उवरमेञ्च !


"मान्छे आफैंलाई सबैभन्दा सुन्दर ठान्छ– सुन्दरताको सामूहिक मृत्यु हुँदैछ ! संसार विभत्स बन्दैछ । विभत्स संसार देखेर ईश्वर आँखा चिम्लिरहेको छ । मान्छे त्यही संसार हेरेर रमाइरहेको छ ।"

ईश्वरले तिमीलाई के दिए ? 
आधा मान्छे सुखद् दुःखमा डुबेको छ । आधा मान्छे दुःखद् सुखमा । ईश्वर हेरिरहेको छ । मान्छेलाई आगो समेत नदिने । ग्रिसेली राजकुमार प्रमिथसलाई चोर्न सिकाउने उनै ईश्वर !
ईश्वरका आँखा छलेर आगो चोर्न सक्ने राजकुमारजस्ता ठूलामान्छे अहिले आँखैअगाडि सबैथोक लुट्न सक्ने भएका छन्– आफ्नै इज्जत समेत ! ईश्वर हेरिरहेको छ । सानामान्छे–ईश्वर एक भए ?
तिनै ईश्वरले अहिले आफ्नो एउटा आँखो मलाई दिए ! ईश्वरको कठोर कृपा–अकण्टक आँखा ! म ईश्वरको त्यही आँखाले यो संसार हेर्ने थालेको छु ।
ईश्वरका आँखाले हेरे यो संसारमा स्वान्त–सुखायभन्दा अरु केही देखिँदैन । आफ्ना आँखाले हेरे कटहरका काँडाजस्ता कटुसत्यका काँढाले जीवन ढाकिएको देखिन्छ । अरुका छल्नु तर आफ्नै आँखा कसरी छल्नु ? बरु ईश्वरसँग आँखा माग्नु ।
मैले ईश्वरसँग आँखा किन मागेँ ? उत्तरपछिको प्रश्न हो, यो ।
आदरणीय शङ्कर लामिछाने, जीवन प्याजजस्तो सुन्दर र पिरोमात्र छैन, कटहरजस्तो कुरुप र मीठो पनि छ ।
हेर्नु र देख्नु एकै हो ? हो, भने मान्छेका आँखा र नित्सेका आँखा किन फरक भए ? ईश्वरले नदेखेको मान्छेको दुःख, मान्छेमै बुद्धले कसरी देखे ? ओशो किन सधैं ‘यु आर सफरिङ्, वी योरसेल्फ’ भनिरहेका छन् ? जे कृष्णमूर्तिले मानिसलाई सत्यसँग सधैं सीधा साक्षात्कार गराउने प्रयत्न किन गरे ? सद्गुरूले किन यो धरतीमा ध्यान लिङ्ग उठाएर मान्छेको ध्यानको धुकधुकी बचाउन खोजे ? मानवीय इन्जिनियरिङको जिर्णोद्धार गर्न उनै किन कस्सिए ? मानिसका लागि जिउने कला खोज्दै किन हिँडेका छन् रवि शङ्कर ? उनै हाम्रा शङ्कर लामिछानेले मान्छेलाई प्याजमा किन पोस्टिङ गरे ?
जीवनको मीठास पाउन कुरुप कटहरजस्तै भित्रभित्रै पाक्नु पर्छ– काँढा ओइलिँदै जान्छन्, फतक्क गल्छन्, खस्छन् । उज्यालो छर्न बल्नु पर्छ– उज्यालो नछरे के बत्ती ? उज्यालो नै बत्तीको जीवन हो । सबैलाई उज्यालो दिन्छ । बत्तीले कसैलाई चिन्दैन– छुवाछुत गर्दैन । के ईश्वरका आँखा र बत्ती एक भए ? मान्छेका आँखा र बत्ती किन एक भएनन् ? किन फरक भए– मान्छे–मान्छेजस्तै ?
