रतिरहस्य (के छ कामसूत्रमा ?- १)

'जे सोचिएको छ, त्योभन्दा धेरै बढी जे सोचिएको छैन, त्यही हो कामसूत्र ! जे भ्रम छ, त्यो भ्रमको विपरीत सबैभन्दा बढी जे हुन्छ, त्यही हो– कामसूत्र ! वात्स्यायनको पहिलो वाक्य हो–  ‘धर्मार्थकामेभ्यो नमः ।’ अर्थात्, धर्म र अर्थसँगै काम वन्दनाबाट यो ग्रन्थ सुरु गर्छु ।'
*****

खुसी, सुखी र सन्तुष्टि ! जीवनमा बग्ने तीन नदीको मुहान एउटै हो, तर कहाँ छ त्यो ?
धर्म, अर्थ, काम र मोक्ष ! वेदले चार पुरुषार्थ मानेको छ । सफल जीवनका चार प्रतिफल हुन् यी, तर प्राप्तिको बाटो के हो ? महर्षि वात्स्यायनले यी दुईवटा प्रश्नको एउटा उत्तर दिएका छन्– काम ! 

प्रश्न उठ्छ, काम के हो ? यौनोत्तेजना वा कामुकता ! हामीलाई पढाएको, बुझाएको र घोकाएको यही हो । झन् सरल र सस्तो अर्थमा बुझाइएको शब्द हो– रासलीला ! पढ्नु हुँदैन ! हेर्नु हुँदैन ! बौलाइन्छ !

कामसूत्रमा कामको अर्थ व्यापक छ । मानव जीवनका सम्पूर्ण इच्छा, चाहना, लालसा, कामना र वासनाको समष्टि स्वरूप हो– काम । जुन अन्तर्वासनाका रूपमा मानिसभित्र सधैँ निहित हुन्छ । जसले सृष्टिलाई नियमित गरेको छ ।

फरक यति हो, प्रत्येक पशु–प्राणीमा काम व्याप्त छ, तर मानव काममा व्याप्त छ । सृष्टिमा सर्वाधिक सत्ता केहीको छ भने कामको छ । भनिन्छ– ईश्वर सर्वव्यापी छ, तर ईश्वरभन्दा काम सर्वव्यापी छ ! सृष्टिमा काम नै नित्य र अविनाशी छ ।

वात्स्यायन भन्छन्– धर्मको ज्ञान श्रुतिबाट लिन सकिन्छ । अर्थको ज्ञान वैश्यालयबाट प्राप्त गर्न सकिन्छ । कामको ज्ञान पाँच चेतन श्रवण, स्पर्श, दृश्य, शोधन र घ्राणबाट गर्न सकिन्छ ।

फूलमा महक छ, तर फूल आफ्नो महकले आनन्दित छैन । फूललाई आफ्नो महकमा तृप्ति हुँदैन । फूलले अरूलाई तृप्ति दिन्छ । फूलको महकमा अर्को आनन्दित हुन्छ । मानिस पनि सृष्टिको एउटा फूल हो । एक्लै आनन्दित हुँदैन । एक्लै तृप्ति हुँदैन । यसैले मानिसलाई अर्काको जरुरत पर्छ । त्यो जरुरतबीच एउटा ठूलो शून्यता हुन्छ । कामले त्यही शून्यतालाई भर्छ, आवाद गरिदिन्छ । जीवनलाई फूल बनाइदिन्छ । 

वात्स्यायनको कामसूत्र कहिले लेखिएको हो ? यकिन छैन । एकथरी भन्छन्– इसापूर्व दुईदेखि तीन हो, जहाँ गुप्तकालको जिकिर गरिएको छ । अर्काथरीको भनाइमा मगधको राजधानी पाटलीपुत्र निवासी एक शिक्षक जोडिएका छन् । 

मोक्षका लागि मान्छे सबै भोकबाट मुक्त हुनुपर्छ । कामलाई धर्मको फल र मोक्षको बाटो ठानिएको छ । त्यसैले काम न अश्लील हो न अनैतिक हो न त कहिल्यै त्याज्य छ । काम शारीरिकभन्दा बढी आत्मिक हुन्छ । वास्तवमा कामको स्वभाव बालकको हृदयजस्तो सच्चा र  सफा हुन्छ ।

रहस्यमयी वात्स्यायन !
अर्थशास्त्री कौटिल्यजस्तै कामशास्त्री महर्षि वात्स्यायनका बारेमा अझै एउटा प्रश्न अनुत्तरित छ– को हुन् वात्स्यायन ? यो प्रश्नको उत्तर अझै रहस्यकै गर्भमा छ । अनुमान छ– श्री मल्ल नागवा मालिंगना हो उनको नाउँ । ‘कामसूत्रको सामाजिक एवं सांस्कृतिक अध्ययन’ पुस्तकमा भनिएको छ वात्स्यायनको गोत्र वत्स वा वात्स्य हो । तर, उनले शास्त्रमा आफूलाई वात्स्यायन भनेर चिनाए । 

