मानवता– संसारको सबैभन्दा सुन्दर सिर्जना
"झुसिल्किराको गुँड हो पृथ्वी । त्यही गुँडका अस्थायी बासिन्दा हौँ हामी । पृथ्वीका सबै झुसिल्किरा पुतली बन्न सक्दैनन् । झुसिल्किरोजस्तै गुँडुल्किएर बाँच्नु र मर्नु मान्छेको स्वविवेकीय इच्छा हो । "
*****
बुद्धिको आनन्द भनेकै रचनात्मकता हो । मानव भावनाको सबैभन्दा गहिरो चाहना हो, सिर्जना ।
सबै सिर्जनाको आकार हुँदैन । आयतन हुँदैन तर सन्देश हुन्छ । सन्देशले युग बोकेको हुन्छ । युग हाँकेको हुन्छ ।
आत्मिक अनुभूतिका रङहरूले पोतिएको सिङ्गो आकाश हुन्छ सिर्जनामा । सिर्जना मस्तिष्कले हैन, भावनाले जन्माउँछ । मानव भावना रित्तियो भने सिर्जनाविहीन हुन्छ संसार । दिक्दारलाग्दो, उराठलाग्दो र रित्तो !
समयको हरेक समय समाप्त भइरहेको छ । हरेक समयको समाप्तिसँगै समयले एउटा समय जन्माइरहेको छ । जन्म र मृत्युको उपक्रम हो समय । समयले सिर्जना खोजिरहेको हुन्छ । समयका हरेक क्षण सिर्जनात्मकताको पर्खाइमा हुन्छन् ।
निरन्तर छ समयको पटाक्षेप । एउटा दृश्यको मृत्युपछि अर्को दृश्य जन्मिन्छ । त्यो दृश्य सधैँ दृश्य हुँदैन । अदृश्य पनि दृश्य हुन्छ ।
सिर्जनालाई हामी दृश्यमा मात्र खोजिरहेका छौँ । दृश्यमा मात्र देखिरहेका छौँ । सर्वथा साहित्यमा मात्र भेटिरहेका छौँ । सिर्जना दृश्य मात्र हुँदैनन् । अदृश्य दृश्य पनि सिर्जना हुन् । ‘बिगव्याङ’ जस्तै अपत्यारिला अदृश्य सिर्जना–परमस्रोतबाट उत्पन्न हुने सर्वथा सार्वभौम सिर्जना । असम्भवलाई पूरा गर्ने एक अद्भुत वास्तविक अदृश्य सिर्जना ।
जीवनको ल्याण्डस्केपमा अनेक दृश्य हिँडिरेका हुन्छन् । हरेक दृश्य सिर्जना हुन् । जीवनले सधैँ यथार्थको पाइला टेक्न सक्दैन ।
जीवन दृश्य पनि हो । जीवन अदृश्य पनि हो । मान्छे देखिन्छ, मान्छेभित्रको मान्छे देखिँदैन । बाहिर म स्वयम् हुन्छु । भित्र अर्कै ‘म’ । सबै ‘म’भित्र अनेक ‘म’। मभित्र जीवित ‘म’ ! मभित्र मृत ‘म’ ! सबैभन्दा धेरै मबिनाको ‘म’ !