उज्यालोको जन्म अँध्यारोबाटै हुन्छ । जीवनको उज्यालो जीवनैको अँध्यारो कोखबाट जन्मिन्छ । अँध्यारो नै उज्यालोको जैविक जननी हो ।
हरेक जीवनले अँध्यारोको पाठेघरमा उज्यालोको गर्भ बोकेको हुन्छ¬– जन्म सहज छैन, मृत्यु जस्तो ! विद्रोह हो, जन्म । विश्रान्ति हो– अनन्त जीवनको अन्त्य हैन, मृत्यु । मृत्युभन्दा माथि छन् जीवनपछिका अनन्त जीवनहरू¬– नित्सेहरुजस्तै ! जो मर्दैनन् ।
मानिस बत्ती बनोस् । आफू बलेर पहिले आफैंलाई खोजोस् । आफैंलाई देखोस् । आफैंलाई भेटोस् । आफैंलाई चिनोस् । आफैंलाई नचिने संसार चिन्दैन– अरुलाई बाटो देखाओस् ।
प्रिय नित्से, उवरमेञ्चका आकाशजस्ता आकाङ्क्षा मानिसभित्र किन अटाएनन् ?
भीमकाय किनारासँग ठोक्किँदैछ, चट्टानसँग चक्रवात् पौंठे जोरी खेल्दैछ, नदी बग्दैछ– नदी बग्छ त्यसैले त जीवन छ ।
फूल आफैं फुल्छ । फूलको जीवन फुल्नु हो । जीवन फुल्नुपर्छ–फूलजस्तै ।जीनव पाक्नुपर्छ– कटहरजस्तै । जीवन बल्नुपर्छ– बत्तीजस्तै । जीवन पिरो हुनुपर्छ– प्याजजस्तै ! जीवन ठोक्किनु पर्छ तर रोकिनु हुँदैन । बग्नुपर्छ– नदीजस्तै । जीवनभित्र जीवन बाँच्नु पर्छ– तै पनि जीवन त बाँच्छ तर जीवनबिनाको जीवन !
उवरमेञ्चले मान्छेको जीवनभित्र जीवन किन खोज्यो ? मान्छेकै लागि खोज्यो तर बुझेनन् । नित्से, जीवनप्रतिको तिम्रो आफ्नै जीवनदर्शनले उवरमेञ्च जन्म्यो– जराथुस्त्रहरुले जीवन बुझुन् भनेर ।
आफ्ना आँखाका चाल्नीमा जीवन नकेलाएको भए ! मलाई मन पर्ने शान्तिकामी बुद्धको झन् मन पर्ने उग्रगामी सह–संस्करण हुने थिएनौ, तिमी । तिम्रो उदात्त दर्शनको भोकमा मानिस भौंतारिने थिएन, नित्से !
निश्चेतनाको मुस्लोमा जीवनको उज्यालो छिर्न सक्दैन–अँध्यारोका उपाशकहरुलाई उज्यालोले छुँदैन । आफ्नै जीवन आफैंमा एक महान् दर्शन हो¬ । उवरमेञ्चहरु ईश्वरका अनुवाद हैनन्¬– जीवनका उज्याला हुन् । निशस्त्र नित्सेहरुका उद्दण्ड उद्घोषका अक्षय अग्निशिखा हुन् । जीवनका जाज्वल्य जीवनदर्शन हुन् ।
मानिस बाँच्न चाहन्छन् । एउटा युद्ध सधैं चलिरहोस् । मानिसमा बाँच्ने आशा सधैं बाँचिरहोस् । चेतनाका शस्त्र र चिन्तनका अस्त्रको त्यो एउटा उज्यालो युद्ध– ‘अ गुड वार’को शङ्खनाद फेरि कहिले हुन्छ ? नित्से तिमीले नै फुक्यौ त्यो युद्धको त्यो शङ्ख ! के त्यो युद्ध र बुद्ध एक थियो ?
