त्यो क्षण !

त्यो क्षण,
तिम्रा हेराइले
मेरो बाटो छेकिरहेका थिए
तिम्रा बोलाइले
मलाइ रोक्न खोजिरहेका थिए
तर मेरा वाध्यताले
मलाइ लगातार धकेलिरहेका थिए ।

त्यो क्षण,
तिम्रा ती कोमल स्पर्शले
मलाइ निरन्तर तानिरहेका थिए
मायाका ती वन्धनले
मलाइ भित्रभित्रै कतै बाँधिरकेका थिए
तर मेरा अप्ठ्याराले
मलाइ तिमीबाट अलग्याइरहेका थिए ।

त्यो क्षण,
तिम्रा स्पन्दनले
मेरो ढुकढुकी बढाइरहेका थिए
तिम्रा ती अव्यक्त पीडाले
मलाइ अभ्यन्तरमा स्तब्ध बनाइरहेका थिए
तर मेरा विवशताले
मलाइ बारम्बार लखेटिरहेका थिए । 

त्यो क्षण,
तिम्रो मुहारका ती मलिन भावले
मलाइ कताकता सताइरहेका थिए
रसाएका तिम्रा ती आँखाका पानीले
मलाई भित्रभित्रै भिजाइरहेका थिए
तर तिम्रा ती बलिया हौसलाले
मलाइ जीवन–सङ्घर्सको पथमा घचेडिरहेका थिए ।

त्यो क्षण,
तिमीले दुःख लुकाएर सुख देखाएको
पीडा लुकाएर हाँसो मुस्कुराएको
तिम्रा ती सचेत भाव
मैले सबै बुझिरहेको थिएँ
तर विदाइको त्यो क्षणमा
म पनि तिमीजस्तै अबुझ भै दिएँ ।

प्रिय,
वर्षाैं अघिको दुःखद त्यो क्षण
वर्षाैं पछिको यो सुखद क्षण
सम्झदा सधैं प्यारो लाग्छ,
त्यो क्षण !

(चौवीस वर्षअघि मातृभूमि छोड्नु पर्दाको त्यो क्षण !)


Comments