वात्स्यायनको कामसूत्र कहिले लेखिएको हो ? यो पनि यकिन छैन । एकथरी भन्छन्– इसापूर्व दुईदेखि तीन हो । जहाँ गुप्तकालको जिकिर गरिएको छ । अर्काथरीको भनाइमा मगधको राजधानी पाटलीपुत्र निवासी (हाल भारत पटना) एक शिक्षक जोडिएका छन् । जसले मगध साम्राज्यको नन्द वंशका सम्राट्लाई सत्ताच्युत गराएर आफ्ना शिष्यलाई राजा बनाए । कसैले वत्स देशका निवासी भएको पनि बताएका छन् । 

केहीको अनुमान छ, वात्स्यायनका रूपमा शंका गरिएका ती तिनै शिक्षक हुन् जसलाई पण्डित चाणक्य भनेर चिनिन्छ । कौटिल्य पनि तिनै पण्डित हुन् । उनको समय इसापूर्वको ३७५ देखि २८५ अनुमान गरिएको छ । 

अन्य केही खोजकर्ताको भनाइमा इसाको दोस्रो वा तेस्रो शताब्दीतिर रचना भएको हो, कामसूत्र । यसका सूत्रकार चाणक्य होइन, अन्य कोेही हुन सक्ने बताउँछन् उनीहरू । 

तर, कामसूत्रका जनक भने महर्षि वात्स्यायन होइनन् । अर्थात् निर्माता होइन, विनिर्माता मात्र हुन् उनी ! अहिलेलाई यति बुझौँ, वात्स्यायनको एकल लेखन होइन कामसूत्र । उनले पुनर्लेखनसहित सूत्रबद्ध गरेका हुन् ।

विषय र वासनामा पशुपक्षी पनि एक निश्चित नियमभित्र बस्छन् । ऋतुको चक्रमा चल्छन् । पशुपक्षी अज्ञ भएका कारण काममा स्वतन्त्र छन्, तर अनुशासित छन् । मान्छलाई विज्ञ मानिन्छ । मानिस स्वतन्त्र छैन, तर अनुशासित पनि छैन । त्यसैले मानिसका लागि वात्स्यायनले कामलाई सूत्रबद्ध गर्दै नियमन गरेका हुन् । चलनचल्तीको भाषामा वात्स्यायनको कामसूत्र भनिएको हो । 

वात्स्यायन जो भए पनि आफू स्थिर भएर संसार कम्पन गराउने शक्तिशाली पुरुष हुन् । भनिन्छ– उनी स्वयं भने ब्रह्मचर्यमा थिए, अविवाहित थिए ।

भ्रमको कक्टेल कामसूत्र र कोकशास्त्र !

सायद धेरैलाई यो पनि एउटा भ्रम हुन सक्छ– कोकशास्त्र नै कामसूत्र हो, कामसूत्र नै कोकशास्त्र हो । हाम्रो बुझाइमा वात्स्यायनको कामसूत्रलाई कोकशास्त्र मानिएको पनि पाइन्छ । तर, यी दुई फरक ग्रन्थ हुन् । कामसूत्रको रचनाकाल गर्भमै छ, कसैलाई थाहा छैन । यसको रचनागर्भबारे विभिन्न मत भेटिन्छ । भनिन्छ, सृष्टिको प्रथम रचना नै कामसूत्र हो । वेदभन्दा पनि पहिले रचिएको ग्रन्थ हो, कामसूत्र । 

स्वयं सृष्टिकर्ता ब्रह्मा नै थिए कामसूत्रका प्रथम रचयिता । त्यसपछि शिवजीका द्वारपाल नन्दीले लेखे । यहाँ पनि दुई मत छ । एक मतले भन्छ– शिव–पार्वतीको कामोत्तोजक प्रेमसंवाद सुनेर नन्दी आफैँले कामसूत्र लेखे । अर्को मतले भन्छ, त्यही संवाद नन्दीले ब्रह्मालाई सुनाए । त्यसपछि ब्रह्माले लेखे । 

ब्रह्मा र नन्दीपछि क्रमशः श्वेतकेतु हुँदै मुनि ब्राभव्यसम्म कामसूत्र लेखिँदै, सम्पादित हुँदै आयो । पहिलो कामसूत्र एक लाख श्लोकको थियो । पुनर्लेखन र सम्पादनसँगै छोटिँदै आयो । 