मान्छे आफैंलाई सबैभन्दा सुन्दर ठान्छ– सुन्दरताको सामूहिक मृत्यु हुँदैछ ! संसार विभत्स बन्दैछ । यो विभत्स संसार देखेर ईश्वर आँखा चिम्लिरहेको छ । मान्छे त्यही संसार हेरेर रमाइरहेको छ । ईश्वर आँखा खोल्न डराइरहेको छ । मान्छे आँखा चिम्लिन डराइरहेको छ ।
मान्छे, तिमी एउटा संसार हौ । म एउटा संसार हुँ । अहम् ब्रह्मास्मि– यजुर्वेद बोलिरहेको छ । हामी दुवै एउटा संसार हौं । हामी सबै एउटा संसार हौं । हामी कस्ता भयौं ? ईश्वर त्रसित बनाउने हामी ? सुन्दरताको सबैभन्दा कुरुप बिम्ब बनेका हामी ! जन्तु–जगत् सबै उस्तै छ, हामी किन फरक भयौं– झन् फरक, झन् कुरुप ! मान्छेसँग मान्छेमात्र हैन ईश्वर पनि किन डराउन थालेको छ ?
ब्वाँसो जन्मिन्छ, ब्वाँसो नै भएर मर्छ तर मान्छे, मान्छे जन्मिए पनि त्यो मान्छे किन मान्छे भएर मर्न पाउँदैन ? ब्वाँसो जीवनभर ब्वाँसो नै भएर बाँच्छ तर मान्छे किन मान्छे भएर बाँच्न चाहँदैन ? ब्वाँसो किन मान्छे बन्न चाहँदैन तर मान्छे किन ब्वाँसो बन्न चाहन्छ ? के मान्छेले मान्छे हुँ भनेर आफूलाई चिन्न छाडेको हो ?
मान्छे, मान्छे बनोस् । मान्छे, मान्छे बाँचोस् । मान्छे, मान्छे मरोस् । हुनु र देखिनुमा मान्छेले फरक छुट्याओस् ।
मान्छेलाई देखिन हतार छ– देखिन चाहन्छ । हुन कहिल्यै हतार भएन– हुन कहिल्यै चाहेन । सबै उस्तै– देखिन चाहन्छौं, हुन चाहँदैनौं । मान्छे भएर पनि हामी किन मान्छे हुन सकेनौं ? प्रश्न उही छ– के हामीजस्ता देखिने मान्छेभित्र एउटा मान्छे बाँचेको छ– पूर्णमान्छे ?
मान्छे पतन हुँदैछ– आफैंभित्र आफैं । मान्छे पतन हुँदैछ– आफैंसँग आफैं । मान्छे पतन हुँदैछ– आफैंबाट आफैं । मान्छे पतन हुँदैछ– आफ्नै लागि आफैं ।
आफ्नै पतनमा आधा खुसी छ– मान्छे । आफ्नै पतनमा आधा दुःखी छ– मान्छे । मान्छे, आफ्नै पतनमा न पूर्ण दुःखी छ, न पूर्ण खुसी छ ! सधैं अपूर्ण छ– आधा मान्छे !
हेर्नु र देख्नु यही फरक छ । हेर्न सक्छ तर देख्दैन । मेरा आँखाले मलाई सधैं हेरे तर कहिल्यै देखिन । जब देखेँ, आफैंलाई हेर्न सकिनँ– एउटा आधा मान्छे ! ईश्वरसँग आँखा मागेँ ।
नित्से, मलाई मेरो आँखाप्रति विश्वास भएन तर मेरा आँखाको अविश्वासप्रति मलाई अटल विश्वास भयो । त्यही अटल विश्वासले ईश्वर पुकारे ।
बुद्धले ईश्वरका बारेमा किन प्रश्न गरे ? तिम्रो ‘द गे साइन्स’ले ईश्वरको अप्रेसन किन ग¥यो ? अन्ततः त्यही ईश्वरको मृत्युको घोषणा तिमीले किन गर्‍यौ ? उत्तरापेक्षी मेरो प्रश्नले बुद्धि–विलासको विपश्यना गर्लान् तर बुद्धि–विस्खलनको बाढीमा मान्छे बगिरहेको छ । बुद्धिको असामयिक निधनमा खुसी छ–मान्छे । समय आउला तर समयको फगत विपर्याय हुनेछ– बुद्धि–विलास पनि !