जीवन, नाटकको जिउँदो चरित्र र पात्र दुवै बन्छ । यद्यपि सबै नाटक सधैँ नाटक हुँदैनन् । तथापि नाटक सधैँ सिर्जना हो । कहिलेकाहीँ वास्तविकताको भारी पनि बन्छन्, नाटक । आफ्नै जीवनको भारीजस्तै बोकी नसक्नुको भारी । मान्छेले खेल्नैपर्छ आफ्नै जीवनको नाटक– पात्र बनेर । मान्छेले बोक्नैपर्छ आफ्नै जीवनको भारी– भरिया बनेर ।
जीवनले जब जीवनको भारी थाम्नै नसक्ने हुन्छ त्यहाँ एउटा सिर्जनाको प्वाँख पलाउँदै गरेको हुन्छ । जीवन त्यही कीरो हो, जो झुसिल्किरोबाट पुतली बन्दै हुन्छ । रुपान्तरण प्रकृतिको एक नाटक हो । झुसिल्किरो प्रकृतिको पात्र मात्र हो । उस्तै छ प्रकृतिको यो नाटक र जीवनको यथार्थ ।
कहिलेकाहीँ नाटकजस्तै लाग्छ जीवन । अनि कहिलेकाहीँ जीवनजस्तै लाग्छ नाटक । सतही अस्तित्वमा रमाएको नौटंकी जीवन ।
झुसिल्किराको गुँड हो पृथ्वी । त्यही गुँडका अस्थायी बासिन्दा हौँ हामी । पृथ्वीका सबै झुसिल्किरा पुतली बन्न सक्दैनन् । झुसिल्किरोजस्तै गुँडुल्किएर बाँच्नु र मर्नु मान्छेको स्वविवेकीय इच्छा हो ।
झुसिल्किरो प्रकृतिको उत्पत्ति हो । पुतली प्रकृतिको सिर्जना । पुतली रहरले बन्दैन, प्रकृतिको रहस्यले बन्छ ।
चिरस्थायी के छ सांसारिक संसारमा ? चिदाकाशमा होला । सांसारिक वासना मान्छेको आधारभूत आवश्यकता हो । यो पनि एक सनातन दृश्य हो तर अदृश्य छ । यही सनातन अदृश्य दृश्यमा लुकेर मान्छेले मान्छेको निर्माण गर्छ । उत्पादन गर्छ । मान्छे जन्मन्छ । बाँच्छ । मर्छ ।
"सिर्जना स्वयम्को आविष्कार हो । सिर्जना स्वयम्को उद्भव हो । सिर्जना मान्छेको व्यक्तित्व पनि हो । सिर्जना मान्छेको विशालता पनि हो । सिर्जना मान्छेको सोच पनि हो । सिर्जना मान्छेको चेत पनि हो । सिर्जना मान्छेको बोली पनि हो । सिर्जना मान्छेको आचरण पनि हो ।"
मान्छेले मान्छेको सिर्जना गर्न सकेको छैन । सिर्जना आफैँले धारण गर्ने आफ्नै गर्भ हो । रहरले रहस्य छुनुपर्छ । सिर्जनाको जन्म हुन्छ । मान्छे स्वयम् एक सिर्जना हुन्छ ।
रहस्यको दृश्य हो सिर्जना– संसारको एक सुन्दर दृश्य । आकारमा छ । निराकारमा छ ।
दर्शनशास्त्री त हुँदै हैन । ज्ञाता केहीमा पनि छैन । आफ्नै सामान्य ज्ञानले चिथोरेको हो । आफ्नै दर्शनले देखाएको हो । अज्ञानतालाई पनि ज्ञान ठान्नु मेरो वैयक्तिक स्वतन्त्रता हो । स्वतन्त्र हुने स्वतन्त्रता विद्वान्हरूलाई मात्र छैन । मूर्खहरूलाई हुनुपर्छ । के म मूर्ख हुन सक्दिनँ ? के मूर्ख हुने मेरो अधिकार छैन ?
पैतृक मसँग केही छैन । अज्ञानता र मूर्खता पनि स्वआर्जन हुन् । अज्ञानता पनि बौद्धिक सम्पत्ति हो । मूर्खता पनि बौद्धिक सम्पत्ति हो ! उपदेश हैन, यो सबै अनुभूति हुँडलेको मनको उथलपुथल हो ।
सिर्जनालाई हामीले साहित्यिक मस्तिष्कले मात्र किन बुझ्दैछौँ ? किन साहित्यिक आँखाले मात्र हेरेका छौँ ? किन साहित्यिक मनले मात्र पढेका छौँ ? अर्थको आयतन किन साँघुरो भयो ?