मुनि ब्राभव्यपछि यसलाई महर्षि वात्स्यायनले पुनर्लेखनी गर्दै सूत्रबद्ध गरे जसलाई आज वात्स्यायनको कामसूत्र भनिन्छ । तर, वात्स्यायन कामसूत्रका निर्माता होइनन्, विनिर्माता मात्र हुन् । वात्स्यायनको कामसूत्रमा १२ सय ५० श्लोक छन् । 

रतिरहस्यको रहस्य– कोकशास्त्र !
पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी ! काम, कला र कर्मका दृष्टिले नारीलाई चार श्रेणीमा राखेर कुक्कोक ऋषिले एक ग्रन्थ लेखेका थिए । ग्रन्थमा ती नारीलाई गुण, रूप र स्वभावका रंगले छुट्याए । 

ऋषि कोक्कुकका अनुसार सर्वथा बुद्धि र सुन्दरताले भरिपूर्ण स्त्री पद्मिनी मानिन्छे । बुद्धिवैभवले चुलिएकी, तर अति शृंगारप्रेमी स्त्री चित्रिणी मानिन्छे । शंखाकृति नयन भएकी कामुक सुन्दरी स्त्री शंखिनी मानिन्छे । कामवासनाले मात्र भरिएकी, स्थूल शरीर भएकी भद्दा स्त्री हस्तिनी मानिन्छे । कोक्कुकको ग्रन्थले नारीका चार भेदमध्ये हस्तिनीलाई सबैभन्दा निकृष्ट भेद मानेको छ । 

त्यो ग्रन्थको नाउँ रतिरहस्य थियो । रतिरहस्यलाई तिनताका प्रेमपहेली पनि भनियो । कुक्कोकले राजा भेनुदत्तलाई दिन यो साहित्य रचेका थिए । पुस्तकको लेखकका रूपमा कोक्कुकको सट्टा उनले आफूलाई सिद्धपतिया पण्डित पनि बनाए । 

रतिरहस्य बिस्तारै संस्कृतबाट मूलतः हिन्दी र अन्य भाषामा अनूदित हुन थाल्यो । भाषानुवादसँगै लेखकको नाउँ कुक्कोक नलेखेर सबैले कोक मात्र लेखे । अन्ततः रतिरहस्य कोकशास्त्रमा रूपान्तरित भयो । कामसूत्रजति कोकशास्त्र व्यापक, व्यावहारिक, अर्थपूर्ण, कला र शृंगारयुक्त मानिँदैन । तैपनि कोक्कुकको सबैभन्दा उत्काममुखी ग्रन्थ हो, कोकशास्त्र ।

कामदर्शनको सूत्र कामसूत्रको !
जे सोचिएको छ, त्योभन्दा धेरै बढी जे सोचिएको छैन, त्यही हो कामसूत्र ! जे भ्रम छ, त्यो भ्रमको विपरीत सबैभन्दा बढी जे हुन्छ, त्यही हो– कामसूत्र ! वात्स्यायनको पहिलो वाक्य हो–  ‘धर्मार्थकामेभ्यो नमः ।’ अर्थात्, धर्म र अर्थसँगै काम वन्दनाबाट यो ग्रन्थ सुरु गर्छु ।

धर्म, अर्थ, काम र मोक्षलाई चार पुरुषार्थ भनिएको छ, तर यहाँ पुरुषार्थ शब्दको अविवेकी प्रयोग हुन सक्छ । किनभने पुरुषार्थको वृत्तमा नारित्वको उपस्थिति निषेधित हुन सक्छ । त्यसैले पुरुषार्थ होइन, यी जीवनका चार चरण हुन् । चार कर्म हुन् । चार प्रतिफल हुन् । जुन नारी र पुरुष दुवैका साझा क्रिया हुन् । यही कुरालाई विस्तृत रूपमा वात्स्यायनले कामसूत्रमा दर्साएका छन् ।

स्वयं सृष्टिकर्ता ब्रह्मा नै थिए कामसूत्रका प्रथम रचयिता । त्यसपछि शिवजीका द्वारपाल नन्दीले लेखे । यहाँ पनि दुई मत छ । एक मतले भन्छ– शिव–पार्वतीको कामोत्तेजक प्रेमसंवाद सुनेर नन्दी आफैँले कामसूत्र लेखे । अर्को मतले भन्छ, त्यही संवाद नन्दीले ब्रह्मालाई सुनाए । त्यसपछि ब्रह्माले लेखे ।

धर्मसँग अर्थ, अर्थसँग काम र कामसँग मोक्ष जोडिएर जाने हुँदा जसरी धर्म र अर्थका लागि शास्त्रको आवश्यकता पर्छ त्यसैगरी कामका लागि पनि शास्त्रको आवश्यकता परेर कामसूत्रको रचना गरिएको कुरा वात्स्यायनले लेखेका छन् ।