मान्छे हिँड्ने बाटोमा आज केही छ भने सबैभन्दा बढी फोहरको रास छ । सडक फोहरको भएको छ– मान्छेको हैन । साम्राज्य फोहरको भएको– जनपदको हैन । मान्छे पतन भएपछि फोहर बन्छ । फोहरले शासन गर्छ । मान्छे फोहर उठाउँदैन, नाक थुन्छ, आँखा चिम्लन्छ, तर्कन्छ, हिँड्छ– फोहरको शासनलाई स्वस्ति गर्छ ।
शासकको बिम्ब फोहर बनेको छ । फोहरको विशेषण शासक बनेको छ । मेरो एउटा देश छ– जहाँ सबैथोक छ । सबैथोकमा फोहरकै शासन छ ।
वर्तमानका लागि भविष्यको हत्या गरेँ– साहसी ठानेँ, डराइनँ । बरु वर्तमानको हत्या गरेर भविष्य बचाउने साहस कहिल्यै आएन । आज मसँग न वर्तमान छ, न भविष्य ! मसँग भूतहरुको पीडा भूतको रास मात्र छ– फोहरको रासजस्तै । भविष्य मेरा सन्तानको घर हो– मेरो निर्मम साहसले त्यो घर भताभुङ्ग बनायो । मेरो पतनको दोषी आफूलाई देख्दिनँ ।
नित्से, तिमीले त्यही देख्यौ– मान्छेको पतन रोक्न मान्छेभित्रै उवरमेञ्च उमार्‍यौ । जसले मान्छेलाई मान्छे ‘नहुन’बाट बचाओस् । तर जराथुस्त्रले आफूलाई मान्छेभन्दा माथि माने– वर्तमानजस्तै ! मान्छेलाई मान्छेभन्दा सानो ठाने– वर्तमानजस्तै ! मान्छे ‘नहुन’बाट मान्छे बच्न चाहेनन्– वर्तमानजस्तै ! मान्छे ‘हुन’बाट मान्छे सधैं बचिरहे– वर्तमानजस्तै !
भावनामा मात्र बगेर जीवनको अराजकता महसुस हँुदैन । बुद्धले जस्तै अनुभवका कठोर शृङ्खला, नित्से र नित्सेले जस्तै ओशोले पनि पार गरे । अराजकता समयको आवश्यकता हो । आवश्यकताले अराजकता जन्माउँछ । अराजकताले आवश्यकता पुरा गर्छ¬ । प्रण गरुन् मान्छेले– अब फोहरको शासनलाई स्वस्ति नगरुन्, अस्वीकार गरुन् ।
फोहर बोक्दाबोक्दा निष्प्राण बनेको त्यो मेरो एउटा देशको सडकजस्तै यो समयलाई म अस्वीकार गर्छु । समयले बोक्दै आएको पीडकप्रथा र स्वविवेकहीन स्वीकार्यतालाई पनि अस्वीकार गर्छु । अराजक बनाउँछु । बाध्य होस् समय– उवरमेञ्च फेरि जन्माउन ।
चेतन उपासनाको उपज– नित्से । मानवताप्रतिका पवित्र प्रेमपत्र हुन्– तिम्रा निर्बन्ध चिन्तन ! मानवताको पवित्रप्रेमी हो–तिम्रो उवरमेञ्च !
त्यो मेरो प्रेमी हो । मान्छे जन्मिएर, मान्छे बाँचेर र मान्छे मर्न चाहन्छौ भने त्यो तिम्रो प्रेमी हो । जन्माऊ आफूभित्र एउटा प्रेमी– एउटा उवरमेञ्च । समाप्त गर फोहरको शासन ।
भौतिक विज्ञानले ‘आर्टिफिसियल इन्टेलिजेसन्स’ बनायो । नित्से, मैले आध्यात्मिक इन्टेलिजेन्स बनाएँ– तिम्रो उवरमेञ्चलाई । एक आध्यात्मिक इन्टेलिजेन्स– उवरमेञ्च !
मानव कल्याणका लागि उत्सर्जित एक पूर्णमानव– उवरमेञ्च ! एक उच्चमानव– उवरमेञ्च ! मान्छे जीवनभर मान्छे बाँचोस्–उवरमेञ्चको अरूप अस्तित्व तिमी स्वयम्भित्र कुँदेका छन्, नित्सेले । 

बाह्रखरी  
शनिबार, चैत ८, २०७६  उवरमेञ्च


Comments