सिर्जना स्वयम्को आविष्कार हो । सिर्जना स्वयम्को उद्भव हो । सिर्जना मान्छेको व्यक्तित्व पनि हो । सिर्जना मान्छेको विशालता पनि हो । सिर्जना मान्छेको सोच पनि हो । सिर्जना मान्छेको चेत पनि हो । सिर्जना मान्छेको बोली पनि हो । सिर्जना मान्छेको आचरण पनि हो ।
यो संसारको सबैभन्दा सुन्दर सिर्जना हो– मानवता । मान्छेभित्र बाँचेको एक महान् सिर्जना– मानवता । त्यही मानवता बाँडिएको छ । शासित छ मानवता । शासित मानवतालाई शासक मानवताले कुल्चिएको छ । बौद्धिक मोर्चाको सधैँ मृत्यु हुँदैछ । भोज खाँदैछ शासक मानवता । सिर्जनाविहीन सत्ताको मानवता ।
प्रत्यक्ष छ । अप्रत्यक्षलाई प्रमाण चाहिँदैन । आफ्नै दर्पण पनि हो समय आफैँ । झन् प्रत्यक्ष छ यो अदृश्य दृश्य । यो दर्पणमा सबैका अनुहार कुँदिएका हुन्छन् । आफूलाई देखिँदैन, अरुलाई देखिन्छ ।
मान्छे आफैँभित्र हराएको छ, अरुलाई खोज्दै हिँड्छ ।
मान्छेभित्रका कति मान्छे झुसिल्किराबाट पुतली बनेका छन् ? सबै झुसिल्किरा पुतली बन्न सक्दैनन् । मान्छेजस्तै सबै मान्छे बन्न सक्दैनन् । देखिने मान्छे र भोगिनेमा कति फरक छ ? देखेर हैन, भोगेर चिनिन्छ मान्छे । सुन्दरताबिनाको सिर्जना आत्माबिनाको शरीर हो– उस्तै भोगेका धेरै मान्छेजस्तै ।
जीवन फूल कि काँडा ? झमक घिमिरे सोध्छिन् । जीवनमा फूल फुलेन भने त्यो जीवन सधैँ काँडा हुन्छ । काँडा नै साथी हुन्छन् । काँडा नै जीवनसाथी हुन्छन् । यथार्थमा भन्नुपर्दा जीवनमा फूल फुल्दैन, फुलाउनुपर्छ । फूल रचना हो । फूल सिर्जना हो ।
बिरुवामा सिर्जनशीलता छ र त फूल फुल्छ । बिरुवामा रचनात्मकता छ, र त कोपिला लाग्छ, भित्रभित्रै गाँजिन्छ । अनि फक्रक्क फक्रिन्छ । सिर्जनाका अदृश्य दृश्य हुन् यी ।
मान्छेभन्दा मरुभूमिको क्याक्टस सिर्जनशील छ । मान्छेको घरको सुन्दरताको प्रतीक बनेको छ, क्याक्टस । मान्छेकै लागि मान्छे घृणाको पिरामिड बनेको छ ।
सिर्जनाले विषय–वस्तुमा अर्थ खोज्छ । अर्थ निर्माण गर्छ । म विषय पनि हुँ । म वस्तु पनि हुँ । म आफ्नै अर्थ खोज्ने प्रयास गर्दै छु । प्रयास, प्रयास र प्रयास नै प्रयासको परिणति हो । प्रयास, प्रयास र प्रयासले नै प्रयासको अर्थ निकाल्छ । त्यो अर्थ सिर्जना हो ।
विषय र वस्तुलाई अस्तित्वमा ल्याउनु एक दिव्य कृतिको सिर्जना गर्नु हो ।
कृति लिखित मात्र हुँदैन । कृति अलिखित पनि हुन्छ । कृति दृश्य मात्र हुँदैन । कृति अदृश्य पनि हुन्छ– सिजर्नाका अदृश्य दृश्यजस्तै ।
Comments
Post a Comment
धन्यवाद यहाँलाई ।