वात्स्यायनको शास्त्र अध्ययनपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यो हो, उनका भाषामा धर्म, अर्थ र काम लौकिक पुरुषार्थ हुन् भने कामको तृप्तिपछि प्राप्त हुने मोक्ष पारलौकिक पुरुषार्थ हो । 

काम अर्थात् भोक अनेक हुन्छन् । भोको मान्छेले भक्ति गर्न सक्दैन । भोजनले तृप्ति दिन्छ । तृप्त मान्छेको मन भक्तिमा लाग्छ । मोक्ष भनेको त्यही भक्ति हो । काम भनेको त्यही भोक हो । 

भोक अर्थात् कामलाई आचार्य ओशोले ऊर्जा भनेका छन् । भक्तिलाई समाधि भनेका हुन् । त्यही ऊर्जालाई उनले समाधिको गन्तव्यमुखी बाटो मान्दै सम्भोगका रूपमा व्याख्या गरेका छन् । ओशोको समाधिको अर्थ मृत्यु होइन, जीवनतिर उन्मुख छ । एउटा अविचलित र शान्त जीवनतिर । स्थिर मनले बाँचेको हलुका जीवनतिर । 

जब मन शान्त र स्थिर हुन्छ आयुले लामो बाटो रोज्छ । त्यो हो– दीर्घायुको बाटो, त्यही हो– समाधि । बुद्धले यसैलाई महाआनन्द तथा शून्यता भनेका छन् ।

यदि त्यहाँ आनन्द विद्यमान हुन्नथ्यो भने पुरुषलाई स्त्री र स्त्रीलाई पुरुषको आवश्यकता हुने थिएन । यो धर्तीमा भोग्य वस्तु केही हुन्नथ्यो भने मानिसलाई भोक पनि लाग्ने थिएन । भोकविनाको मानिस भोजन र भोगको आनन्दबाट वञ्चित हुने थियो । 
यो ग्रन्थले तैत्तिरीय उपनिषद्को व्याख्यालाई उद्धृत गर्दै भनेको छ– आनन्दबाट नै जीवको उत्पत्ति हुन्छ । आनन्दमा नै लीन हुन्छन्, सबै । सबै कुरा आनन्द नै हो । आनन्दको एक मात्र अन्तर्भूतीय रहस्य हो– काम । 

कामको सम्बन्ध कर्म र क्रियासँग छ । मन र बुद्धिसँग छ । स्पर्श र चेतनासँग छ । भाव र योगसँग छ । यी सबैको सम्बन्ध मोक्षसँग जोडिएको छ । परित्राण शक्ति, जुन शक्तिलाई पारमार्थिक मानिन्छ, त्यो आनन्दबाट प्राप्त हुन्छ, तर कामविना आनन्द प्राप्ति हुँदैन । 

वात्स्यायनको यो गहनतम तर्कसँग तपस्वी बुद्ध पनि सहमत छन् । भारतको महाराष्ट्र स्थित अजन्ता र एलोरा बुद्धगुफामा कुँदिएका युवतीका आदिम आकृतिले यसको पुष्टि गर्दछ । परस्त्रीगमनलाई मात्र बुद्धले अनैतिक मानेका छन्, भोक र आनन्दलाई होइन । 

कामसूत्रलाई कामवासना भड्काउने शास्त्र होइन, बरु कामको क्रोधलाई शोध गर्ने विधिग्रन्थ मानिएको छ । प्रेमसूक्ति वा प्रेमसूत्रका रूपमा पनि व्याख्या गरिएको यो ग्रन्थमा काम–कर्मलाई नीतिबद्ध गरिएको छ । कैवल्यप्राप्तिको सहायक बन्ने गुप्तज्ञान मानिएको छ । धर्ममुताबिक स्त्री–पुरुषलाई काम र कलाका माध्यमबाट समाहित गराउने महासागर ठानिएको छ ।  

कामसूत्र प्राचीन पूर्वको असाधारण ग्रन्थ मानिन्छ । जसमा यौनविज्ञानसँगै तीनतिहाइ भाग प्रेम र जीवनदर्शन छ । अतः कामसूत्र यौनशास्त्र मात्र होइन, यौनज्ञान हो । ‘सेक्स क्लाइमेक्स’ होइन ‘आर्ट अफ लिभिङ’ हो । ‘सेक्स मेनुअल’ होइन ‘अफोरिजम अफ लभ’ हो । संसर्गसुख विद्या हो । कामसूत्रले कामलाई कामनाको प्राकृत रूप मानेको छ ।


नयाँ पत्रिका, २०७५ चैत ३० शनिबार 

Comments