका लागि विवेकशील समाज निर्माण जरुरी हुन्छ । विवेकशील समाजका लागि राष्ट्र सभ्य र समुन्नत हुनुपर्छ । पापाचार र दुराचारबाट मुक्त राष्ट्रमात्र सभ्य र समुन्नत बन्नसक्छ । सभ्य र समुन्नत राष्ट्रमात्र बाँच्न सक्छ ।
हामी विदेश बस्नेले आफ्ना लागि नभए पनि सन्तान दरसन्तानका लागि पनि मातृभूमिको रक्षा गर्नुपर्छ । जहाँबाट जसले सकिन्छ, मनसा, वाचा, कर्मणा मातृभूमिको रक्षाका लागि सकेको गर्न जरुरी छ । देश बाँचेमात्र हामी विदेश बस्नेका लागि ‘म नेपाली हुँ’ भन्ने वाक्य बाँचिरहन्छ ।
निष्ठा नै हो नैतिक बल र साहसको स्रोत तर त्यो नै पतनोन्मुख छ ।
अन्नपूर्ण पोष्ट, ११ भदौ २०७३,  मातृभूमि चाहिंदैन भन्नेलाई...

Comments